जिल्लाकै घाँसको स्रोत केन्द्र शान्ति कृषि तथा पशु फर्म कपिलवस्तु महोत्सवमा


पालिका पत्र

२९ मंसिर २०८०, शुक्रबार १३:५० मा प्रकाशित


कपिलवस्तु, मंसिर २९ ।
जिल्लाकै घाँसको स्रोत केन्द्र, शान्ति कृषि तथा पशु फर्मले कपिलवस्तु महोत्सवमा विभिन्न जातका घाँसका बेर्नाहरू उपलब्ध गराएको छ । महोत्सवको कृषि स्टलमा उन्नत जातका घाँसका बिरुवाहरू राखिएको छ । पशुपन्छीको वृद्धि विकासको लागि आधुनिक तथा प्राविधिक रुपमा उत्पादन गरिएका उन्नत जातका घाँसका बिरुवाहरू पशुपालक कृषकहरूको लागी व्यवस्था गरिएको हो । 


शान्ति कृषि तथा पशु फर्म बाणगङ्गा ८, पुलचोकमा दिप्रेन्द्र बिक्रम पौडेलले व्यवसायिक रुपमा खेती गर्दै आएका छन् । पौडेलले आफ्नो पशु फर्ममा ८ वटा दुहुनो माउ भैँसी र त्यसका बच्चाहरू पालन गर्दै आउनु भएको छ । बिहान साँझ गरी उनले दिनमा ६० – ७० लिटर दूध  उत्पादन भएको बताए । उनले प्रतिलिटर रु १०० का दरले घरबाटै बिक्री गर्ने गरेको बताए ।
         

 पौडेलले आफ्नो फर्म  जिल्लाकै घाँसको स्रोत केन्द्र भएको जानकारी दिए । पशुको लागि अत्यन्तै लाभदायिक हुने बहुवर्षीय घाँस अमेरिकन फाईव जि, भट्मासे, सि ओ सिक्स, फोर जि बुलेट, रेड नेपीयर हाफ रेड नेपीयर स्मार्ट, हाइब्रिड नेपीयर, ताइवान जाइन्कीङ, मलाटो लगायतका १५ जातका घाँसका बिरुवा उपलब्ध हुने जानकारी दिए । उनले घाँसका बिरुवाहरू एक पटक लगाएपछि ५/७ वर्षको लागि हुने बर्षै पिच्छे लगाउन नपर्ने, झन्झटबाट मुक्त रहेको, पोषण युक्त रहेको, पशुको तिव्र वृद्धि  विकास हुने जनाए ।


मंसिर, पौषको समयमा चिसोका कारण घाँसको वृद्धि विकास गर्मीको तुलनामा कम हुने, माघको अन्तिमबाट भने घाँसको विकास तिव्र हुने, गर्मीको समयमा एक पटक काट्न मिल्ने र जाडोको समयमा पलाउने जानकारी दिए । 
उनले भने “दानाको तुलनामा घाँस पशुको लागि उचित रहेको छ ।” किनकी उत्पादन गरिएको घाँस सफा, स्वच्छ हुने, पशुको पनि वृद्धि विकास हुने, पशुपन्छी समयमा व्याउने, बाझोपन नहुने उनको भनाई छ ।  
       

 पौडेल ३ वर्ष देखि लगातार रुपमा भेटनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र कपिलवस्तुको सहयोगमा कपिलवस्तु महोत्सवमा घाँसका बिरुवाहरू अवलोकन तथा बिक्री वितरणको लागि उपलब्ध गराउँदै आएका छन् । धेरै बिरुवाहरू लैजानेहरूका लागि सुपथ मूल्यमा दिन सकिने उनको भनाई छ । 


पौडेल मिहेनत र परिश्रम गरे रोजगारीको लागि विदेशमा मात्रै होइन, स्वदेशमा पनि पशुपालनबाट राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन् । दृढ विश्वास र पैसाप्रतिको निरन्तरता सहित लगानी गर्ने हो भने स्वदेशमा नै प्रशस्त कमाइ गर्न सकिन्छ भन्ने कुरा पौडेलले प्रमाणित गरेका छन् । जोखिम मोलेर विदेशमा काम गर्नु जानुको सट्टा परिवारको साथमा रहेर स्वदेशमा नै काम गर्दा लाखौं आम्दानी गर्न सकिन्छ, त्यसको प्रतिनिधि उदाहरण बनेका छन्, दिपेन्द्र बिक्रम पौडेल ।

प्रतिक्रिया दिनुहोस्