कपिलवस्तु जिल्ला प्रशासनले ‘ए ग्रेड’ ल्याउन सफल


१७ आश्विन २०८०, बुधबार २०:५२ मा प्रकाशित

असोज १७ । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले अतिउत्कृष्ट अर्थात ‘ए ग्रेड’ स्थान ल्याउन सफल भएको छ । गृह मन्त्रालयले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/८० को कार्यसम्पादन मूल्याङ्कनको नतिजामा कपिलवस्तु प्रशासनले उत्कृष्ट अर्थात् ‘ए ग्रेड’ ल्याएको हो ।

कार्यसम्पादन मूल्यांकनका आधारमा कपिलवस्तु प्रशासन देशभरमै उत्कृष्ट २५ स्थान भित्र पर्दै ‘ए ग्रेड’ ल्याउने जिल्ला बनेको छ । देशभर ३३ वटा जिल्ला प्रशासनले अतिउत्कृष्ट अर्थात ९० मापन अंक प्राप्त गरेका छन् । कपिलवस्तु २४ औँ नम्बरमा पर्दै ९२ अंक प्राप्त गरेको छ ।

कार्यसम्पादन मूल्याङ्कनमा गुल्मी प्रथम, रुकुम (पश्चिम) दोस्रो र रुपन्देही तेस्रो भएका छन् । गुल्मीले ९६.४४ अंक, रुकुम (पश्चिम) ९६.११ अंक र रुपन्देहीले ९६ अंक प्राप्त गर्दा उत्कृष्ट १० जिल्ला भित्र इलाम, नवलपरासी पूर्व, रुकुम (पुर्व), डडेलधुरा, काठमाडौं, पर्वत र बैतडी रहेका छन् ।

गृह मन्त्रालय र प्रमुख जिल्ला अधिकारीहरूबीच आर्थिक वर्ष ०७९/८० का लागि भएको कार्यसम्पादन सम्झौताको कार्यान्वयनको अवस्था मूल्यांकन समितिले सार्वजनिक गरेको मूल्यांकन प्रतिवेदन अनुसार कपिलवस्तु २४ औँ नम्बरमा रहँदै अतिउत्कृष्ट हुँदै ‘ए ग्रेड’ हासिल गरेको हो ।

शान्ति सुरक्षा र अपराध नियन्त्रण, सुशासन र सेवा प्रवाह, लागुऔषध नियन्त्रण, विपद् जोखिम न्यूनीकरण, मुद्दाको फर्छ्यौट लगायतका आधारमा कार्यसम्पादन मूल्यांकनमा कपिलवस्तु अतिउत्कृष्ट जिल्लाभित्र पर्न सफल भएको गृहमन्त्रालयले जनाएको छ ।

गृहमन्त्रालयले गरेको कार्यसम्पादन मूल्यांकनमा प्युठान, सल्यान, मकवानपुर, मनाङ, दाङ, गोरखा, बारा, लमजुङ, ललितपुर, तनहुँ, मोरङ, संखुवासभा, नुवाकोट, अछाम, पाल्पा, नवलपरासी (पश्चिम), भोजपुर, ओखलढुंगा, बर्दिया, दार्चुला, र सिन्धुलीको जिल्ला प्रशासन कार्यालय उत्कृष्ट अर्थात ‘ए ग्रेड’ मा परेका छन् ।

गृहमन्त्रालयका सहसचिव नारायण प्रसाद भट्टराईका अनुसार शान्ति सुरक्षा र अपराध नियन्त्रण, सुशासन र सेवा प्रवाह, लागूऔषध नियन्त्रण, विपद् जोखिम न्यूनीकरण, विकास निर्माण अनुगमन र समन्वय, आर्थिक सुशासनसँग सम्बन्धित कार्यसम्पादनको मापनको आधारमा ग्रेड छुट्टाइएको हो ।

प्रतिवेदनअनुसार ३३ जिल्लाहरुले ९० प्रतिशतभन्दा बढी अंक प्राप्त गरेको मन्त्रालयले जनाएको छ । ३० जिल्लाले ८० प्रतिशतदेखि ९० प्रतिशतको बीचमा अंक प्राप्त गरेका छन् । १४ जिल्लाले भने ६० प्रतिशतदेखि ८० प्रतिशत अंक पाएका छन् ।

नतिजाको पुच्छरमा ७७ औं स्थानमा सिराहा रहेको छ, जस्ले ६१. ५६ प्रतिशत अंक प्राप्त गरेको छ । अन्तिमका पाँच जिल्ला प्रशासनमा दोलखा, बझाङ, चितवन, जाजरकोट र सिराहा रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्