खाद्यमा नागरिकको पहुँच सुनिश्चित गर्न रणनीतिक योजना तर्जुमा गर्दै बाणगङ्गा  


पालिका पत्र

६ मंसिर २०८०, बुधबार २०:४६ मा प्रकाशित

बाणगङ्गा, मंसिर ०६ ।

 खाद्यमा नागरिकको पहुँच सुनिश्चित गर्न कपिलवस्तुको बाणगङ्गा नगरपालिकाले  खाद्यअधिकार तथा खाद्य प्रणाली रणनीतिक योजना बनाउन सुरु गरेको छ । खाद्य अधिकार तथा खाद्य प्रणाली रणनीतिका योजनाको मस्यौदा निर्माण गर्न नगरपालिकाका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत तथा अन्य कर्मचारीहरू र सरोकारवालाहरूको सहभागितामा रणनीतिक योजना निर्माण गर्न आज बुधबार देखि तालिम तथा छलफल सुरु भएको हो । कार्यक्रमको उद्घाटन गर्दै राष्ट्रिय योजना आयोगका सदस्य डा। जयकान्त यादवले हरेक स्थानीय तहमा खाद्य अधिकार सुनिश्चित गर्न यो कार्यक्रम सुरु गरिएको जानकारी दिए ।

यस्तै कार्यक्रममा विश्व खाद्य कार्यक्रमका कन्ट्रि डाइरेक्टर निल्स ब्लेजरले खाद्य सुरक्षाका लागि सबै सरोकारवालाहरू एक भएर लाग्नुपर्नेमा जोड दिए ।
कृषि तथा भूमि व्यवस्था मन्त्रालय लुम्बिनी प्रदेशका उपसचिव एवं खाद्य सुरक्षा तथा कृषि व्यवसाय प्रबर्द्धन महाशाखा प्रमुख शाखा प्रमुख  घनश्याम चौधरीले यो कार्यक्रम सुरुवाती चरणमा ७ वटै प्रदेशको एक/एक स्थानीय तह छनौट गरी सञ्चालन गरेको  बताए ।

यता कार्यक्रममा बोल्दै नगर प्रमुख चक्रपाणी अर्यालले लुम्बिनी प्रदेश मै बाणगङ्गा नगरपालिका यस कार्यक्रमका लागि  छनौट भएकोमा गर्भ महसुस भएको भन्दै सक्रियताका साथ लागि पर्ने जनाए । उनले खाद्य अधिकारलाई अब नगरपालिकाले आगामी निती तथा कार्यक्रममै समावेश गर्दै जाने उल्लेख गरे ।

यस्तै कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले रणनीतिक योजना निमार्ण गरि कार्यान्वयनमा सबै सरोकारवालाहरूको साझा प्रतिबद्धता आवश्यक रहेकोमा जोड दिए । खाद्य असुरक्षाको उच्च सूचकबाट न्यून सूचक तर्फ आउन सबै सरोकारवालाहरूको पहलकदमी हुन आवश्यक रहेको उनले औँल्याए ।

राष्ट्रिय योजना आयोगको खाद्य प्रणाली निर्देशक समितिले खाद्य प्रणाली रूपान्तरणका लागि स्थानीयस्तरमा सञ्चालन गर्न नमुना परीक्षणको लागि लुम्बिनी प्रदेशबाट कपिलवस्तुको बाणगङ्गा नगरपालिकमा छनौट भएको हो ।  विशेष गरेर खाद्य अधिकार, खाद्य सम्प्रभुता, खाद्य सुरक्षा र खाद्य प्रणालीको अवधारण, ऐनका प्रावधानहरू, कार्यान्वयनको अवस्था सो सम्बन्धी रणनीतिक योजना निर्माण लगायतका सम्बन्धमा तालिम सञ्चालन भएको हो । तालिममा खाद्य प्रणालीको विषयवस्तुमा विश्व खाद्य सङ्गठनका पुष्प श्रेष्ठ, चन्द्र थापा र संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि कार्यक्रमका महेश खरेलले सहजिकरण गरेका छन् ।


बाणगङ्गा नगरपालिका, कृषि तथा भूमि व्यवस्था मन्त्रालय लुम्बिनी प्रदेश र राष्ट्रिय योजना आयोगको संयुक्त आयोजना तथा  विश्व खाद्य कार्यक्रम र संयुक्त राष्ट्र सङ्घको खाद्य र कृषि सङ्गठनको प्राविधिक सहयोगमा कार्यक्रम गरिएको हो ।  तालिममा बाणगङ्गाका निर्वाचित सबै वडाका वडाध्यक्षहरू, शाखागत प्रमुखहरू, कृषि ज्ञान केन्द्र,  प्रधानमन्त्री आधुनिकीकरण परियोजना , उद्योग वाणिज्य संघ, सहकारीका प्रतिनिधि, अगुवा कृषक, कृषक समूहका प्रतिनिधि र पत्रकारहरूको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्