बाणगङ्गा ४ मा पूर्ण संस्थागत प्रसूति सेवा घोषणका लागि अभिमुखीकरण 


पालिका पत्र

६ पुष २०८०, शुक्रबार १९:४३ मा प्रकाशित


कपिलवस्तु, पौष ०६ । बाणगङ्गा नगरपालिका वडा नम्बर ४ मा पूर्ण संस्थागत प्रसूति सेवा घोषणका लागि वडा स्तरीय अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । नगर स्वास्थ्य शाखाको आयोजनामा भएको कार्यक्रममा वडालाई पूर्ण संस्थागत प्रसूति सेवा प्रदान गर्नको लागि आवश्यक छलफल तथा अन्तरक्रिया भएको हो ।

छलफल तथा अन्तरक्रिया कार्यक्रमले पूर्ण संस्थागत प्रसूति सेवा घोषणाको लागि वडा अध्यक्ष छवि रेस्मि मगरको संयोजकत्वमा ७ सदस्यीय समिति समेत गठन गरिएको छ । उक्त समितिले पूर्ण संस्थागत प्रसूति सेवा घोषणका समस्या र समाधान गर्ने उपाय सँगै अन्य विविध पक्षको बारेमा अध्यन अनुसन्धान गरेर रिपोर्ट समेत तयार गर्ने छ ।

त्यस्तै अन्तरक्रिया कार्यक्रमले अब केही दिनभित्र नै वडा भित्रका प्रसूतिहरुको तथ्याङ्क सङ्कलन गर्ने र त्यसलाई लिपिबद्ध गरि थप आगामी योजना र रणनिति बनाएर अगाडि बढ्ने निर्णय गरिएको छ ।

गजेहडा स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष तथा वडा अध्यक्ष छवि रेस्मिको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्यहरू, वडा सचिव कृष्ण प्रसाद खनाल, महिला स्वयम्सेविका, कर्मचारी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम गजेहडा स्वास्थ्य चौकी प्रमुख दोर्ण बेल्वासेको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्