चोरीमा संलग्न गिरोह पक्राउ, पिपरा प्रहरीले गर्‍यो सार्वजनिक 


पालिका पत्र

२ पुष २०८०, सोमबार १८:२९ मा प्रकाशित

पिपरा, पौष ०२ ।

पछिल्लो समय बाणगङ्गा सहित आसपासका क्षेत्रमा मोटरसाइकल, मोबाइल, गरगहना लगायतका सामान चोरी गर्ने र लागू औषध ओसार पसार गर्ने गिरोहलाई पिपरा प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको छ । अनलाइन पढ्ने बहानामा बन्टी गाहा मगर भन्ने डम्बर बहादुर थापाको घरमा अड्डा बनाएर धन्दा चलाउँदै आएका चोरहरूको अखडामा प्रहरीले छापा मारेर गिरोहलाई नै पक्राउ गर्न सफल भएको इलाका प्रहरी कार्यालय पिपराका प्रमुख गोपाल रायमाझीले बताउनुभयो ।

पक्राउ पर्ने कपिलवस्तुको बाणगङ्गा नगरपालिका वडा नम्बर २ गोबडिया बस्ने २८ वर्षीय विनोद परियार, सोही ठाउँकै ३३ वर्षीय विष्णु श्रेष्ठ, नवलपरासी देवचुली नगरपालिका वडा नम्बर २ बस्ने २३ वर्षीय मुक्ति प्रसाद खनाल, कपिलवस्तु बुद्धभूमि नगरपालिका वडा नम्बर २ का २६ वर्षीय विबेक थापा मगर, रूपन्देही सैनामैना नगरपालिका वडा नम्बर १२ का १८ वर्षीय मनोज दर्जी, सोही ठाउँकै १८ वर्षीय समिर परियारलाई इलाका प्रहरी कार्यालय पिपरामा पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएको हो ।

उनीहरूको साथबाट लु ३६ प १९३९ नं. को रातो कालो रङको पल्सर मोटरसाइकल, लु ३९ प ८२८२ नं. को होन्डा साइन मोटरसाइकल फेला परेका छन । त्यस्तै विभिन्न दरका नोट तथा सिक्का (डवल) गरी ३ लाख ४९ हजार २५५ नेपाली रुपैयाँ समेत बरामद गरिएको पिपरा प्रहरीले जनाएको छ ।

त्यस्तै उनीहरूको साथ बाट सुनका गरगहना सिक्री १ थान, माइली तिलहरी लाहा सहितको १ थान, लाहा सहितको घण्टी माला १ थान, छापे पत्थर सहितको पँहेलो औठी १ थान, चाँदीका गरगहना तर्फ को फोल्डिङ बाला १ थान, लेडिज पाउजु एक जोडी फेला पारिएकोछ । त्यस्तै अन्य वारेन्टिवाला गरगहना समेत फेला परेका छन् ।

त्यस्तै एउटामा ५ सिक्का र अर्कोमा ३ सिक्का भएको तक्मा मेडल २ थान, लेडिज पर्स ३ थान, लाईट २ थान, व्याट्री १ थान, कालो जेन्स पर्स १ थान, क्यानन डिजिटल क्यामेरा १ थान, चक्कु, खोडा लगायतका हातहतियार लगायत अन्य विभिन्न सामाग्री फेला पारेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्