भूकम्प प्रभावितको प्रतिकार्यमा कपिलवस्तुका स्थानीय सरकार


२२ कार्तिक २०८०, बुधबार २१:५७ मा प्रकाशित

कार्तिक २३ गते । कपिलवस्तुका स्थानीय तह र जनप्रतिनिधीहरु भूकम्प प्रभावितहरूको प्रतिकार्यमा जुटेका छन् । जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितका लागि यहाँका अधिकांश स्थानीय सरकारले तदारुकता देखाउँदै लाखौंको रकम, खाद्यान्न तथा लत्ताकपडा ब्यवस्थापनका लागि सहयोग गरेका छन् ।

जिल्लाका पाँच नगरपालिकाहरु बाणगंगा, कपिलवस्तु, बुद्धभूमि, कृष्णनगर र शिवराज नगरपालिकाले भूकम्प प्रभावितहरुको प्रतिकार्यका लागि २५ लाख बढिको राहत सहयोग गरेका छन् । उक्त स्थानीय तहहरुले ५/५ लाखका दरले आर्थिक सहयोग गर्ने निर्णय गरेका हुन् ।

सम्बन्धीत पालिकाका कार्यपालिकाको बैठक बसी नगरपालिकाको कोषबाट सो रकम दिने निर्णय गरिएको बताइएको छ । भूकम्प प्रभावित क्षेत्रमा खोज, उद्धार, राहत, उपचार, पुर्नस्थापना लगायतका कार्यमा सहयोग गर्न उक्त रकम दिने निर्णय भएको हो ।

बाणगंगा नगरपालिकाले ५ लाख, कपिलवस्तु नगरपालिकाले ५ लाख, कृष्णनगर नगरपालिकाले ५ लाख, बुद्धभुमि नगरपालिकाले ५ लाख ५ हजार ५५ रकम सहयोग गर्ने निर्णय गरेका छन् । यद्यपि, शिवराज नगरले भने करिब ७ लाख बढिको राहत हस्तान्तरण गर्ने जनाइएको छ ।

कपिलवस्तु नगरपालिकाले भूकम्प प्रभावितलाई नगद, जिन्सी तथा खाद्यान्न सहयोगका लागि सम्पूर्ण कपिलवस्तुबासीलाई आह्वान समेत गरेको छ । कपिलवस्तु नगरपालिकाका नगर प्रमुख सुदीप पौडेलले भुकम्पमा ज्यान गुमाएका प्रति श्रद्धाञ्जली र घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै सबैलाई सक्दो सहयोग गर्न अपील गरेका छन् ।

उता, आफुहरुले बिपद् कोषबाट सो रकम सहयोग गर्ने निर्णय गरेको भन्दै बुद्धभुमि नगरपालिकाका नगर प्रमुख केशवकुमार श्रेष्ठले यस्तो बिपदको बेला सबैले हातेमालो गर्नुपर्ने बताए । प्राकृतिक विपत्तिको बेला एक नेपालीले अर्को नेपालीको घाउमा मलम लगाउनु पर्छ भन्ने भावले सहयोग गर्ने निर्णय गरेको श्रेष्ठले बताए ।

बाणगंगा नगरपालिकाले भने शनिबार बसेको कार्यपालिका बैठकले ५ लाख रुपैयाँ सहयोग गर्ने निणर्य गरेको नगर प्रवक्ता विष्णु प्रसाद पौडेलले पालिका पत्रलाई जानकारी दिए । उक्त रकम नगर विपद् कोषबाट निकासा गरी दिइने उनको भनाइ छ । पिडाको अवस्थामा भूकम्प पिडितहरुलाई हामी सबै तपाईको साथमा छौ भन्ने महसुस गराउन यहाँका स्थानिय तहले भूकम्प प्रभावितहरुलाइ सहयोग गर्ने निर्णय गरेको बाणगंगा नगरपालिकाका प्रमुख चक्रपाणी अर्यालले बताए ।

यस्तै बुधबार मात्रै कृष्णनगर नगरपालिकाको कार्यपालिकाको बैठकले भूकम्प प्रभावितहरुका लागि ५ लाख सहयोग गर्ने निर्णय गरेको छ । बैठकले भुकम्पमा ज्यान गुमाएका प्रति श्रद्दान्जली र घाइते को शिघ्र स्वास्थ्य लाभको कामना गर्ने समेत निर्णय गरिएको नगरप्रमुख रजत प्रताप शाहले बताए ।

यस्तै, शिवराज नगरपालिका नगरप्रमुख अजय थापा बुधबार साँझ न्यानो कम्बल र चिउरा बोकेर जाजरकोट प्रस्थान गरेका छन् । भुकम्प प्रभावितलाई सहयोग गर्नको लागि राहत सामाग्री लिएर उनी त्यसतर्फ हिडेका हुन् ।

कार्यपालिकाको निर्णय अनुसार शिवराज नगरपालिका जनप्रतिनिधिको ३ दिनको (तलब) नगरपालिका भित्रका कार्यरत शिक्षक, स्वास्थ्यकर्मी र नगर कर्मचारीहरुको १ दिनको तलब उठाई सात लाख बराबरको राहत साम्रागी हस्तान्तरण गरिने प्रमुख थापाले बताए ।

थापाका अनुसार ३ सय थान न्यानो कम्बल र ५ किलोको दरले २५० पोका चिउरा सहितको प्रदान गरिने भएको छ । अन्य पालिकाले नगरपालिकाको कोषबाट राहत दिने निर्णय गरेपनि शिवराजले सेवा सुविधालाई कटौती गरेर राहत दिने निर्णय गरेको थापाको भनाई छ ।

मेयर थापा सहित वडा अध्यक्ष टेकलाल सापकोटा, खिम बिक्रम केसी, रिजवान मुसलमान, राम गोपाल चौधरी सहित ७ जनाको टोली जाजरकोटको लागि हिडेको छ ।

प्रतिक्रिया दिनुहोस्