बजार अनुगमन आक्रामक, उपभोक्ता ठगिने क्रम रोकिएन (फोटोफिचर)


१३ आश्विन २०८०, शनिबार २१:४६ मा प्रकाशित

कपिलवस्तु, असोज १३ गते । चाडपर्वलाई लक्षित गर्दै कपिलवस्तुमा बजार अनुगमनलाई आक्रामक बनाइएको छ । गृह मन्त्रालयले नै बजार अनुगमनलाई प्रभावकारी तवरले गर्न आदेश दिएसँगै संयुक्त बजार अनुगमन टोलीले जिल्लाका विभिन्न स्थानमा अनुगमनलाई तिब्रता दिएको हो ।

बजार अनुगमनमा धेरै जसो पसलमा खाद्यान्न सामग्री समेत म्याद नाघेका पाइएको, पेयपदार्थ, कस्मेटिक सामग्रीहरू समेत म्याद नाघेका, कतिपय पसलहरू सम्बन्धित निकायमा दर्ता नभएका भेटिएका जिल्ला प्रशासन कार्यालय कपिलवस्तुका नायब सुब्बा बाबुराम शर्माले जानकारी दिए । जिल्लामा रहेका नियामक निकायहरुसँगको समन्वयमा संयुक्त अनुगमनका क्रममा बजारमा उपभोक्ताको स्वास्थ्यमाथी खेलवाड गर्ने किसिमका गतिविधीहरु भएको प्रति प्रशासन सचेतता पूर्वक लागेको उनले जनाए ।
गृह मन्त्रालयले आम उपभोक्ताहरु नठगिउन र स्वच्छ तथा गुणस्तर सामान सुपथ मुल्यमा उपभोग गरुन् भन्ने उद्देश्यले कडाईका साथ अनुगमन गर्न निर्देशन भए अनुसार अनुगमनलाई तिब्रता दिएको उनको भनाइ छ ।

अनुगमनको क्रममा बजारमा अधिकांश होटल, रेष्टुरेण्ट तथा मिठाई पसल सरसफाइ नभएको भेटिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय कपिलवस्तुका प्रमुख रमेश दाहालले बताए । अखाद्य तेल १५ लिटर र लेबल नलगाएको वस्तु जफत गरी नष्ट गर्ने गरिएको उनको भनाइ छ । किराना पसलहरूमा अखाद्य वस्तु नबेच्न र होटल तथा चिया नास्ता पसलमा सरसफाइ बढाउनका साथै बजार नियन्त्रण गर्ने उद्देश्यले अनुगमन गरिएको प्रमुख दाहालले बताए । अनुगमन सुरु गरेको दुइसातामा कपिलवस्तुमा एकसय ६ वटा पसल तथा फर्महरुको अनुगमन गरिएको समेत दाहालको भनाइ छ ।

शुक्रबार घरेलु तथा साना उद्योग कार्यालयको अगुवाईमा भएको अनुगमनमा उपभोक्ताको प्रत्यक्ष सरोकार राख्ने उद्योग, पसलहरुको अनुगमन गरिएको बताइएको छ । कानुनी तवरले सञ्चालनमा आउनुपर्ने पसलहरुको निगरानी गर्ने र मुख्यतः सचेतना जगाउने काम गरिरहेको घरेलु तथा साना उद्योग कपिलवस्तुका प्रमुख प्रेम गौतमले बताएका छन् ।

चाडपर्वहरुलाई मध्यनजर गर्दै दुग्धडेरी, मासुजन्य पसल, माछापसल लगायत पशु तथा पशुजन्य पदार्थको उत्पादन हुने पसलहरुको अनुगमन गरिएको भेटनरी अस्पताल तथा पशुसेवा बिज्ञ केन्द्रका प्रमुख बिष्णु प्रसाद खनालले बताए । अनुगमनका क्रममा आंशिक पसलहरुलाई सेवासुधार तर्फ ध्यान दिन आग्रह गर्ने लगायतका काम गरिएको प्रमुख खनालको भनाइ छ ।

दर्ता नभएका पसलहरूलाई सम्बन्धित निकायमा दर्ता गर्न समेत अनुगमन टोलीले निर्देशन दिएको छ । हालसम्म कपिलवस्तु नगरपालिका, शिवराज नगरपालिका र बुद्धभूमि नगरपालिकाका विभिन्न बजारमा अनुगमन गरिएको छ । त्यस क्रममा एक सय ६ पसलमा गरिएको अनुगमनमा करिब १ लाख बढीको म्याद गुज्रेको सामग्री बरामद गरिएको अनुगमन समितीले जनाएको छ ।
उनका अनुसार बरामद गरिएका सामग्रीमा खाद्यान्न र पेय पदार्थ बढी छन् ।

अनुगमनका क्रममा केही पसल दर्ता नभएका र सम्बन्धित स्थानीय तहमा दर्ता गर्न निर्देशन दिइएको छ । यस्तै एक पसललाई २० हजार जरिवानासमेत गरिएको शर्माले बताए । उनले भने, ‘दर्ता नै नभएको र आइसक्रिम फर्म मापदण्ड बिपरीत संचालन गरेको पाइएपछि जरिवाना गरियो ।’

बजार अनुगमन कार्यले व्यापारी र उपभोक्ता दुवै सचेत गराउन मद्दत पुग्ने घरेलुका प्रमुख गौतमले विश्वास व्यक्त गरे । चाडपर्वलाई लक्षित गर्दै सुरू गरिएको अनुगमन कार्यलाई तिहारसम्मै निरन्तरता दिइने जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जनाएको छ ।

यस्तै, घरेलु तथा साना उद्योगका श्रवणकुमार शैनिका अनुसार मूल्यसूची नभएकालाई मूल्यसूची राख्न र व्यवसाय विना दर्ता सञ्चालन गर्नेलाई दर्ता गर्न निर्देशन दिएको बताउँछन् । अनुगमनकै क्रममा, गत सोमबार तौलिहवाको बजार क्षेत्रभित्र संचालन गरिएका बिभिन्न दुई दर्जन भन्दा बढी पसलहरुमा अनुगमन टोलीले अखाद्य तेलको प्रयोग, म्याद गुज्रिएका सामानहरु, सरसफाईमा कमी, मूल्य सूची नराखेको तथा दर्ता नगरी संचालन गरिएको पाईएको जनाएको छ ।

यस्तै, जिल्लाको बुद्धभूमि नगरपालिकाको गोरुसिंगे र ईमिलिया, शिवराज नगरपालिकाको चन्द्रौटामा गत बुधबार तिन दर्जन भन्दा बढी पसलहरुमा अनुगमन गरिएको छ । यता, कपिलवस्तु नगरपालिकाको गोबरी, जहदी, पचेहरा, बाणगंगा नगरपालिकाको ओदारीका डेढ दर्जन खाद्यपसलहरु, नास्ता पसल, मिठाई पसल, होटल, किराना, एग्रोभेट, दुध डेरीमा अनुगमन तथा निरीक्षण गरिएको थियो ।

यसैगरी स्वीकृत बिना संचालन गरिएका केही एग्रोभेट र पसलहरुलाई कारवाही गरिएको थियो । शिवराज नगरपालिकाको चन्द्रौटा स्थित हाट बजारमा अनुगमन टोलिले अनुगमन गर्दा अव्यवस्थित रुपमा माछामासु बिक्रि गरेको पाईएको थियो ।

प्रभावकारीताका लागि समन्वयात्मक रुपमा गरिएको बजार अनुगमनमा जिल्ला प्रशासन कार्यालय कपिलवस्तुका नासु बाबुराम शर्मा, घरेलु तथा साना उद्योग कार्यालय कपिलवस्तुका प्रमुख प्रेम गौतम, भेटनरी अस्पताल तथा पशुसेवा बिज्ञ केन्द्रका प्रमुख बिष्णु प्रसाद खनाल, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रमुख रमेश दाहाल, घरेलुका श्रवणकुमार शैनि, बिष्णु प्रसाद पोख्रेल, सम्बन्धित पालिकाका प्रतिनिधि, संचारकर्मी, सुरक्षाकर्मी लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्