आफ्नै व्यवसायमा रमाउदै हाईलाइटका सञ्चालक खनाल


पालिका पत्र

११ भाद्र २०८०, सोमबार १८:२९ मा प्रकाशित


रविना कडेल, भदौ ११ ।
देशमा बेरोजगारीको समस्याका कारण विदेश पलायनको समस्या भोगिरहेका नेपाली युवाहरुको समस्या यथावथै छ । पछिल्लो समय सीप र क्षमता हुँदा हुँदै पनि आवश्यक स्रोत र साधनको अभावमा व्यवसाय सञ्चालन गर्न नसकेर वैदेशिक रोजगारको शिलशिलामा धेरै युवाहरुले समस्या भोगिरहेका छन् । स्वदेशमा रोजगारी छैन, विदेशमा बाध्यतावश पसिना बगाउनु पर्छ यो समस्या अधिकांश नेपाली युवाहरुको हो ।


सोहि क्रममा मेहेनत र संघर्षलाई सकारात्मक सोंचका साथ निरन्तरता दिंदै अनुकरणिय उदाहरण बन्न सफल भएका छन् एक युवा । स्वदेशमा आफ्नै सीप र क्षमताको आधारमा केहि गर्छु भनेर करिव एक दशक देखि निरन्तर रुपमा मोबाइल व्यवसायमा तल्लिन युवा हुन् केशवराज खनाल ।


कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर ४, जितपुरमा हाईलाइट मोवाईल सर्भिस सेन्टर सञ्चालन गर्दै आएका खनालको जन्म अर्घाखाँचीको डिभर्नामा भएको थियो । आमा अनिता खनाल र बुवा कृष्ण प्रसाद खनालको कोखबाट जन्म लिएका खनालले आफ्नो कर्मथलो कपिलवस्तुलाई बनाउँदै सफल उद्यमी बनेका छन् ।

आफु १५ बर्षको उमेर देखिनै देशको व्याप्त वेरोजगारीको समस्यालाई छिचोल्दै कक्षा १२ उतीर्ण पछि मोवाईल सम्बन्धि ज्ञान हासिल गरे । त्यसपश्चात वि.स. २०६७ साल देखि २ बर्षको समयमा उनले करिव ३ सय ५० बढी युवाहरुलाई मोवाईल सम्बन्धि सीपमुलक तालीम प्रदान गरी आत्मनिर्भर बन्न प्रेरणा दिए ।

वि.स. २०६८ साल देखि कपिलवस्तुको वाणगंगा नगरपालिका जितपुरमा ३५ हजारको लागतमा हाईलाइट मोवाईल सर्भिस सेन्टर सञ्चालन गरी सेवा दिन सुरु गरे , जुन पुँजी अहिले करिव ५० लाख भन्दा माथि पुगेको छ ।

एक दशक वितिसक्दा उनले आफ्नो सेवालाई निरन्तरता दिईरहेका छन् । व्यवसाय सञ्चालन गरेसंगै अहिलेसम्म करिव ३५ जनालाई रोजगारी गरे पछि उनको प्रेरणाले स्वरोजगार भई व्यवसाय तर्फ लागिसकेका छन् ।


उद्यमी केशवराज खनालले व्यवसाय सुरु गर्दा आफ्ना लागि उपयुक्त व्यवसाय पहिचान गर्ने, अनुभव वा ज्ञान भएको व्यवसाय रोज्ने, बजारको आवश्यकता बुझ्ने, लक्षित उपभोक्ताको पहिचान गर्ने, आर्थिक अवस्थाअनुसार व्यवसाय छनोट गर्ने, सहयोगी सञ्जालको विस्तार गर्ने, सेवा वा उत्पादनको विश्वसनीयता वृद्धि गर्ने जस्ता महत्वपुर्ण पक्षलाई ध्यान दिनुपर्ने सुझाव दिएका छन् ।

खनाल भन्छन् ‘उपभोक्ता वा ग्राहकलाई के उपलब्ध गराउन सकेँ ? कसरी उनीहरूको काममा सहयोगी हुन सकेँजस्ता प्रश्नको उत्तर खोज्नु आवश्यक छ । यसले सेवा विश्वसनीय बन्दै जानेछ । त्यसलाई ग्राहकले पनि प्रशंसा गर्नेछन ।
यी पक्षहरुलाई ध्यान दिंदै व्यवसाय सुरु गरेमा वैदेशिक रोजगारमा गई धेरै दुःख कष्ट सहन नपर्ने खनाल बताउँछन् ।

युवा उद्दमी खनाल नेपाल मोबाइल ब्यबसायी महासंघ केन्द्रिय सदस्य र लुम्बिनी प्रदेश वरिष्ठ उपाध्यक्ष समेत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्