सडकमा फोहोर नफाल्न आग्रह गर्दै वडा अध्यक्षहरु सडकमा


पालिका पत्र

४ पुष २०८०, बुधबार १९:३७ मा प्रकाशित

बाँके, पौष ०४ । नेपालगञ्ज उपमहानगरपालिकाले फोहोरमैला व्यवस्थापनका लागि आजदेखि जरिवाना अभियान सञ्चालनमा ल्याएको छ ।

नगरबासीलाई आफ्नो फोहोर आफ्नै डस्टविनमा राख्न प्रेरित गर्नका लागि ‘सचेतना प्रवर्द्धन र जरिवाना अभियान’ थालेको पालिकाले जनाएको छ । अटेर गरे पसल व्यवसाय समेत बन्द गरिदिने चेतावनी दिइएको छ ।

जिल्ला प्रशासन, वडा अध्यक्षहरु, होटल व्यवसायी, सरसफाइ अभियन्ता, नगर प्रहरीसहित बुधवारदेखि सडकमै उत्रिएर नेपालगन्ज उपमहानगरपालिकाले घरदैलो सुरु गरेको हो ।

पहिलो चरणमा चारबाहिनी चोकदेखि न्यूरोड कल्पतरु होटलसम्म सचेतना अभियान सुरु गरिएको छ । पर्चा पम्प्लेट वितरण र माइकिंग गर्दै फोहोर जथाभावी नफाल्न सचेत बनाइएको छ । घरधनी, पसल व्यवसायी लगायतलाई अबदेखि सडकमा फोहोर नफाल्न सचेत बनाइएको नगर उपप्रमुख कमरुद्दीन राईले बताए । उनका अनुसार हजार पटक सम्झाउँदासमेत सुधार नआएपछि आजदेखि एक्सनमा गइएको हो ।

नेपालगन्ज उपमहानगरपालिकाको फोहोरमैला व्यवस्थापन ऐन २०७५ बमोजिम ५ हजारदेखि १५ हजार रुपैयाँ जरिवाना गरिने नगर उपप्रमुख राईले बताएका छन् । अबदेखि जथाभावी फोहोर फालेमा ऐन अनुसार ५ हजारदेखि १५ हजार रुपैयाँसम्म जरिवाना हुने नगर उपप्रमुख राईले बताए ।

नगरबासी आफैं सचेत र जागरुक हुनुपर्नेमा पटक पटक भनिरहँदा पनि जथाभावी फोहोर फाल्ने क्रम नरोकिएपछि सचेतनासँगै कारबाहीको नीति अख्तियार गर्नुपरेको नगर उपप्रमुख राईको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्