कपिलवस्तुमा ‘युवा संवाद तथा सम्मान’ कार्यक्रम सम्पन्न


पालिका पत्र

१३ आश्विन २०८०, शनिबार १९:१८ मा प्रकाशित

रचना खासु मगर, कपिलवस्तु ।

कपिलवस्तुमा युवा संवाद तथा सम्मान कार्यक्रम सम्पन्न गरिएको छ । कपिलवस्तु नगरपालिकाको सहयोग र डायनामिक सामाजिक बिकास संस्थाको आयोजनामा शनिबार उक्त कार्यक्रम सम्पन्न गरिएको हो । ‘दिगो बिकास लक्ष्य प्राप्तिमा युवाको साथ, नवप्रवद्र्धन र उद्यमशीलतामा हरित सिप बिकास’ भन्ने नाराका साथ उक्त कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ ।

कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य सुधाकर पाण्डेयले युवाहरुको लगानीको सुनिश्चितता प्रदान गर्न सबै सरोकारवाला पक्ष जागरुक बन्नुपर्ने बताए । उनले युवाहरुका सवालमा आफु गम्भिर रहेको बताउँदै आफ्नो तर्फबाट सक्दो सहयोग र समन्वय गर्न तत्पर रहेको उल्लेख गरे ।

कपिलवस्तु नगरपालिकाका सामाजिक बिकास अधिकृत पदमराज श्रेष्ठले युवा संवाद कार्यक्रम आवश्यकताको कडि भएको बताए । उनले नगरले युवा तथा लक्षित बर्गका लागि आवश्यक बजेटको ब्यवस्था गर्ने गरेको जिकिर गर्दै युवाहरु अधिकार र दायित्वमा सजग रहनुपर्नेमा श्रेष्ठको जोड छ ।

कार्यक्रममा युवाहरुको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने ब्यक्तित्वलाई सम्मान गरिएको छ । जसअन्र्तगत संचार माध्यमबाट युवाको क्षेत्रमा योगदान पुर्याएको भन्दै नेपाल टेलिभिजनका संवाददाता बासुदेव बर्मा (अजय), युवाअधिकार कर्मी बृजेश गुप्ता र देवीराम कोहारलाई सम्मान गरिएको डायनामिक सामाजिक बिकास संस्थाले जनाएको छ ।

संस्थाका अध्यक्ष मोहम्मद इरफान मन्सुरीको अध्यक्षता रहेको कार्यक्रममा जिल्लाका बिभिन्न क्षेत्रमा युवाहरुको सवालमा काम गर्ने, पैरवी गर्ने युवाहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्