प्राचिन कपिलवस्तु दरबार प्रवेश गेटको निर्माण सूरु


२१ कार्तिक २०८०, मंगलवार २१:०४ मा प्रकाशित

कार्तिक २१ गते । कपिलवस्तु सदरमुकाम तौलिहवामा प्राचिन कपिलवस्तु दरबार स्वागत द्धारको निर्माण कार्य सुरु गरिएको छ । कपिलवस्तुकै चिनारीका रुपमा रहेको महेन्द्र गेट स्वागतद्धारको झल्को दिने गरी उक्त द्धारको निर्माण कार्य सुरु गरिएको हो ।

तत्कालीन राजा महेन्द्र शाहको भ्रमणको क्रममा बिक्रम संबत २०१५ सालमा कृषि विकास बैक अघि निर्माण गरिएको महेन्द्र स्वागतद्धार (गेट) २ बर्ष अघि हु्लाकी राजमार्ग निर्माणको क्रममा भत्काइएको थियो । सो लगत्तै कपिलवस्तुबासीको माग अनुसार अहिले त्यही गेटको झल्को दिने गरी स्वागद्धार कपिलवस्तु नगरपालिकाका नगर प्रमुख सुदीप पौडेलले शिलान्यास गरेका छन् ।

अहिले कपिलवस्तु नगरपालिकाको अगाडी दुई मेडियनको बिचमा हुने गरी द्धारको निर्माण कार्य अघि बढाइएको हो । हुलाकी सडक अन्तर्गत नगरको वडा नम्बर २ र ३ छुने प्रवेश गेटलाई हुलाकी सडकको दुई मिडिनहरु बिचमा पिलरमा निर्माण गरिने छ ।

गेटका दुई पिलर बिचको चौडाई १० मिटरको रहने छ । २ मिटर गहिराईको पिलरमा निर्माण हुने गेटको दुबै तर्फ ५ दशमलब ७० सेन्टिमिटर र बिचमा ८ दशमलव ६२ मिटरको उचाई दिई पुरानै महेन्द्र गेटझंै देखिने गरि निर्माण कार्य अगाडी बढाईने कपिलवस्तु नगरपालिकाका ईन्जिनियर राजेश कुमार शैनीले जानकारी दिए ।

निर्माण सम्पन्न गर्नका लागी ४४ लाख ५६ हजार ७ सय ३७ रुपैया रकममा २०८० असार १५ गते सम्झौता गरिएको निर्माण कार्य यहि मंसिर १५ गते सम्म पुरा गर्नु पर्ने समय सिमा तोकिएको छ । गेट निर्माण कार्यको ठेक्का खाडाचक्र १ कालिकोटको निर्माण व्यवसायी कम्पनी सन्देश निर्माण सेवाले पाएको छ ।

कपिलवस्तुको चिनारी र जिल्लाबासीकै माग अनुसार ईतिहासलाई जिवन्त राख्न पुरानै स्वरुपमा गेट निर्माण थालिएको नगरप्रमुख पौडेलले बताए । यद्यपि महेन्द्र गेटको नाम परिवर्तन गरी प्राचिन कपिलवस्तु दरबार स्वागतद्धार राखिने उनले बताए । ‘महेन्द्र गेटको झल्को अझै पनि सबैमो मानसपलटमा छ, त्यही कुरा जीवन्त राख्न गेट निर्माण सुरु गरिएको हो ’ उनले भने ।

शिलान्यास कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत गणेश प्रसाद अर्याल, वडा नम्बर १ का अध्यक्ष जाहिद खा, ३ का अध्यक्ष प्रकाश गैरे, ४ का अध्यक्ष रबिन्द्र तिवारी, ५ का अध्यक्ष दिरेप कुमार चौधरी, ९ का अध्यक्ष दिपक गुरुङ र ११ का अध्यक्ष रामगोपाल यादव सहित जनप्रतिनिधी र कर्मचारीहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्