मुद्दा लाग्ने भयले छाडा पशुचौपाया व्यवस्थापनमा तात्दै बाणगङ्गा

बाणगङ्गाका सबै टोल विकास सँग छलफल 


पालिका पत्र

२९ आश्विन २०८०, सोमबार २०:०८ मा प्रकाशित


बाणगंगा, असोज २९ । 
जिल्ला अदालत कपिलवस्तुले छाडा पशु चौपायाको उचित नियन्त्रण र व्यवस्थापन गर्न १० वटै स्थानीय तहलाई आदेश गरेको छ । एक पटकको आदेश आएको एक महिना बितिसक्दा पनि त्यस बारे पालिकाले केही जानकारी नगराए पछि अदालतको अर्को आदेश जारी गरेको हो । अदालतको दोस्रो आदेश पछि छाडा पशुचौपया व्यवस्थापनमा बाणगङ्गा नगरपालिका अहिले तातेको छ । अदालतको आदेश पालना नभएको खण्डमा पालिकाका जन प्रतिनिधिहरूलाई कसैले पनि अदालतमा मानहानिको मुद्दा समेत दायर गर्न सक्ने बाटो खुला भएपछि पालिकाहरू कस्सिएका छन् । 


विभिन्न योजनासहित पछिल्ला वर्षहरू देखि लाग्दै आएको बाणगंगाले ठोस परिणाम देखिने गरि अहिले अभियानकै रुपमा छाडा पशुचौपया नियन्त्रणमा लागेको हो । जसको लागी केही दिन अघि मात्र नगर प्रवक्ता तथा वडा नम्बर २ का वडाध्यक्ष विष्णु प्रसाद पौडेलको संयोजकत्वमा समिति नै गठन गरेको छ । सो अभियान अन्तर्गत सोमबार नगरपालिकाले नगरभित्रका १०४ वटा टोल विकास संस्थाका पदाधिकारीहरूसँग अन्तरक्रिया गरेको छ ।


जहाँ संयोजक पौडेलसहित नगरप्रमुख चक्रपाणी अर्याल, उपप्रमुख रिता कुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनी, पशु सेवा शाखा प्रमुख राजकुमार तिवारीले नगर छाडा पशुचौपया व्यवस्थापन गर्न विस्तृत योजनासहित अभियान नै सञ्चालन गरि लागेको र उक्त अभियानलाई सफल बनाउन टोल विकास समितिका पदाधिकारीहरूको पूर्ण सहयोग प्राप्त गर्ने विश्वास व्यक्त गरेका छन् । 


नगरप्रमुख चक्रपाणी अर्यालले बाणगङ्गा नगरवासीलाई अनुभूति हुने गरि छाडा पशुचौपया व्यवस्थापन गर्ने दिशातर्फ नगर लागेको बताए । उनले टोल विकास संस्था आफ्ना टोलहरूमा भएका समस्याहरू समाधान गर्ने महत्वपूर्ण निकाय भएको बताए । टोल विकास संस्था सक्रिय नभएको अवस्थामा सामाजिक कामहरू प्रभावित हुने बताउँदै उनले सक्रियताका साथ विकास निर्माणका काममा वडासँगै सहकार्य गर्न उनले आग्रह गरे । उनले चाडपर्वहरू नजिकिएकाले बाहिरबाट आउँनेहरुको मन नै प्रसन्न हुने गरि गाउँघर सरसफाइमा लाग्न अपिल समेत गरे । 


उपप्रमुख रिता कुमारी चौधरीले वाणगङ्गामा उपलब्ध स्रोत साधनको सदुपयोग गरि छाडा पशुचौपया व्यवस्थापन गर्न सकिने बताइन् । उनले यो जिल्लाका हरेक स्थानीय तहको मूल समस्याको रुपमा रहँदै आएको बताइन् । उनले विभिन्न निकायसँग समन्वय गरि समाधान गर्ने प्रयास गरे पनि सफलता हुन नसकेको स्मरण गर्दै अब बाणगंगाले समाधान गरेर देखाउने योजनासहित अघि बढेको बताइन् । 


बाणगङ्गा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले विकासको अभियानलाई आत्मसाथ गर्न नसकिए विकास निर्माण काम प्रभावित हुने बताए । बाणगंगालाई दूध, अन्न, मासु, तेलहन हुँदै खाद्यान्नमा आत्मनिर्भर बनाउन सकिने बताए । नगरपालिकामा उपलब्ध स्रोत सधानलाई एकीकृत गरेर परिचालन गर्न सके आत्मनिर्भर हुन सकिने उनले सुनाए । 


कार्यक्रममा छाडा पशुचौपया व्यवस्थापन समितिका संयोजक विष्णु प्रसाद पौडेलले छाडा पशुको नियन्त्रणमा सफलता हासिल गर्ने दाबी गरे । उनले अब दशैँ लगत्तै नगरपालिकाभित्र भएका पशुहरूको सङ्ख्याको तथ्याङ्क संकलन गर्ने कामको थालनी गर्ने सुनाए । सोही तथ्याङ्क सङ्कलनको क्रममा पशुहरूलाई ट्यागिङ गर्ने काम समेत हुने उनले जानकारी दिए । जसले गर्दा सडकमा छाडेका पशुहरू कसको हो भन्ने सजिलै पत्ता लगाउँन सकिने उनको भनाइ छ । 


उक्त कार्यक्रममा पशुसेवा शाखा प्रमुख तिवारीले हालसम्म नगरपालिकाले छाडा पशुचौपया नियन्त्रण गर्न चालेका कदमहरूको चर्चा गरेका थिए । सो क्रममा उनले नगरपालिकाको दुई स्थानमा छाडा पशुचौपायालाई व्यवस्थापन गर्न गौशाला निर्माण गरेर राखेको बताए । उनले यद्यपि अझै पनि दिन प्रतिदिन सडकहरूमा छाडा पशुहरू बढ्दा दुर्घटनाको जोखिम बढेको बताए । यस्तो समस्याले वातावरणमा नकारात्मक असर पार्नुका साथै किसानका वालीहरू खाई दिएको उनले बताए ।  कार्यक्रममा दशैँ, तिहार तथा छठपर्वको शुभकामना आदानप्रदान समेत गरिएको थियो । 

प्रतिक्रिया दिनुहोस्