सामाजिक समावेशीकरणलाई बढावा दिने गरि काम गरौं : सभामुख घर्तिमगर


१० पुष २०८०, मंगलवार ०८:२८ मा प्रकाशित

कपिलवस्तु, पुस १० गते । मुलुकको समृद्धिका लागि सामाजिक समावेशीकरणलाई बढावा दिनेगरि काम गर्न लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तिमगरले आह्वान गरेका छन् ।

सामाजिक न्यायको उचित ब्यवस्था गरे समतामुलक समाजको निर्माण गर्न सकिने तर्फ जोड दिँदै उनले समाजका स्वघोषित सभ्रान्त वर्ग सामाजिक समावेशीकरणको वाधक मध्येको एक रहेको उल्लेख समेत गरे । कपिलवस्तुको शुद्धोधन गाउँपालिका वडा नम्बर २ लाइ बालविवाह तथा छुवाछुत मुक्त वडा घोषणा गर्दै उनले यस्तो बताएका हुन् ।

प्रदेश सरकारले उपयुक्त कानुन निर्माण गरेको बताउँदै उनले सामाजिक विकासको मूलप्रवाहमा सबै क्षेत्र, बर्ग र समुदायको समान सहभागिता रहनुपर्ने धारणा समेत राखे ।

गाउँपालिका अध्यक्ष तर्फ इंगित गर्दै सभामुख घर्तिमगरले शिक्षा, स्वास्थ्य तथा कुरिती अन्त्यका लागि बर्षेनी यस्ता कार्यक्रम संचालन गर्नुपर्ने र सामाजिक समावेशीकरणलाई बढावा दिने गरि काम गर्नुपर्ने बताए ।

कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका पूर्वमन्त्री सहसराम यादव अवको युग सामाजिक चेतना स्तर बलियो बनाउनुपर्ने रहेको बताउछन् । जिल्ला समन्वय समिति कपिलवस्तुका प्रमुख बाबुराम आचार्यले बालविवाह तथा छुवाछूतले सामाजिक विकासमा असर गर्ने हुँदा यसको अन्त्य हुनुपर्ने बताए ।

कुनै पनि धार्मिक परम्परामा मानवलाई भेदभाव गर्न नहुने उल्लेख गरिएतापनि समाजमा मानवीय चेतनाका कारण जातीय भेदभावको प्रचलन रहेको शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेश शरण चौधरीले बताए ।

शुद्धोधन गाउँपालिका वडा नम्बर २ को वडा कार्यालय, बालविवाह तथा छुवाछूतविरुद्धको निगरानी समिति तथा सिद्धार्थ सामाजिक विकास केन्द्रको अगुवाइमा बालविवाह तथा छुवाछूत मुक्त वडा घोषणा भएको हो ।

प्रदेश सभा सदस्य मधुसुदन शरण चौधरी, शुद्धोधन गाउँपालिकाका अध्यक्ष, निवर्तमान गाउँपालिका अध्यक्ष, वडा अध्यक्ष, वडा सदस्य लगायतका जनप्रतिनिधिले संयुक्त रूपमा हस्ताक्षर गर्दै शुद्धोधन गाउँपालिकाको वडा २ लाई बालविवाह तथा छुवाछुत मुक्त घोषणा गरेका छन् ।

जनप्रतिनिधि तथा सरोकारवाला सङ्घसंस्थाले बालविवाह र छुवाछूत सामाजिक तथा कानुनी अपराध भएकाले यसको अन्त्य गर्ने प्रतिबद्धता गरेका थिए ।

कार्यक्रममा वडा अध्यक्ष मनोज कुमार यादवले वडामा विभिन्न सचेतना कार्यक्रम सञ्चालन भइरहेकाले विभिन्न निकायको अनुगमनको माध्यमबाट वडामा बालविवाह र छुवाछुत कतै नभेटिएकाले वडालाई बालविवाह र छुवाछुत अन्त्य भएको घोषणा गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस्