धान प्रशोधनका लागि बनाएको अपुरो भवनमा सांसद पन्थीको चासो, यसै बर्ष सम्पन्न गर्ने प्रतिबद्धता


पालिका पत्र

२० कार्तिक २०८०, सोमबार १२:५४ मा प्रकाशित

कात्तिक, २० ।
कपिलवस्तुको बाणगङ्गा ८ धनेसपुरमा सान किसान कृषि सहकारीले धान प्रशोधनका लागि बनाएको अपुरो भवनमा लुम्बिनी प्रदेशका सांसद विष्णु पन्थीको ध्यान केन्द्रित भएको छ । विभिन्न मिडिया तथा सामाजिक सञ्जालमा समेत उत्त भवनको विषयमा कुरा उठ्न थालेपछि त्यस तर्फ सांसद पन्थीको ध्यान केन्द्रित भएको हो ।

सांसद पन्थीले काम थालनी गरेपछि पुर्ण गर्नु पर्छ भन्दै जनताको सेवाको लागि बनाउन थालिएको भवन अलपत्र हुनु दुःखद भएको बताए । उनले अहिले सम्म भएको खर्चको कुनै उपलब्धि नभएको भन्दै, आफ्नै पहलमा यसै आर्थिक वर्ष भित्र पूर्ण गरेर सञ्चालनमा ल्याउने बताए । पन्थीले प्रदेशबाट होस या अन्य निकाय सँग पहल गरेर होस यसै वर्ष भित्र सञ्चालनमा ल्याउने प्रतिबद्धता समेत जनाए । उनले चिन्ता व्यक्त गर्दै सामाजिक सञ्जालमा लेखेका छन्, कुनै काम ढंग सँग नगर्ने हाम्रो बानी कहिले र कसरी सुधार्ने हो रु के कसरी अलपत्र भयो यसमा आफू गम्भिर भएर लागेको उनको भनाई छ ।

साढे तिन कठ्ठा जग्गामा साना किसान कृषि सहकारीले बनाउने प्रयत्न गरेतापनि करिब ४ वर्ष हुदाँ सम्म अलपत्र अवस्थामा थियो । साना किसानले प्रति कठ्ठा १८ लाख लागत लगाएर जग्गा किनेको बताउँदै प्रधानमन्त्री कृषि आधुनिकीकरण र साना किसानको ३०, ३० लाख लागतमा सम्झैता भएता पनि त्यस अनुसार नभएकाले निर्माण सम्पन्न हुन नसकेको बताइन्छ ।

धान प्रशोधनका लागि बनाएको भवन अपुरो रहने र संस्थाको चार तल्ला भवन सम्पन्न भएको ३ वर्ष विति सक्दा सम्म पनि निर्माण सम्पन्न नहुदाँ निरास भएको स्थानियले बताएका छन् । यद्यपि सांसद पन्थीको ध्यान पुगेको छ, छिट्टै बन्नेमा आशावादी छौं, उनीहरूले भने ।

संस्थालाई प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले जम्मा १२ लाख ३ हजार ७४ रुपैयाँ भुक्तानी गरेको छ । उक्त सम्झौता बरिष्ठ कृषि अधिकृत भाष्कर पौडेलको पालामा भएको थियो ।

यता साना किसान कृषि सहकारी संस्थाले काममा ढिला सुस्ती गरेकाले सम्झौता अनुसारको भुक्तानी दिन नसकिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई धान सुपरजोन, कपिलवस्तुका बरिष्ठ कृषि अधिकृत सहसराम चौधरीले बताए । उनले भने “जत्ति काम भयो उत्ति भुक्तानी भयो ।” ‘साना किसान कृषि सहकारी संस्था भवन निमार्ण गर्न सक्ने अवस्थामा छ, तैपनि चासो दिदैन, सरकारले लगानी गरेको रकम यतिकै खेर गयो’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्