करोडौंका मेडिकल उपकरणहरू र होल्डिङ सेन्टर प्रयोग विहिन

बजेट अभाव मात्रै कारण हो त ?


पालिका पत्र

२७ भाद्र २०८०, बुधबार १३:०८ मा प्रकाशित

भदौ २७ । कपिलबस्तुमा दुई करोड बढि खर्चेर ल्याइएकाे पिसिआर मेसिन बेवारिसे र होल्डिङ सेन्टर प्रयोग विहिन भएका छन् । कपिलवस्तु नगरपालिका वडा नम्बर ३, चप्परतल्ला स्थित कपिलवस्तु जिल्ला अस्पतालले संचालन गरेको पिसिआर मेसिन र होल्डिङ सेन्टर राखेको भवन प्रयोग विहिन बनेको हो ।

कोरोनाकालिन समयमा उक्त भवनमा माथिल्लो तलामा पिसिआर मेसिन राखिएको थियो भने तल्लो तलामा आईसोलेसन सेन्टर बनाइएको थियो । दुई तले सुन्दर चिटिक्कको भवन अहिले प्रवेश गेटमा भोटे ताल्चा झुण्डाइएको र ताल्चा पनि खिया लागेर पुरानिएको छ, धुलोमाटोले मैलिएको देखिन्छ ।

पिसिआर मेसिन राखिएको भवनको माथी उक्लिदै जाने फलामे सिढी घाँसका लहरा र झारपात बेरिएर बाटो नै बन्द भएको छ भने भवनका ढोका माकुराको जालोले जेलिएको र भवनको चारतिर फोहरै फोहरले भरीएको देखिन्छ ।

उक्त सुविधा सम्पन्न भवन अहिले वेवारिसे बनेको छ । दुई करोड खर्च गरेर मेसिन संचालन,र कोठा व्यवस्थापन र जेनेरेटर राखिएको बताइएको छ । त्यस्तै एसी, फर्निचर र भ¥याङ बनाईएको छ ।

साबिकको महिला विकास कार्यालयको नवनिर्मित भवनमा मेसिन संचालन गरिएको र महिला विकास कार्यालय नरहेपछि उक्त भवन कपिलवस्तु नगरपालिकाको स्वामित्वमा रहदै आएको थियो । नगरपालिकाको उक्त भवनमा कोरोना संक्रमणका बेला कपिलवस्तु अस्पतालले पिसिआर मेसिन संचालन गर्न ल्याएको थियो ।

०७७ असोजदेखि लिएको उक्त भवनमा पिसिआर मेसिन मुस्किलले ४ महिना संचालनमा आएको थियो । करिब दुई करोड खर्च गरेर पिसिआर मेसिन जडान, संचालन र व्यवस्थापन गरिएको थियो । ०७७ फागुनदेखि ०७८ जेठसम्म संचालनमा रहेको भवनमा अस्पतालको भोटे ताल्चा लागेको छ ।

वेवारिसे पिसिआर मेसिनः
कोरोना संक्रमणको पहिलो लहरका बीच पिसिआर परिक्षण सहज बनाउन जिल्लामै ल्याब संचालन गर्ने सर्बदलीय सर्वपक्षिय सहमति बन्यो । जिल्लाका दुई (पूर्व) संघीय सांसदद्वय बृजेशकुमार गुप्ताले १ करोड ४६ लाख र चक्रपाणी खनाल (बलदेव)ले २८ लाख रकम प्रदान गर्ने निर्णय गरे ।

जिल्ला कोरोनाको हटस्पट बन्दै जनधनको क्षति हुन थालेपछि त्यस्को न्यूनिकरणका लागि उनीहरुले विकास बजेटबाटै मेसिन संचालनका लागि रकम प्रदान गरेका थिए । उनीहरुले स्थानीय पूर्वाधार विकास कार्यक्रम अन्तर्गत ०७७ जेठमै रकम प्रदान गरेका र मेसिन संचालन गर्ने निर्णय भएको साढे ३ महिनापछि ०७७ असोज १२ गते जिल्ला अस्पतालले मेसिनका लागि टेण्डर निकालेको बताइएको छ ।

बोलपत्र परेको दुई महिना बढी लगाएर ०७७ पुस २१ गते मेसिन आईपुगेको र टेण्डर सूचना ३० दिने को रहेको बताएको छ । पिसिआर मेसिन संचालन गर्ने निर्णय भएको ९ महिना पछि बल्लतल्ल मेसिन आएको र संचालन भने ०७७ फागुनदेखि मात्र हुन सकेको बताएको छ ।

०७८ जेठसम्म संचालन भयो र त्यस पछि संन्चालन हुन नसकेको बताएको छ । उक्त मेसिन एक करोड ५ लाख लागतमा ल्याईएको बताएको छ । सांसदले प्रदान गरेको रकम मध्ये ठेक्का लागेर बचेको रकमबाट मेसिन संचालन र कार्यालय व्यवस्थापन गरेर संचालन गरिएको र मेसिन राखिएको भवनमा एसी, फर्निचर, पंखा, सिसिटिभी र भ¥याङ बनाउन अस्पतालले १५ लाख बढी खर्च गरेकोछ । २६ केभिएको ८ लाखको जेनरेटर बाहिरै फालिएको छ ।

झ्याल ढोका राख्न र कोठा पार्टेसन गर्न ५ लाख बढी लागत लागेको छ । तल्लाे तलामा आईसोलेसन सेन्टरका लागि अस्पतालले १५ लाख बढी खर्च गरेको र सयबढी ग्यास सिलिण्डरहरु रहेको बताएको छ । आधारभूत अस्पतालका लागि चाहिने उपकरण सबै छन् । “लामो समयसम्म मेडिकल उपकरणहरु प्रयोग विहिन हुनु हुदैन्”, एक ल्याब टेक्निसियन भने,- “त्यस्मा फंगस लाग्ने र विग्रने हुन्छ ।”

करिब दुई करोड खर्च गरेको भवन अहिले वेबारिसे बनेको छ । त्यहाँ जोडिएको लाईन समेत काटिएको छ । तार असरल्ल फालिएका छन् । सुरक्षाकर्मी छैनन् । कोही मान्छे नबस्दा असुरक्षित बनेको छ । अस्पतालले भवन नछाडदा नगरपालिकाले भवन भाडामा लगाउन पाएको छैन् । प्रयोग नहुने भएपछि अब अस्पतालले उक्त भवन छाडनु पर्ने कपिलवस्तु नगरपालिका स्वास्थ्य शाखा प्रमुख उमेश गुप्ताले भनाई छ ।

दुई करोडमा १६ सय नमूना परिक्षण :
ठूलो महत्वाकांक्षाका साथ संचालनमा ल्याईएको पिसिआर मेसिनले करिव ४ महिनामा एक हजार ६ सय नमूनामात्र परिक्षण गरेको बताएको छ । पिसिआर मेसिन बिएसएल सेकेण्ड प्रविधिको अत्याधुनिक मेसिन हो । एक घण्टामा ९६ जनाको स्वाव परिक्षण गर्ने क्षमताको छ । पिसिआर मेसिन संचालन गर्ने छुट्टै जनशक्ती छैन् ।

प्रदेश र संघीय सरकारबाट पनि बजेट विनियोजन नहुदा संचालन हुन समस्या देखिएको कपिलवस्तु अस्पतालका सुचना अधिकारी रत्नाकर शुक्लाले बताए । पहिलेको जस्तो कोभिड संक्रमणको अवस्था छैन् ।

प्रदेश सरकारले कार्यविधि बनाएर त्यसलाई कसरी उपयोग गर्ने भन्ने नीति बनाउन आवश्यक रहेको कपिलवस्तु अस्पतालका मेसु डा. विपिन जयसवालले बताए । ल्याबमा रहेको कोरोना संक्रमण परिक्षण गर्ने उपकरणलाई सुरक्षित राख्ने र त्यस बाहेकका अन्य मेसिन अस्पतालमा ल्याएर उपयोग गर्न सकिने भएकोले यसलाई ब्यवस्थापन कसरी गर्ने भन्ने बिषयमा छिटै पहल गर्ने जयसवालले बताए ।

प्रतिक्रिया दिनुहोस्