कपिलवस्तु महोत्सव ५० प्रतिशत स्टल बुकिङ्ग: स्टल संयोजक थापा


पालिका पत्र

५ मंसिर २०८०, मंगलवार १६:२५ मा प्रकाशित


जितपुर, ०५ मंसिर ।
कपिलवस्तु चारनम्बर स्थित बाणगंगा वेयलफेयर सोसाइटीको आयोजनामा हुने १४ औं कपिलवस्तु महोत्सव कृषि पर्यटन तथा औद्योगिक प्रदर्शनी–२०८० को लागि स्टल बुकिङ्गको कार्यले तीव्रता पाएको छ ।

यही मंसिर २१ गतेदेखि पुष १ गतेसम्म आयोजना १४ औं कपिलवस्तु महोत्सव एवम् कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनीमा स्टल बुकिङ्ग तीव्र पारिएको र ५० प्रतिशत स्टल बुकिङ्ग भइसकेको स्टल संयोजक मिन थापाले बताए ।

‘युवा स्वरोजगारको बलियो आधार उद्योग पर्यटन र कृषि क्षेत्रको प्रचार प्रसार र प्रवद्र्धनमा प्रोत्साहन’ भन्ने नाराका साथ महोत्सव बाणगंगा ४ स्थित बुद्धरंगशालामा हुँदैं छ । स्टल निर्माणको काम धमाधम हुँदै गरेको र बुकिङ्गको काम धमाधम भईरहेको स्टल संयोजक थापाले जानकारी दिए । औद्योगिक तथा व्यवसायिक वस्तु तथा सेवाहरुको विक्रि तथा प्रवद्र्धनको उद्देश्य राखि स्टल बुकिङ्गको काम भईरहेको उनले बताए ।

स्टलमा विशेष गरि स्थानीय उत्पादनलाई प्राथमिकता दिइने उनले बताए । थापाले महोत्सवमा तीन सय बढी स्टल रहने जसमध्ये व्यवसायिक १ सय ८०, कृषिका स्टल २० बढी, घरेलुका स्टल ५० बढी र विभिन्न प्रदर्शनका स्टल ५० बढी राखिने बताए ।

थापाले महोत्सब नाफा मात्रै कमाउने थलोको रुपमा नभएर स्थानिय उत्पादलाई प्रोत्साहन गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको बताए ।

उनले संकटमा परेको यस क्षेत्रको अर्थतन्त्रलाई उकास्न महोत्सव महत्वपूर्ण सावित हुने दाबी गरे । यस क्षेत्रको समग्र पहिचान झल्किने गरि महोत्सव स्थलमा पुरातात्विक सम्पदा, धार्मिक, पर्यटकीय स्थलको प्रवर्द्धन गर्ने गरि स्टलहरुको काम भईरहेको थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्