‘हाकिम बिहिन’ स्थानीय तह : सेवा प्रवाहमा समस्या !


पालिका पत्र

२९ आश्विन २०८०, सोमबार १२:५७ मा प्रकाशित

असोज २९ । हाकिम बिहिन हुँदा कपिलवस्तुका स्थानीय तहमा सेवा प्रवाहमा समस्या भएको छ । केहि स्थानीय तहहरुमा निमित्तको भरमा कामकाज भइरहेका छन् भने केहि स्थानीय तहमा लामो समयको रिक्तता पछि हाकिमको आगमन क्रम जारी रहेको छ ।

नयाँ आर्थिक बर्ष शुरुवातसँगै यहाँका स्थानीय तहहरुमा हाकिम सरुवाको चलखेल उत्कर्षमा पुग्ने गर्दछ । पछिल्लो समय बाणगंगा, शिवराज नगरपालिका, मायादेवी, यशोधरा र शुद्धोधन गाउँपालिकामा मुख्यतः प्रमुख प्रशासकीय अधिकृतको अधिकार माथि जनप्रतिनिधिले अंकुश लगाउने तथा राजनीतिक धार नमिल्दा समेत हाजिर हुन नदिने सम्मका घटना बाहिरिएका छन् ।

कतिपय स्थानीय तहका प्रशासकिय अधिकृतहरुको सरुवा भई कार्यालयमा हाजिर हुन नपाउँदै बिचबाटो बाटै अन्यत्र सरुवा हुने क्रम पनि बढेका छन् । जनप्रतिनिधि र कर्मचारीबीचमा आन्तरिक साँटगाँठ नमिल्दा यहाँका स्थानीय तहमा नयाँ आएका हाकिमलाई हाजिर हुन नदिने निर्णय गर्दै निमित्त तोक्ने प्रवृत्ति मौलाएको सरोकारवाला बताउँछन् ।

मायादेवी गाउँपालिकाको कार्यलय गाउँकार्यपालिकाको कार्यालय पकडी कपिलवस्तुमा प्रमुख प्रशासकिय अधिकृतको रूपमा गत चैत्र १३ गते संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गुल्मीको इश्मा गाउँपालिकाबाट धनिश्वर पौडेललाई मायादेवी गाउँपालिका कपिलवस्तुमा दरबन्दी कायम रहने गरि पठायो तर पालिकाले मसान्तको बेलामा हाजिर गराए असर पर्ने भन्दै कार्यपालिकाले निर्णय गरि पौडेललाई फिर्ता गराएको श्रोतको भनाइ छ ।

जनप्रतिनिधिको स्वार्थ अनुसार नचल्दा मायादेवी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पौडेलको काज फिर्ता गर्ने निर्णय गरेको थियो । यद्यपि, कानुनमै प्रमुख प्रशासकीय अधिकृतको काज कार्यपालिकाले फिर्ता गर्ने व्यवस्था कतै पनि उल्लेख छैन । आर्थिक बर्षको समाप्तीको समयमा योजनाको भुक्तानी देखी लिएर विविध कामको चापमा रहेको गाउँपालिकाले नयाँ हाकिमलाई हाजिर नगराई काज फिर्ता गर्न बाध्य भएको कार्यपालिकाका एक सदस्यले पालिकापत्रलाई बताए ।

पौडेल मन्त्रालय फिर्ता पश्चात गृहमन्त्रालयमा रहेका राकेश कुमार चौधरीलाई मायादेवीमा प्रमुख प्रशासकीय अधिकृतका रूपमा पठायो तर चौधरीलाई समेत कार्यसमितीको निर्णय भन्दै काज फिर्ता गरियो । चौधरी भदौ १३ गते गाउँपालिकामा काजका लागि खटाएको मन्त्रालयको निर्णयलाई समेत गाउँपालिकाको कार्यपालिका बैठकले उल्टाएको थियो । कार्यपालिकाको बैठकको निर्णय आफुलाई नदेखाइएको तर हाजिर गर्न नसकिने भन्दै पत्र थमौती गरिएको चौधरीले पालिकापत्रलाई भने । अख्तियार प्राप्त हाकिम कार्यालयमा भएमा कानुन सम्वत् काम गर्ने/गराउने हुँदा जटिलता महसुस गरेर निमित्तलाई कामकारवाहीको जिम्मा दिइएको हुन सक्ने उनको बुझाई छ ।

जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृत चौधरीबीच विवाद उत्पन्न भएपछि कार्यपालिकाले उनको अख्तियारीमा अंकुश लगाएको श्रोत बताउँछ । यद्यपि, जनप्रतिनिधी र आफुबीचमा कुनै विवाद नभएको बताए । चौधरी मन्त्रालय फिर्ता भएलगत्तै निमित्तको रूपमा काम गर्दै आएको प्रमेश्वर यादवको आर्थिक एवं प्रशासनिक काममा रोक लागेको थियो ।

चौधरी पछी मायादेवी गाउँपालिकामा अहिले प्रमुख प्रशासकिय अधिकृतको रूपमा सबिन सिंह चौधरीलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्तालयले मायादेवी गाउँपालिकाका कामकाज गर्न खटाएको छ । यद्यपि उनलाई असोजको पहिलो हप्ता मात्रै कपिलवस्तुकै शुद्दोधन गाउँपालिकामा मन्त्रालयले खटाएको थियो तर सो पालिकाले पनि उनलाई हाजिर गराउन रोक लगाएको थियो ।

शुद्धोधन गाउँपालिकाका प्रशासकीय अधिकृत कृष्ण प्रसाद ज्ञवालीलाई संघीय मन्त्रालयले लुम्बिनी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय लुम्बिनी पठाइएको भएता पनि हाजिर नहुदै उनलाई मन्त्रालयले गुल्मीको इस्मा गाउँपालिका पठाएको थियो । तर ज्ञवाली अझैपनि शुद्दोधन गाउँपालिकामै कार्यरत छन् ।

अहिले मायादेवी गाउँपालिकामा मन्त्रालयले कामकाजको लागि सबिन सिंह चौधरीलाई असोज १४ गते नै खटाएको थियो । उनलाई पनि हालसम्म पालिकामा हाजिर हुने वातावरण भने बनेको छैन् अर्थात उनी मायादेवीमा हाजिर भएका छैनन् । गाउँपालिका अध्यक्ष मुसलमान देश बाहिर औषधोपचारका लागि गएको बताउँदै श्रोतले भन्यो, अब छिटो नै नयाँ हाकिमलाई हाजिर गराउने भनिएको छ ।

उता, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले असोज ६ गते मायादेवी गाउँपालिकाको नाममा “निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रमेश्वर यादवको आर्थिक तथा प्रशासनिक जिम्मेवारी रद्द सम्बन्धमा’ पत्र समेत काटेको छ । जसको कारण उनले आर्थिक प्रशासनको काम गर्न पाउँदैनन् ।

महिनौं समय हाकिम बिहिन रहेका यहाँका स्थानीय तहहरु शिवराज नगरपालिकामा बाबुराम पौडेल, कृष्णनगर नगरपालिकामा रमेश गौतम, यशोधरामा रामचन्द्र ढकाल, बाणगंगामा भक्तिराम मरासिनी, शुद्धोधनमा कृष्ण प्रसाद ज्ञवाली, मायादेवीमा सबिन सिंह चौधरी आएका छन् ।

स्थानीय तहका कर्मचारीहरु जनप्रतिनिधिका कारण पनि प्रमुख प्रशासकीय अधिकृत धेरै दिन टिक्न नसकेको दाबी गर्छन् । कर्मचारीहरु प्रमुख प्रशासकीय अधिकृतले जनप्रतिनिधिको आफ्नो इच्छा अनुसार काम नगरे सरुवाको माग गर्ने गरेको बताउछन् । तर, जनप्रतिनिधिहरु भने संघीय सरकार, मन्त्रालयले हचुवाका भरमा कर्मचारीको सरुवा गर्ने गरेको गुनासो गरिरहेका छन् ।

कपिलवस्तुको मायादेवी गाउँपालिकासहित अधिकांश स्थानीय तहमा कर्मचारी समायोजन प्रभावकारी नभएको, संघीय मन्त्रालयले हचुवाको भरमा प्रमुख प्रशासकीय अधिकृतको सरुवा गरिरहेको, कतिपय सन्दर्भमा जनप्रतिनिधिहरुले पनि उचित ढंगले कर्मचारी व्यवस्थापन तथा परिचालनमा ध्यान दिन नसकेको तथा जनप्रतिनिधी र कर्मचारीबीच दायित्व र अधिकारबारे विवाद देखिने गरेका कारण स्थानीय तहमा समस्या बढिरहेको छ।

मायादेवी गाउँपालिकाका एक वडाध्यक्षले भने, ’कर्मचारीको छिटोछिटो सरुवा हुनुमा दुवै पक्ष कारक रहेका छन् । जनप्रतिनिधीहरु जनताका गुनासाको तत्काल सम्बोधन होस् भन्ने चाहन्छन, तर कर्मचारीहरु ऐन कानुनका जटिल प्रावधान देखाएर गुनासो सम्बोधनमा ढिलाई गर्ने गर्दछन्’ उनले भने, ’यसले कहिलेकाहीं जनप्रतिनिधि र कर्मचारीबीच विवाद सिर्जना हुने गरेको छ।’

प्रतिक्रिया दिनुहोस्