उप-प्रमुखले प्रशासकीय अधिकृतलाई दुई थप्पड हानेपछि

कर्मचारीहरूद्वारा कारबाहीको माग, कामकाज ठप्प


पालिका पत्र

१६ कार्तिक २०८०, बिहीबार १९:०७ मा प्रकाशित

कपिलवस्तु, १६ कार्तिक ।

कपिलवस्तुको सुद्धोदन गाउँपालिकाकाका उप प्रमुख होम प्रकाश चौधरीले बिहीबार दिउँसो २ बजेतिर प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद ज्ञवालीमाथि हातपात गरेका छन् ।
प्रमुख प्रशासकीय अधिकृतको कार्य कक्षमा उप प्रमुख चौधरीले ज्ञवालीमाथि हातपात गरेका हुन। पत्रकारसँग अन्तरवार्ता दिँदै गरेको अवस्थामा एक्कासि आफ्नो कार्यकक्षमा प्रवेश गरेर उप प्रमुखले गाली गलौच, दुर्व्यवहार गरी हातपात गरेको प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले बताए ।

सुद्धोदन गाउँपालिकाका कर्मचारीहरूले उप प्रमुख चौधरीले प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीलाई दुई थप्पड हानी गाली गलौच समेत गरेको बताए। उप प्रमुख चौधरीले ज्ञवालीको कठालो समातेर तथानाम गाली गरी नेम प्लेट र टेबलमा समेत हिर्काएका थिए। आफूमाथि यसरी कुटपिट भएपछि प्रशासकीय अधिकृत ज्ञवालीले काम गर्न नसक्ने भन्दै सुरक्षाकाको माग गरेका छन्।

जिल्ला प्रशासन कार्यालयलाई पत्र लेख्दै उनले तुरुन्त पक्राउ गरी चौधरीमाथि आवश्यक कारबाहीको माग गरेका हुन्। गाउँपालिका अध्यक्ष कमलेशशरण चौधरीको अध्यक्षतामा बैठक बसी उपाध्यक्ष चौधरीमाथि कारबाही नहुँदासम्म गाउँपालिका र वडाहरूको काम कारबाही बन्द गर्ने निर्णय भएको छ।

गाउँपालिका अध्यक्ष चौधरीले हातपात गर्ने उप प्रमुख माथि कारबाही नभए सम्म गाउँपालिका र वडाका सेवा बन्द रहने बताए।

उता उप प्रमुख चौधरीले भने आफूले प्रमुख प्रशासकीय अधिकृतमाथि हातपात नगरेको दाबी गरेका छन्। आफू जिल्ला प्रहरी कार्यालयमा जाने काम परेकोले गाडीको चाबी माग्दा नदिए पछि भनभन मात्र भएको उनले बताए।

उनले टेबलमा भने आफूले हिर्काएको स्वीकार गरेका छन्। सुद्धोदन गाउँपालिका कर्मचारी टोलीले घटनाबारे जानकारी गराउँदै दोषीमाथि कारबाही गर्नु पर्ने प्रअिज शंकरहरि आचार्यसँग माग गरेका छन्।

टोलीले जिल्ला प्रहरी कार्यालयमा उप प्रमुख चौधरी विरुद्ध उजुरी समेत दिने बताएका छन् । प्रजिअ आचार्यले घटनामा दोषी देखिए कारबाही गरिने बताए।

गाउँपालिकामा उप प्रमुख र प्रमुख प्रशासकीय अधिकृत ज्ञवाली बिच मनमुटाब र विवाद हुँदै आएको छ। यस अघि पनि वडा नम्बर १ का अध्यक्ष तिलकराम यादव र उनका छोरा तथा उप प्रमुख बिच लेखा शाखामै हानाहान समेत भएको थियो। सो घटनामा भने मिलापत्र भएको थियो।

प्रतिक्रिया दिनुहोस्