तानसेनमा च्याउ खेती गर्नेलाई बिनाधितो १५ लाख ऋणः पालिकाभित्र २०० जनालाई रोजगारी


पालिका पत्र

११ मंसिर २०८०, सोमबार १९:०६ मा प्रकाशित

पाल्पा, मंसिर ११ । तानसेन नगरपालिकाले स्थानीयको आयआर्जनको लागि च्याउ खेतीलाई प्रोत्साहन गर्दै रोजगारीमा जोड दिएको छ । पछिल्लो समय नगरपालिकाले च्याउ खेती प्रवर्द्धनमा जोड दिएसँगै किसानहरू आकर्षित भएका छन् । मनग्य आम्दानी बढेसँगै स्थानीय आकर्षित भएका हुन् ।

पछिल्लो समय ४० जनाले व्यावसायिक रुपमा च्याउ खेती गर्दै आएका छन् । स्थानीय बासिन्दासँगै छिमेकी पालिकाका कृषकले पनि जग्गा भाडामा लिएर नगरपालिका क्षेत्रमा च्याउ खेती गर्दै कृषि शाखाका प्रमुख सरोज तिमिल्सेनाले बताए ।

च्याउँ खेतीबाट स्थानीय ले रोजगारीसमेत पाएका उनको भनाइ छ । ‘छिमेकी पालिकाका किसानले पनि यहाँ च्याउ खेती गर्दै आउनु भएको छ,’ उनले भने, ‘व्यावसायिक रुपमा तीन थरीका च्याउ खेती गरिँदै आएको छ ।’

उनका अनुसार पालिकाभित्र उत्पादित च्याउ प्रतिकेजी २०० रुपैयाँदेखि ६०० रुपैयाँसम्म बिक्री हुँदै आएको छ । ुसिजन अनुसार च्याउको मूल्य निर्धारण हुने गर्दछ । च्याउको प्रजातिअनुसार २०० देखि ६०० रुपैयाँ मूल्यमा विक्री हुँदै आएको छ,ु उनले भने ।

च्याउ खेती गर्ने व्यवसायिक किसानले कामदार राख्दा स्थानीयले रोजगार पनि पाएका छन् । उनले भने, ‘करिब २०० जना स्थानीय बासिन्दाले च्याउ खेतीबाट प्रत्यक्ष रुपमा रोजगारी पाउनु भएको छ । साथै अप्रत्यक्ष रुपमा पनि रोजगारी पाउनु भएको छ ।’

नगरपालिकाभित्रबाट वार्षिक रुपमा २० देखि २५ टन च्याउ उत्पादन हुँदै आएको उनले सुनाए । पालिकाभित्र उत्पादित च्याउ बुटवल बजार, तानसेन बजार, चितवन र काठमाडौंमा बिक्री हुँदै आएको उनको भनाइ छ । नगरपालिकाको समन्वयमा व्यापारीले च्याउ खरिद गर्दै आएको उनले सुनाए ।

पालिकाभित्र उत्पादित सामग्रीको बजारीकरणका लागि नगरपालिकाले व्यापारीसँग सम्पर्क गर्दै आएको उनले सुनाए । नगरपालिकाले च्याउको बजारीकरणको लागि व्यापारी र कृषकको सम्पर्क गराउँदै आएको उनले बताए । साथै नगरपालिकाले च्याउको बजारीकरणका लागि स्थानीय बासिन्दाका लागि सूचना जारी गर्दै आएको उनले सुनाए ।

वैदेशिक रोजगारीबाट फर्केका युवाले समेत पछिल्लो समय च्याउ खेती गर्दै आएको उनले जानकारी दिए । च्याउ खेतीमा आकर्षण बढाउनका लागि नगरपालिकाले पकेट कार्यक्रम सञ्चालन गर्दै आएको उनको भनाइ छ । ‘हामीले गत आर्थिक वर्षमा च्याउको लागि पकेट कार्यक्रम सञ्चालन गरेका थियौँ । यो वर्ष पनि बजेट विनियोजन गरेको छ,’ उनले भने, ‘पकेट कार्यक्रमबाट स्थानीयलाई तालिम, अनुदानमा सामग्री तथा प्राविधिक सहयोग गर्दै आएका छौँ ।’

उनका अनुसार नगरपालिकाले च्याउ खेतीको लागि उन्नत जातको बीउ, प्लाष्टिक तथा आवश्यक सामग्रीहरु अनुदानमा वितरण गर्दै आएको छ । साथै, आवश्यकताको आधारमा नगरपालिकाको प्राविधिक टोलीले परामर्शसमेत दिँदै आएको उनले सुनाए ।

पकेट कार्यक्रमबाट च्याउ खेतीको उत्पादनदेखि बजारीकरणसम्म सहयोग गर्दै आएको उनले सुनाए । च्याउ खेतीका लागि नगरपालिकाले चालु आर्थिक वर्षमा ७ लाख रुपैयँ बजेट विनियोजन गरेको छ ।

व्यावसायिक खेती गर्ने स्थानीय बासिन्दालाई नगरपालिकाले बिनाधितो ऋणको व्यवस्थापन गर्दै आएको उनले सुनाए । उनले भने, ‘नगरपालिका धितामा बसेर सस्तो व्याजदरमा व्यवसायीलाई ऋण उपलब्ध गराउँदै आएको छ । नगरपालिकाले समन्वय गरी बैंकले १० देखि १५ लाख रुपैयाँसम्म ऋण उपलब्ध गराउँदै आएको छ ।’

नगरपालिकामा च्याउ खेतीसँगै व्यावसायिक रुपमा तरकारी, मौरी पालन, आलु खेती तथा फूल खेती गर्दै आएको उनले सुनाए । उनका अनुसार करिब ५०० जना स्थानीय बासिन्दाले व्यावसायिक रुपमा मौरी पालन गर्दै आएका छन् ।

व्यावसायिक खेतीबाट नगरपालका दूध, मासु, फलफूल तथा तरकारीमा आत्मनिर्भर भएको उनले सुनाए । पशु पालनमा आकर्षण बढाउनका लागि नगरपालिकाले प्रति लिटर दूधमा २ रुपैयाँ अनुदान दिँदै आएको उनले बताए ।

अदुवा खेतीको सहजताको लागि कोल्ड स्टोर सञ्चालनमा ल्याएको उनले सुनाए । कोल्ड स्टोरमा राखेसँगै अदुवाको संरक्षण हुने उनको भनाइ छ ।

उनका अनुसार नगरपालिकाभित्र करिब चार हजार ५०० परिवारले कृषिलाई नै मूल पेशाको रुपमा लिँदै आएको छ । नगरपालिकाले चालु आर्थिक वर्षमा कृषि र पशुको लागि एक करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्