यशोधरा गाउँपालिकामा एक हजार भन्दा बढीको निःशुल्क आँखा उपचार


पालिका पत्र

८ भाद्र २०८०, शुक्रबार १९:३५ मा प्रकाशित

कपिलवस्तु, भदौ ०८ ।
कपिलवस्तुको यशोधरा गाउँपालिकाभर चालू आर्थिक वर्षको साउन महिनामा १ हजार ३ सय ३० जना बिरामीको आँखाको निःशुल्क उपचार गरिएको छ । आँखा पाक्ने समस्या बढे सगै गाउँपालिकाले निःशुल्क आँखा उपचार सेवा दिन शुरु गरेको थियो । उपचारका क्रममा पालिकाले आवश्यक औषधिको व्यवस्थापन गरेको थियो ।

गाउँपालिकाले पालिका भित्रका ८ वटा स्वास्थ्य संस्थाबाट निःशुल्क औषधी (सिप्रोफल्कसासिन ड्राप, कोलरमफेनिकल मल्हम, सिप्रोफल्कसासिन टेबलेट) औषधीको ब्यवस्थापन गरी वितरण गरेको थियो ।

एक महिनाको अवधिमा तिर्तिखी स्वास्थ्य चौकीबाट २ सय ६६ जना, गौरी स्वास्थ्य चौकीबाट १ सय २२ जना, वसन्तपुर स्वास्थ्य चौकीबाट ८३ जना, परसोहिया स्वास्थ्य चौकीबाट १ सय १३ जना र यशोधरा आधारभुत अस्पतालबाट १०७ जनालाई उपचार सेवा दिएको जनाएको छ । त्यसैगरी रंगपुर स्वास्थ्य चौकीबाट १ सय ४८ जना, सोमडिह स्वास्थ्य चौकीबाट १ सय ८८ जना र सिहोखोर स्वास्थ्य चौकीबाट ३ सय ३ जनाले सेवा लिएका छन् ।

पालिकाले हाल आँखा पाक्ने रोगको औषधी ८ वटा स्वास्थ्य संस्थाबाट निरन्तर रुपमा निःशुल्क प्रदान गर्दै आएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख वीरेन्द्र कुमार मिश्रले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्