विद्यार्थीलाई सीपसँग जोड्दै जनता मावि, ‘पढ्दै कमाउँदै’


पालिका पत्र

५ पुष २०८०, बिहीबार १७:०५ मा प्रकाशित



बाणगङ्गा, पौष ०५ ।
कपिलवस्तु बाणगङ्गा नगरपालिकाको जनता माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत छात्र, छात्राहरू विद्यालयमा पढाइसँगै कृषिमा पनि आबद्ध छन् । 


विद्यालयले सुरु गरेको ‘पढ्दै कमाउँदै कार्यक्रम’ अन्तर्गत उनी पढाइसँगै कृषिमा पनि आबद्ध भएका हुन् । कृषिमा आबद्ध उनीहरूले पढाइ खर्च पनि यसैबाट जुटाइरहेका छन् भने विद्यालयमा सिकेको आधुनिक कृषिको सीप बुबा – आमालाई पनि सिकाउन पाएका छन् । 


यतिबेला जनताका विद्यार्थीलाई च्याउ बेच्न भ्याइ न भ्याइ छ ।  एक साता अगाडिदेखि च्याउ उत्पादन सुरु भएको उनीहरूले बताए । कोही च्याउ टिप्ने, पानी छर्किने गर्छन् ।  केही विद्यार्थीलाई च्याउ बेच्ने जिम्मेवारी रहेको छ ।  विद्यालयको गेट नजिक च्याउ बिक्री केन्द्र राखिएको छ ।  केन्द्रमा बिक्री नभएको च्याउ बजारमा पुग्छ ।  


राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत ‘पढ्दै कमाउँदै’ कार्यक्रम लागू भएपछि कृषि गरेर पढाई खर्च जुटेको कक्षा १० मा अध्ययनरत सुस्मा पालले बताइन । उनले भनिन् ‘‘घरमा आमा बुबाको खेतमा काम गर्न आग्रह गर्दा पढ्नु छ भनेर बहाना गर्ने गरेको थिएँ ।”  विद्यालयमा खेती गर्न लागेपछि कृषि कार्यमा रुचि बढेको उनले बताइन ।  शिक्षक र साथीसँग मिलेर तरकारी र च्याउ उत्पादन गरेपछि कृषि प्रति उत्सुकता जागेको पालले सुनाईन । पालले  विद्यालयमा सिकेको सीप घरमा बुवा आमालाई सिकाउने गरेको बताइन । 


विद्यालयमा तीन वर्षदेखि यो कार्यक्रम सञ्चालन भएको प्रधानाध्यापक रमेश पन्थीले बताए ।  उनले शिक्षालाई आयआर्जनसँग जोड्न सके परनिर्भरता हट्ने र स्वदेशमै दक्ष जनशक्ति उत्पादन गर्ने गरी विद्यालयले कार्यक्रम अघि बढाएको बताए । 
‘हामी शिक्षालाई व्यावहारिक बनाउन चाहन्छौ’, उनले भने, ‘पढेर विदेश जाने बाध्यतालाई अन्त्य गर्न विद्यालयबाटै गरिखाने दक्ष जनशक्ति उत्पादन गरी स्वदेशमै काम गर्ने वातावरण तयार गर्ने विद्यालयको लक्ष्य हो ।’


आवेदन फर्म भरेका २२ जना विद्यार्थी कार्यक्रमका लागि छनोट भएका छन् ।  करिब तीन बिघा जग्गामा खेती गरिएको छ ।  दुई बिघा जग्गामा अघिल्लो वर्ष लगाइएको बेसार पाकेर खन्ने बेला भएको छ ।  यो वर्ष दुई कट्ठामा लसुन लगाइएको छ ।  एउटा टनेलमा च्याउ खेती गरिएको छ ।  अर्को टनेलमा च्याउ उत्पादन गर्न तयारीमा राखिएको छ ।  थप दुई टनेलमा टमाटर र खुर्सानी लगाइएको छ ।  


कार्यक्रम सञ्चालनका लागि पाँच लाख रुपियाँ अनुदान स्वरूप आएको विद्यालयका शिक्षक विक्रम बेल्बासेले बताए ।  विद्यार्थीले काम सिक्ने, बजारीकरण गर्ने र श्रमको सम्मान गर्ने सीपको समेत विकास भएको छ ।  कार्यक्रममा सहभागी विद्यार्थीले मासिक दुईदेखि तीन हजार रुपियाँ आम्दानी गरेका छन् ।  उक्त रकम शैक्षिक सामग्री खरिद र पढाई खर्च जुटेको छात्र विनोद भुसालले बताए ।


विद्यार्थीले ‘पढ्दै कमाउँदै कार्यक्रम’ मार्फत् कृषि गर्दै आएका छन् । जुन नेपालकै पहिलो नमुना कार्यक्रम हा े। त्यसबाट हुने आम्दानी विद्यार्थी आफ्नो शिक्षामा खर्च गर्दै आएका छन्। 

प्रतिक्रिया दिनुहोस्