शुद्धोधन गाउँपालिकाको आन्तरिक विवाद उत्कर्षमा !

अधिकार प्रत्यायोजनमा अंकुश कि दम्भ प्रदर्शन ?


पालिका पत्र

१९ कार्तिक २०८०, आईतवार १०:३४ मा प्रकाशित

कार्तिक १९ गते । कपिलवस्तुको शुद्धोधन गाउँपालिका भित्र अधिकार प्रत्यायोजनलाई लिएर उत्पन्न भएको विवादले उत्कर्ष रुप लिएको छ । पछिल्ला केहि महिनादेखि शुद्धोधन निकै बिवादित र अस्थिर रहँदै राजनैतिक प्रतिशोधको शीतयुद्ध नै चलेको सरोकारवाला बताउँछन् । शुद्धोधनमा जनप्रतिनिधि–जनप्रतिनिधि बीचमै र जनप्रतिनिधि र कर्मचारी बीच लामो समयदेखिको शीतयुद्धले पालिकावासीलाई सास्ती भएको छ ।

गत आर्थिक बर्षको अन्तिम समयमा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षबीच विवाद बढेदेखि हाल सम्म पनि आन्तरिक विवाद टुंगिएको छैन् । गाउँपालिकाले अनुगमन समितिको क्षेत्राधिकारमा फेरबदल गरेपछि गाउँपालिकाका अध्यक्ष कमलेश शरण चौधरी र उपाध्यक्ष होम प्रकाश चौधरीबीच विवाद बढेको थियो । गत असार २८ गते बसेको गाउँ कार्यपालिकाको बैठकले वडा अनुगमन समितिको अधिकार बढाउने निर्णय गरेको थियोे ।

निर्णयमा उल्लेख छ, ‘यस शुद्धोधन गाउँपालिका, कपिलवस्तुको आर्थिक वर्ष २०८०/८१ देखि वडामा सञ्चालन भएका वडा कार्यालयको लागि विनियोजन भएको बजेट रु १०,००,००० (दश लाख) रुपैयाँसम्मको योजना तथा कार्यक्रमहरुको अनुगमन वडा अनुगमन समितिले गर्ने र त्यस योजनाको सम्बन्धमा आवश्यक पर्ने सम्पूर्ण कागजात, प्राविधिक स्टिमेट, मुल्यांकन र अनुगमन प्रतिवेदनसहित वडाको सिफारिस अनुसारको गाउँपालिकामा प्राप्त भएपछि गाउँपालिकाले भुक्तानी दिने र कुनै कमी-कमजोरी भएमा वडा समितिले सम्पूर्णमा जिम्मेवारी लिने निर्णय गरियो ।’

गाउँ कार्यपालिका बैठकले १० लाखसम्मका योजनाको अनुगमन गर्ने अधिकार वडा अनुगमन समितिलाई दिएपछि विवाद चर्किएको श्रोतको भनाइ छ । कार्यपालिकाको बहुमतको दम्भमा उपाध्यक्षको हक अधिकार खोसेको भन्दै उपाध्यक्ष असन्तुष्ट रहेको श्रोतले जनाएको छ । असार २८ गतेको कार्यपालिका बैठकको निर्णय नम्बर ४ मा योजना अनुगमन सम्बन्धी भएको निर्णयमा स्वयम् उपाध्यक्ष चौधरीले हस्ताक्षर गरेका छन् । यद्यपि, आफूलाई अनुगमन समितिको अधिकारबाट बञ्चित गराउने बदनियतले सो निर्णय गरेको आरोप गाउँपालिकाका उपाध्यक्ष चौधरीको छ ।

वडा अनुगमन समितिले १० लाख रुपैयाँसम्मको अनुगमन गरेर प्रतिवेदन पठाएपछि भुक्तानी गर्ने कार्यपालिकाले निर्णय गरेको गाउँपालिकाका अध्यक्ष कमलेश शरण चौधरी बताउँछन् । उपाध्यक्षले अनुगमनको क्रममा व्यक्तिगत रिसिवी देखाएको आरोप उनको छ । वडाले काम सकेर फाइल पठाएपछि उपाध्यक्ष अनुगमनमा जान्न भन्नु उचित नहुने अध्यक्ष चौधरी बताउँछन् । अघिल्लो आर्थिक वर्षमा पाँच लाख रुपैयाँसम्मको अनुगमनको अधिकार वडा अनुगमन समितिलाई दिइएकोमा यस वर्ष थप गरिएको अध्यक्ष चौधरीले जिकिर गरे । उपाध्यक्षको व्यवहारका कारणले गर्दा उक्त निर्णय गर्न बाध्य भएको उनको भनाई छ ।

उक्त बिषयमा देखिएका कमी कमजोरी औंल्याउने जिम्मेवारी आफ्नो रहेको उपाध्यक्ष होम प्रकाश चौधरी बताउँछन् । ‘गलत भएमा काम राम्रो छैन भन्ने जिम्मेवारी र अधिकार मेरै हो,’ उनले भने । तर, वडाध्यक्षहरुले ’हाम्रो बजेटको काम किन रोक्नुहुन्छ’ भन्दै विरोध गर्ने गरेको उनले बताए । इमान्दारितासँग काम गर्दा आफ्नो अधिकार खोसिएको उनले दुखेसो पोखे ।

यता, गाउँपालिकामा प्रयोग हुने गाडी उपभोगले समेत विवादलाई थप मलजल गरेको छ । अध्यक्ष चौधरीले सरकारी सवारी साधन छाडेर निजी साधन प्रयोग गरिरहेका छन् । प्रमुख प्रशासकीय अधिकृत र प्रशासन शाखाका प्रमुखले नीजि गाडी प्रयोग गर्न पाइन्छ भनेकाले सो गरेको उनको जिकिर छ । गाडीको भाडा नलिने तर इन्धन र मर्मतको सेवा लिने सम्झौता गरे अनुसार गाउँपालिकाबाट रकम भुक्तानी हुने गरेको उनले बताए । पालिकाको सम्पूर्ण कामका साथै कर्मचारीलाई फिल्डमा छाड्न समेत नीजि गाडीको प्रयोग गरेको उनले जानकारी दिए । सवारी साधन प्रयोग गरेर पालिकाबाट भाडा लिएको भन्दै अख्तियारमा समेत उजुरी परेको श्रोतको भनाइ छ ।

तर, उपाध्यक्ष चौधरीले भने, गाडीमा भएको खर्चको विषयमा आफू जानकार नभएको प्रतिक्रिया दिन्छन् । ‘घरबाट पालिकामा र अनुगमन स्थलमा जान मात्र सरकारी गाडीको खर्च गरेको हो ।’ गाडीको मर्मत र तेल ड्राइभरले कहाँ लगेर कति हालेको आफूलाई थाहा नहुने उनी बताउँछन् ।

गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष, उपाध्यक्ष र वडाध्यक्षबीचको बिवाद हालसम्म पनि सुल्झिन सकेको छैन् । अध्यक्ष र उपाध्यक्षबीचको शीतयुद्धले शुद्धोधनको सिंगो सरकारलाई गिज्याइरहेको अवस्थामा प्रमुख प्रशासकीय अधिकृत र उपाध्यक्ष बीच बिहिबार अर्को बिवाद निम्तिएको छ । उपाध्यक्ष चौधरीले आफ्नो अधिकारमाथी धावा बोलेको भन्दै प्रशासकीय अधिृकत कृष्ण प्रसाद ज्ञवालीलाई दुई झापड हिर्काएको घटना बाहिरिए सँगै शुद्धोधनको बिवादले भाइरल रुप पाएको छ ।

यस घटनाप्रति जिल्लाभरका कर्मचारीको तिब्र असन्तुष्टि देखिएको छ भने प्रशासकीय अधिकृत ज्ञवाली प्रतिको दृष्टिकोणमा समेत प्रश्न उब्जिएका छन् । बिहिबार अर्थात कार्तिक १६ गते भएको घटनामा उपाध्यक्ष चौधरीले कार्यपालिकाको बहुमत दम्भमा आफ्नो हकाधिकार खोस्दै गएपछि आफ्नो र प्रमुख प्रशासकीय अधिकृत बीच भनाभन भएको प्रतिक्रिया दिएका छन् । उपाध्यक्ष स्वयम् आफु र अन्य जनप्रतिनिधि एवं कर्मचारी बीचको बिवाद लम्बिदै गएको उपाध्यक्ष चौधरीले स्वीकार गरेका छन् ।

उनले बिगतका दिनदेखि कार्यपालिकाको बहुमतको जोरमा आफु बिरुद्ध थुप्रै निर्णय मात्र नभई अदालतीय फैसला वा कार्यवाही गरेझैंं अन्य जनप्रतिनिधी र कर्मचारीले पदको दुरुपयोग गरेका आरोप लगाएका छन् । बिगतको आ.ब. २०७८/०७९ मा भौतिक पुर्वाधार लगायत अनेकौं कार्यक्रम तथा योजनामा फरक नर्म्सका आधारमा प्राबिधिक कर्मचारी र अनुगमनकर्ताको मिलोमतोमा रु १७,५०,३६०। (अक्षरुपी रु. १७ लाख ५० हजार ३ सय ६०) भुक्तान गरेको र सो को बेरुजु महालेखा परीक्षकको कार्यालयका अनुसार देखिएकोले त्यस्तो अनियमितता र भ्रष्टाचारलाई मध्यनजर गर्दै आफु कडा अनुगमनको साथ प्राबिधिक कर्मचारी र वडा अध्यक्षलाई त्यस्तो अनियमितता नगर्न/नगराउन भनी सल्लाह सुझाव दिदै गर्दा कार्यपालिकाको बहुमतको जोरमा मेरो अनुगमन गर्ने हकाधिकार खोसिएको उनले आफ्नै निजी सामाजिक सञ्जालमा लेखेका छन् ।

यस्तै उनले आ.ब. २०७९/०८० मा कार्यपालिकाको बहुमतको दम्भले स्थानीय सरकार संचालन ऐन २०७४ बिपरित ५ लाख सम्मको योजना तथा कार्यक्रमको रकम भुक्तानी उपाध्यक्षको अनुगमन बिना गर्न मिल्ने भनी निर्णय नभई कार्यवाही स्वरुप लिखित बँुदा पारित गरिएको समेत बताए । आव २०८०/०८१ को गाउँसभाबाट सो निर्णयलाई सच्याउन उपाध्यक्षले कार्यपालिकाको बैठकमा प्रस्तुत गरेता पनि कार्यपालिका/गाउँसभाको बहुमतले उल्टो रु. १० लाख सम्मको योजना तथा कार्यक्रमको रकम भुक्तानी उपाध्यक्षको अनुगमन बिना गर्न मिल्ने भनी निर्णय नभई कार्यवाही स्वरुप लिखित बुँदा गाउँसभाबाट पारित गरिएको प्रति उनको असन्तुष्टि छ ।

सो गाउँसभामा उपाध्यक्षलाई बाहिस्कार गरेझै कार्यपालिका सदस्य एवम् वडा नम्बर १ का वडा अध्यक्षले आ.ब. २०८०/०८१ को बजेट तथा कार्यक्रम प्रस्तुत गरेको समेत उनले जनाए । यो आर्थिक बर्षको बजेट सिलिङ अध्यक्षको भन्दा आधा र वडा अध्यक्ष सरह दिएर बिभेदीकरण गरि बजेट बाँडफाँड गरिएको र गाउँपालिका तथा वडा कार्यालयद्वारा संचालित योजना तथा कार्यक्रमको अनुगमनबारे समेत जानकारी नै नदिइ मनपरि अन्य जनप्रतिनिधि र कर्मचारीले गरेको उनले स्पष्ट पारे ।

प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद ज्ञवालीले बिगतका दिनदेखि कार्यपालिका सदस्य एवं पदाधिकारीद्वारा गाउँसभाबाट पारित गरेको योजना तथा कार्यक्रमहरु स्थानीय सरकार संचालन ऐन २०७४ बिपरित रकमान्तर गराउन सहयोग गर्दै आएको उनको भनाइ छ । बि.स. २०७८ मा संघीय मामिला तथा कानुन मन्त्रालयले निज अधिकृतको सरुवा गरि दिनेश गौडलाई शुद्धोधन गाउपालिकाको प्रमुख प्रशासकीय अधिकृत स्वरुप पठाउँदा पनि कृष्ण प्रसाद ज्ञवाली कार्यपालिकाको बहुमतको निर्णय गराइ दिनेश गौडलाई हाजिर हुन नदिने र आफू जान नखोजेको उपाध्यक्ष चौधरीले आरोप लगाए ।

उक्त बिवादलाई लिएर पालिकाको कामकाज ठप्प पार्दा स्थानिय युवाहरूले १७ दिनको तालाबन्दी पालिकामा गरेर दिनेश गौडलाई हाजिर गराएका थिए । प्रमुख प्रशासकीय अधिृकत कृष्ण प्रसाद ज्ञवाली पुनः २०७९ मा सरुवा गराइ शुद्धोधन गाउँपालिकामा आएका थिए । चालु आर्थिक बर्ष २०८० मा पनि ज्ञवालीको सरुवा भएपनि कार्यपालिकाको बहुमतको दम्भले अन्यत्र सरुवा हुन खोजेनन् । मन्त्रालयको पत्राचारलाई वेवास्ता गर्दै सरुवा भएर आउने प्रमुख प्रशासकीय अधिृकत सबिन सिङ् चौधरी र राकेश चौधरीलाई हाजिर हुन समेत नदिएको बताइएको छ ।

बिहिबार भएको घटनाबारे उपाध्यक्ष चौधरीले प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले प्रयोग गर्ने ब्याक लोडर चार पाङग्रे सवारी साधन कार्यालयको प्रयोजनको लागि आवश्यकता अनुसार प्राबिधिक कर्मचारी, सामाग्री ओसारपसार गर्नलाई कार्यालय सहयोगी, दशै तिहारको बेला शान्ति सुरक्षाको लागि नेपाल प्रहरी समेतले कार्यपालिकाको निर्णय बिना मौखिक आदेशमा प्रयोग भएको तर आफुले जिल्ला प्रहरी कार्यालय काम परेर छिटोभन्दा छिटो जानुपर्ने बाध्यताले ब्याक लोडर चार पाङग्रे सवारी साधन माग गर्दा गैरजिम्मेवारी तरिकाले “कार्यपालिकाको निर्णय लिएर आउनु” भनेर प्रतिउत्तर ज्ञवालीले दिएपछि सामान्य भनाभन मात्र भएको स्पष्ट पारेका छन् ।

यता, उपाध्यक्ष चौधरीलाई कारबाहीको माग गर्दै कर्मचारीले गाउँपालिकाको कामकाज ठप्प पारेका छन् । उपाध्यक्ष कुर्मीले प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीलाई बिहीबार कार्यकक्षमै हातपात गर्दै गालीगलौज गरेको घटना प्रति कर्मचारीले त्यसको विरोध गर्दै गाउँपालिका र ६ वटा वडा कार्यालयबाट हुने सेवा प्रवाह रोकेपछि सेवाग्राही मारमा परेका छन् ।

आफ्नै कार्यकक्षमा बसेर पत्रकारहरूसँग कुराकानी गर्दै गरेको अवस्थामा उपाध्यक्ष चौधरीले एक्कासि प्रवेश गरेर आफूलाई गालीगलौज र दुर्व्यवहार गर्दै हातपात गरेको प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले बताए । उपाध्यक्ष चौधरीले आफूलाई हातपात गर्ने, गालीगलौज र दुर्व्यवहार गरेको ज्ञवालीले बताए । उनले भने, ‘पत्रकारहरु र कर्मचारी साथीहरुकै अघि उपाध्यक्ष चौधरीले तथानाम गाली गर्दै नेम प्लेट र टेबलमा समेत हिर्काएर सिसा समेत फुटाए ।’

आन्तरिक विवादको मुल कारक तत्व सवारी साधन नै रहेको जिकिर उनको छ । असार महिनामा उपाध्यक्ष चौधरीले गाउँपालिकालाई फिर्ता गरेको गाडी पुनः उपभोग गर्ने सवालमा उनले यस्तो हर्कत गरेको ज्ञवाली बताउँछन् । उपाध्यक्ष चौधरीलाई गाडी मोह अत्यधिक रहेको समेत उनले बताए । फिर्ता गरेका आफ्नै कार्यकक्षमा आफूमाथि कुटपिट भएको भन्दै प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले त्यहाँ काम गर्न सक्ने स्थिति नरहेकाले सुरक्षाको माग गरेका छन् । प्राविधिक साथीहरु लगायत वडाध्यक्षहरुलाई समेत धम्की दिने, धर्काउने प्रबृत्ति उपाध्यक्ष चौधरीमा रहेको गम्भिर आरोप अधिकृत ज्ञवालीले लगाएका छन् ।

उता, जिल्ला प्रशासन कार्यालय कपिलवस्तुलाई पत्र लेख्दै उनले चौधरीलाई पक्राउ गरी आवश्यक कारबाहीको माग समेत गरेका छन् । कानुनी कारवाही नभए सम्म गाउँपालिका ठप्प रहने समेत उनको भनाइ छ । यस्तै, उनी माथि हातपात गर्ने उपाध्यक्ष होम प्रकाश चौधरीलाई कारबाही गर्नुपर्ने जिल्लाका १० पालिकाका प्रमुख प्रशासकीय अधिकृत र कर्मचारी सम्बद्ध ४ कर्मचारी ट्रेड युनियन सङ्गठनले माग गरेका छन् ।

कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यलाई छुट्टाछुट्टै भेट गरेर उनीहरुले घटनाको घोर भर्त्सना गर्दै ज्ञापन पत्र बुझाउँदै सो माग गरेका हुन् । बिहीबार दिउँसो बिना कारण प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष मै उपाध्यक्ष चौधरीले ज्ञवालीलाई गालीगलौज, दुब्र्यवार हातपात गरी भौतिक सम्पत्तिमा समेत क्षति पु¥याएकोले उनीहरुले दोषीमाथि कडा कारबाहीको माग गरेका हुन् ।

१० मध्ये नौ पालिकाका प्रमुख प्रशासकीय अधिकृत र जिल्ला समन्वय अधिकारी भुमिराम पोख्रेलले बुझाएको ज्ञापन पत्रमा बिभिन्न चुनौतीका बिच कार्य गर्नुपर्ने बाध्यताका बिच यस किसिमको आक्रमणले राष्ट्रसेवक कर्मचारीहरूको मनोबल खस्ने मात्र नभै त्रासको मनोबृत्तिले अपहेलित हुने जनाएका छन्। यस प्रकारको वातावरणमा कसरी काम गर्ने र सुरक्षाको प्रत्याभूति कसरी हुने भन्ने प्रश्न तेर्सिएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

ज्ञापन पत्रमा कपिलवस्तु नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश प्रसाद अर्याल, महाराजगन्ज नगरपालिकाका रवीन्द्र चौधरी, शिवराज नगरपालिकाका बाबुराम पौडेल, बुद्धभुमीका धु्रब प्रसाद नेपाल, कृष्णनगरका रमेश प्रसाद गौतम, बाणगंगा नगरपालिकाका भक्तिराम मरासिनी, शुद्धोधन गाउँपालिकाका कृष्ण प्रसाद ज्ञवाली, यशोधरा गाउँपालिकाका रामचन्द्र ढकाल, बिजयनगर गाउँपालिकाका शोभाराम रिजालको हस्ताक्षर रहेको छ।

नेपाल निजामती कर्मचारी सङ्गठनका अध्यक्ष प्रकाश गौतम, नेपाल कर्मचारी युनियनका अध्यक्ष झक बहादुर आले, नेपाल राष्ट्रिय कर्मचारी सङ्गठनका कार्यवाहक अध्यक्ष सन्देश पन्थी, नेपाल मधेसी निजामती कर्मचारी मञ्चका अध्यक्ष राजेन्द्र मिश्रले संयुक्त हस्ताक्षर गरेको ज्ञापन पत्रमा घटनाको घोर भर्त्सना गर्दै दोषीलाई कानुनी दायरामा ल्याई हदै सम्मको कारबाही गर्नु पर्ने माग गरेका छन । कर्मचारीलाई काम गर्ने वातावरण मिलाई दिन हुन उनीहरुले नेपाल सरकार समक्ष माग समेत गरेका छन् ।

कर्मचारीहरूकोे टोलीले प्रहरी उपरिक्षक नवरत्न पौडेललाई समेत भेटेर दोषीलाई तत्कालै पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाउनु पर्ने माग गरेका छन् । शुद्धोधन गाउँपालिकाको पछिल्ला गतिविधि प्रति भने स्थानीयले मिश्रित प्रतिक्रिया दिएका छन् । स्थानीय युवा प्रभुनाथ यादवले बहुमतको स्थानीय सरकारले योजना/कार्यक्रम चलाउन पाउने, निर्णय लिन र कार्यवाही गर्न पाउने, संयुक्तको हस्ताक्षरले नीति निर्माण र नियम पालना गराउन पाउने तर गाउँपालिकाको आफ्नै भवन बनाउन नसकिनु कारण चाहिँ के ? भन्दै प्रश्न गरेका छन् ।

स्थानीय युवा बिजय कुमार शुक्लाले प्रमुख प्रशासकीय अधिकृत प्रति कटाक्ष गरेका छन् । उनले अधिकृत ज्ञवालीले सेवाग्राहीका समस्यालाई वेवास्ता गर्दै कार्यकक्षमै जुवा खेलेको भन्दै सामाजिक सञ्जालमा कडा टिप्पणी गरेका छन् । संविधान र संघीयता रक्षाको बलियो आधारका रुपमा रहेको स्थानीय तहमा आउने विवादको निरुपण गर्दै सेवा प्रवाहलाई सरल बनाउनुपर्ने उनले माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्