सामान्य तवरले पर्वहरु मान्ने परिपाटीको सुरुवात गर्न बुद्धभूमिको आग्रह


पालिका पत्र

२३ कार्तिक २०८०, बिहीबार १८:३७ मा प्रकाशित


कात्तिक, २३ ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिकाले शुभ दिपावली, नेपाल सम्वत् तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ । नगरपालिकाले उक्त कार्यक्रम विहिबार हनुमानचोक बुड्ढीमा सम्पन्न गरेको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेश सांसद नवराज लामिछानेले चाडपर्वहरुको शुभकामना दिदैं यस्ता पर्वहरुले जीवनमा थप उर्जा थप्ने विश्वास व्यक्त गरे । एकआपसमा भाईचाराको सम्बन्ध निर्माण गर्न यस्ता पर्वहरुको विशेष महत्व रहेको उनले बताए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका प्रदेश सांसद लामिछानेले विकासको अथाह सम्भावना बोकेको बुद्धभूमिलाई नमुना पालिकाको रुपमा स्थापित गर्न सबै सरोकारवालाहरुलाई सकारात्मक भूमिका निर्वाह गर्न आग्रह समेत गरे ।

नगरप्रमुख केशव कुमार श्रेष्ठले पछिल्लो समय परम्परागत रुपमा मान्दै आएका पर्वहरुका नाममा विकृति मौलाएको भन्दै चिन्ता व्यक्त गरे । पर्वहरु बनाउँदा अनावश्यक तडकभडक नगर्न आग्रह गर्दै उनले भने, ‘सभ्य समाज निर्माण गर्ने दिशातर्फ सबै उन्मुख हौं ।’ सामान्य तवरले पर्वहरु मान्ने परिपाटीको सुरुवात गर्न उनले अपिल समेत गरे ।

प्रमुख प्रशासकिय अधिकृत ध्रुब प्रसाद नेपालको स्वागत मन्तव्य रहेको उक्त कार्यक्रममा राजनितिज्ञ विष्णु हरि शर्मा, पिताम्बर खनाल, ईन्द्रमणी पौडेल, माधन दमासे, वडा नं.५ का वडाध्यक्ष रोमबहादुर थापा क्षेत्री, उद्योग बाणिज्य संघ बुद्धभूमिका अध्यक्ष शुभलाल भुसाल लगायतले दिपावली, नेपाल सम्वत् तथा छठ पर्वको अवसरमा शुभकामना दिएका थिए ।

कार्यक्रममा उपप्रमुख मिरा थारुसहित वडाध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य, कर्मचारी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम योजना तथा अनुगमन उप शाखाका नबिन खनालको संचालनमा सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्