१९ वर्षीया जमुना, जसले भूकम्पमा श्रीमान् र गर्भको शिशु दुवै गुमाइन्


पालिका पत्र

२१ कार्तिक २०८०, मंगलवार १३:२९ मा प्रकाशित

बाँके, कात्तिक २१ । जमुना बुढामगर भर्खर १९ वर्षको हुनुभयो । केही दिनअघि गएको भूकम्पका कारण उहाँले श्रीमान् र पेटमा हुर्कँदै गरेको आठमहिने शिशुलाई गुमाउनुभयो । श्रीमान् र शिशुको वियोगमा जमुना एकसुरमा अस्पतालको भित्ता कोट्याइरहनुहुन्छ । भूकम्पबाट घाइते उहाँ अहिले नेपालगञ्जमा रहेको भेरी अस्पतालमा उपचाररत हुनुहुन्छ ।

जाजरकोटको नलगाढ नगरपालिका–६ भारगाउँकी जमुनाको गएको शुक्रवार राति गएको भूकम्पले संसार नै अँध्यारो बनाइदिएको छ । भूकम्पपीडितको व्यथा एउटै एउटै जस्तो देखिन्छ । तर जमुनालाई भने आफ्नो व्यथा अरुको भन्दा धेरै गहिरो लागेको छ । उहाँले आफ्नो जीवनसाथी र गर्भमा हुर्किँदै गरेको शिशुलाई गुमाएको चार दिन बितेको छ । बितेका चार दिनमा जमुनाको होस पूर्णरूपले फर्किएको छैन । श्रीमान् र गर्भमा रहेको शिशुलाई गुमाउँदाको पीडाले उहाँ अस्पतालको शय्यामा छटपटाइरहनुभएको छ ।

जमुना एकसुरमा कहिले राम्रैसित बोल्नुहुन्छ भने कतिबेला बोल्दै बोल्नुहुन्न । निकै कम बोल्नुहुन्छ । जतिबेला पनि पेट मुसार्दै गर्भमा रहेको बच्चालाई सुम्सुम्याउनुहुन्छ । जमुनाको यो अवस्था देखेर रेखदेख गर्न आउनुभएकी आमा पवित्रा छोरीले थाहा नपाउने गरी बेलाबेलामा पछ्यौराले मुख छोपेर भक्कानिहुन्छ ।

‘छोरीलाई पेटको बच्चा नरहेको कुरा हामीले उ होसमा आएपछि सुनायौँ । उसलाई थाहा छ । तर पनि उसले आमा मेरो नानीलाई त ठिकै छ नि भन्दै सोधिरहन्छे’, आमा पवित्राले भन्नुभयो, ‘एक्लै–एक्लै आफैँसँग कुरा गर्छे । कहिले राम्रै बोल्छे, कहिले बोल्दै बोल्दिनँ ।’ भूकम्पको पीडाले बेहोसी छोरीको होस फर्किए पनि सुरमा कुरा नगरेको देख्दा उहाँलाई छोरीको चिन्ताले सताइरहेको छ ।

शुक्रवार राति नै भूकम्पमा परि ज्वाइँ नवीन बुढाको घरले च्यापिएर ज्यान गएको खबर सुनेपछि गर्भवती छोरीलाई उद्धार गर्न सानीभेरी गाउँपालिका–९ रुकुम पश्चिमबाट जमुनाकी आमा पवित्रा खड्का मगर र बुबा भागिराम जाजरकोट पुग्नुभएको थियो । घरमा पुग्दा जमुना बेहोस अवस्थामा रहेको बुवा भागिरामले बताउनुभयो ।

‘हामीले त ज्वाइँसँगै छोरी पनि गुमायौँ भन्ने सोचेका थियौँ । उसको पेटको नानीलाई बचाउन नसकिए पनि छोरीलाई भने केही भएको रहेनछु, भेरी अस्पतालमा जमुनाको हेरचाहमा खटिनुभएका उहाँले भन्नुभयो । जमुनालाई जाजरकोटबाट नेपाली सेनाको हेलिकप्टरबाट चौरजहारीसम्म ल्याएको र त्यहाँबाट नेपालगञ्जसम्म जहाजमा ल्याएर आइतवार भेरी अस्पतालमा भर्ना गरिएको थियो । पेटभित्र मरेको शिशुलाई निकालिएको छ । शिशुको अन्तिम संस्कार नेपालगञ्जमा रहेको मसानघाटमा नै गरिएको बुबा भागिरामले बताउनुभयो ।

जमुनाको उद्धार गर्न जाजरकोट पुग्नुभएका भागीराम र उहाँकी पत्नीलाई आफ्नै घर भूकम्पले चर्किको खबर भारगाउँ पुगेपछि मात्र थाहा भयो । ‘हामीले त ज्वाइँ रहनुभएन भन्ने सुन्यौँ । गर्भवती छोरीको सास छ भन्ने थाहा पाउनासाथ हामी छोरी बचाउन जाजरकोट लाग्यौँ । त्यहाँ पुग्दै गर्दा बाटैमा थाहा पायौँ भूकम्पले हाम्रो पनि घर चर्किएछ ।’ दुवैजना शुक्रवार राति नै जमुनाको घर गएका थिए ।

अस्पतालमा छोरीलाई निको बनाएर घर लैजान भनी हेरचाह गर्न श्रीमानसँगै आउनुुभएकी आमा पवित्रा भन्नुहुन्छ, ‘जसको भाग्यमा जे भोग्न लेखिएको हुन्छ उसले त्यही भोग्नैपर्छ । हाम्रो छोरीको भाग्यमा यस्तै दुःख भोग्न लेखिएको थियो होला’, उहाँले भन्नुभयो, ‘अब छोरी चाँडै निको भइदिए हुन्थ्यो ।’

आमा पवित्राको भनाइअनुसार जमुनाको अरु सबै स्वास्थ्य अवस्था ठीक भए पनि कहिलेकाहीँ पेट र टाउको दुखिरहन्छ । भूकम्प जाँदा जमुनासँगै श्रीमान्, सासु, नन्द र दुई आमाजुसँगै एउटै घरमा खाना खाएर सुतेका थिए । भूकम्पले जमुनाका श्रीमान् र गर्भको शिशुलाई लगे पनि बाँकी अरु परिवारका सदस्यलाई भने सामान्य चोट लागेको छ । जमुनाका देवर र ससुरा भने मजदुरी गर्न भारत गएका छन् ।

भेरी अस्पतालमा जाजरकोट भूकम्पका कारण घाइते ४४ जनाको उपचार भइरहेको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताउनुभयो । उहाँका अनुसार भेरी अस्पतालमा भूकम्पमा परि घाइते भएका ४७ जनालाई ल्याइएको थियो । दुई जना निको भइ घर फर्किएका छन् भने एक जनाको उपचार गर्न अस्पताल ल्याउँदै गर्दा बाटैमा ज्यान गएको थियो । प्रजिअ पोखरेलले उपचाररत बिरामीको स्वास्थ्य अवस्था खतरामुक्त रहेको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्