महिला स्वास्थ्य स्वयंसेविकाको प्रभावकारिता र भूमिका बढ्दो


पालिका पत्र

२० मंसिर २०८०, बुधबार ०८:३४ मा प्रकाशित


बाणगङ्गा, मंसिर २० । 
२०औं महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा बाणगङ्गा नगरपालिकाका ११ जना महिला स्वास्थ्य स्वयंसेविका सम्मानित भए । ११ वटा वडा रहेको बाणगंगाले प्रत्यक वडा बाट स्वास्थ्य क्षेत्रमा स्वयंसेविकाले पुर्याएको योगदानको कदर गर्दै सम्मानित गरेको हो । 


उनीहरूलाई नगद ५ हजार रुपैयाँसहित दोसल्ला र प्रमाण पत्रले सम्मान गरिएको हो । नगरप्रमुख चक्रपाणी अर्याल, उपप्रमुख रिताकुमारी चौधरी र प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले संयुक्त रुपमा ११ जना महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान गरेका हुन् । बाणगङ्गा नगरपालिकामा जम्मा ११२ जना स्वास्थ्य स्वयंसेविका छन् । उनीहरुको कार्य शैलीलाई मूल्याङ्कन गरि सम्मान गरिएको स्वास्थ्य शाखा प्रमुख पौडेलले बताए ।


नगरप्रमुख चक्रपाणी अर्यालले महिला स्वास्थ्य स्वयंसेविकाको नगरले उच्च मूल्याङ्कन गरेको बताए । स्वयंसेविकालाई नगरले विगतदेखि नै प्रोत्साहन स्वरुप विभिन्न काम गर्दै आएको बताउँदै उनले भने, ‘‘समित स्रोत र साधनले गर्दा चाहे जति गर्न सकिएको छैन् ।” उनले विभिन्न महामारीको नियन्त्रणदेखि खोप कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गर्न स्वास्थ्य स्वयंसेविकाले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । स्वास्थ्य स्वयंसेविकालाई नगरपालिकाले पारिवारिक सदस्यको रुपमा सम्झने गरेको उनको भनाई छ । 


उपप्रमुख रिता कुमारी चौधरीले महिला स्वास्थ्य स्वयंसेविका विना स्वास्थ्य बाणगङ्गा नगरपालिका स्थापित गर्न नसकिने बताइन् । उनले नगरमा स्वास्थ्य स्वयंसेविकाको लागी कोष स्थापना गरेको बताइन् । उनले यो बर्ष बाणगंगाका कोही पनि जनप्रतिनिधि भ्रमणमा नजाने बताइन् १ उनले स्वास्थ्य स्वयंसेविकालाई अवलोकन भ्रमणका लागी आगामी आर्थिक वर्षमा रकम विनियोजन गर्ने योजना रहेको सुनाइन् । 


प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले दिवसको शुभकामना दिदैँ बाणगंगाका स्वास्थ्य स्वयंसेविकाको काम प्रशंसनीय रहेको बताए । उनले स्वास्थ्य स्वयंसेविका भइसकेपछि गाउँघरमा स्वास्थ्यका सवालमा जीवनशैली बदलिएको बताए । हरेक वर्ष पाँच डिसेम्बरमा पर्ने अन्तर्राष्ट्रिय स्वयंसेवक दिवसको दिनलाई नै नेपालमा राष्ट्रिय महिला स्वास्थ्य स्वयंसेवक दिवसका रूपमा मनाउने गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्