बुद्धभूमिमा ७ औँ मेयर कपः खेलाडीलाई अनुशासित भई खेल्न मेयर श्रेष्ठको सुझाव


पालिका पत्र

२८ मंसिर २०८०, बिहीबार २२:१६ मा प्रकाशित

बुद्धभूमि, मंसिर २८। बुद्धभूमि नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठले हरेक खेल खेल्ने खेलाडीले अनुशासन पालना गर्नुपर्नेमा जोड दिएका छन् । वडा नम्बर १ को नर्सरी रङ्गशालामा विहिवारबाट सुरु भएको ७ औँ मेयर कप फुटबल प्रतियोगिताको उद्घाटन सत्रलाई सम्बोधन गर्दै नगर प्रमुख श्रेष्ठले खेलमा अनुशासन सबैभन्दा महत्वपूर्ण रहेको बताएका हुन् । खेल खेल्दा हरेक खेलाडीले जित भन्दा अवसरलाई प्रमुखता दिएमा आफै अनुशासन कायम हुने बताए । मेयर कप मार्फत नगरले हरेक वर्ष फुटबल खेलमार्फत खेलाडी उत्पादन गर्दै आएको बताउँदै मेयर श्रेष्ठले खेलमा प्रतिस्पर्धा भए पनि जित नै सबै कुरा नभएको बताए ।


पछिल्लो समय बुद्धभूमि नगरपालिकाले खेलको बजेटमा वृद्धि गरेको बताउँदै अब हरेक वडामा सुविधासम्पन्न खेल मैदान बन्ने दावी गरे । वीरपुरमा रहेको नर्सरी खेल मैदानमा नगरले अहिले सानो प्याराफिट नै बनाएको छ । प्याराफिटबाट खेल हेर्दा त्यहाँका खेलाडी र विद्यार्थीले नौलो खालको अनुभव रहेको बताए ।


नगर खेलकुद विकास समितिका अध्यक्ष थम प्रताप थापाको अध्यक्षता, मेयर श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा वडा नम्बर ३ का वडा अध्यक्ष गोविन्द प्रसाद आचार्यले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत ध्रुव प्रसाद नेपाल, वडा नम्बर १ का वडा अध्यक्ष तेज प्रसाद बस्नेत, २ का वडा अध्यक्ष सुरज प्रताप राणा लगायतको सहभागिता थियो । ४ दिनसम्म चल्ने मेयर कपको उद्घाटनमा वडा नम्बर ९ र ५ भिडेका थिए । जसमा वडा नम्बर ५ बिजयी भएको छ ।

प्रतिक्रिया दिनुहोस्