बाणगङ्गामा अटो तथा इ–रिक्सा चालकले मनपरी चर्को भाडा असुली गरेको व्यापक जनगुनासो


पालिका पत्र

२५ आश्विन २०८०, बिहीबार ०८:३२ मा प्रकाशित


पालिका पत्र, असोज २५ ।
कपिलवस्तुको बाणगङ्गामा सञ्चालित तिन पाङ्ग्रे अटो तथा इ– रिक्सावालले  चर्को भाडा असुली गरेको व्यापक जनगुनासो आएको छ ।  बाणगङ्गा नगरपालिकाले तिन पाङ्ग्रे अटो तथा इ– रिक्सा व्यवस्थापनका लागि समिति निर्माण गरेपछिको समाचार पालिका पत्र अनलाईनमा प्रकाशित भएपछि कमेन्टमा सर्वसाधारणहरूले जनगुनासो राखेका छन् ।  यस अघि पनि यस्ता गुनासा भने नआएका होइनन् । यद्यपि चर्को भाडा असुलीको समस्या छिटो समाधान हुन्छकी भन्ने उद्देश्यले कमेन्ट मार्फत गुनासा राखिएको उनीहरूको भनाई छ । 


कमेन्टमा बाणगङ्गा नगरपालिकाका शिक्षा शाखा प्रमुख खिम बहादुर जिसीले दर रेट तोकिनु अनिवार्य रहेको लेखेका छन् । उनले १ किलो मिटरमा रु ५० तिर्नु कसरी सक्छन् जनताले भनेर प्रश्न गरेका छन् ।


यस्तै नगरपालिकाकै पिपरा अस्पतालका डाक्टर गणेश क्षेत्रीले खिम बहादुर जिसीको कमेन्टमा सर्मथन जनाउँदै १०० मिटरको दूरीमा  २५० तिरेको र त्यसपछि कहिल्यै अटो तथा इ– रिक्सा चढ्न मन नलाग्ने भनी लेखेका छन् । सोही कमेन्टमा ४ सय मिटरको दूरीमा १०० रुपैयाँ तिर्न बाध्य भएको लेखेका छन् । 


त्यस्तै रमेश चन्द्र भुसालले अटो तथा इ– रिक्सा ईन्धनवाला नभई विद्युतवाला सञ्चालनका लागि पहल गर्नुपर्ने र चर्को भाडाको सिन्डीकेट अन्त्य गरि विद्युतीय सवारीको प्रतिस्पर्धा गराउनु उचित हुने लेखेका छन् । 


कतिपयले अटो तथा इ– रिक्सा चढेपछि रु १ सय ५० तिर्नपर्ने बाध्यता पार्ने बताएका छन् । यस्तै जितपुरका मोहन पाण्डेले अटो तथा इ– रिक्सावालाको लाइसेन्स तथा रुटपरमिट चेकजाँच गर्नु अति आवश्यक रहेको उल्लेख गरेका छन् । 


यस्तै लायन्स क्लब अफ कपिलवस्तुका पुर्व अध्यक्ष राम सुभागे थारूले पनि गजेहडा बाट चार नम्बरको लागि चढियो भने १०० रुपैयाँ लिने गरेको खुलाएका छन् । उनले चर्को भाडा तुरुन्तै नियन्त्रण गर्नु पर्ने बताए । उता विष्णु भुसालले वनगाई भलवाड  चल्ने अटो तथा इ– रिक्सावालले पनि मनपरी भाडा असुलीले जनता ठगिएको उल्लेख गरेका छन् । 


यसका लागि हिजो मात्रै नगरपालिकाले वडा न. ४ का वडा अध्यक्ष छवि रेश्मीको संयोजकत्वमा ७ सदस्यीय तिन पाङ्ग्रे अटो तथा इ– रिक्सा व्यवस्थापन समिति गठन गरेको छ । जसको सदस्यमा जनप्रतिनिधिका तर्फबाट वडा न. १  का वडा अध्यक्ष सन्जु सारू मगर, वडा न. ८ का वडा वडा सदस्य शारदा परियार रहेका छन् ।


यस्तै कर्मचारीको तर्फबाट सदस्य सचिव रहने गरि राजस्व शाखा प्रमुख मदन घिमिरे, वाणगङ्गामा रहेका ई रिक्सा समितिका दुईजना सदस्य तथा ट्राफिक एकजना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्