कुलतबाट बच्न लुम्बिनी सांस्कृतिकमा लागूऔषध सम्बन्धी सडक नाटक 


पालिका पत्र

१७ मंसिर २०८०, आईतवार १८:४५ मा प्रकाशित

लुम्बिनी, मंसिर १७ ।

रूपन्देहीको लुम्बिनीमा कुलतमा लाग्न नदिन नगरपालिकाले विशेष अभियान थालेको छ । लुम्बिनीमा पछिल्लो समय युवायुवतीहरू बढि लागूऔषध सेवन गर्ने गरेकाले लुम्बिनी सांस्कृतिक नगरपालिकाले लागूऔषध दुर्व्यसनी सम्बन्धी सडक नाटक आइतबार देखि सुरु गरेको हो । लुम्बिनी सांस्कृतिक नगरपालिका वडा न. ९ को खुदाबगर माध्यमिक विद्यालय, वडा न. ७ को कर्महवा मावि, वडा न. ६ को पर्सा चोकमा सडक नाटक गरिएको आयोजकले जनाएको छ । अवध थिएटर रूपन्देहीको प्रस्तुतिमा भएको सडक नाटक कार्यक्रममा जनप्रतिनिधि, विद्यार्थीहरू एवं आम जनताको सहभागिता रहेको थियो ।

सो कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनी सांस्कृतिक नगरपालिकाका मेयर सजरुद्धीन मुसलमानले स्कुले विधार्थीहरु, युवा युवतीहरूले बढि कुलतमा लागेको समाचार आएकाले यसको रोकथाम र नियन्त्रणका लागी प्रयास थालिएको बताए । लागूऔषधले मानवीय क्षती सँगै समाजमा विकृति फैलाउन टेवा दिने बताउँदै मेयर मुसलमानले यसको नियन्त्रणका लागी सम्बन्धी सबै निकाय उत्तिकै जिम्मेबार बन्नुपर्ने उल्लेख गरे । आगामी दिनमा समेत यि यस्ता सचेतनामूलक कार्यक्रमले निरन्तरता बताए ।

कार्यक्रममा बालबालिका भोलिका कर्णधार भएकाले हेरचाह र नैतिक शिक्षा दिनु आजको आवश्यकता रहेको नगरपालिका उपमेयर कल्पना हरिजनले बताइन् । अभिभावकले आफ्ना सन्तानहरूलाई बढि हेरचाह गर्नुपर्ने बताउँदै नगरपालिकाबाट कुलतमा लाग्न लागेका, फसेकाका लागी लक्षित सचेतनामूलक कार्यक्रम गरेको औँल्याइन् ।

नगरपालिकाका सल्लाहकार मोहम्मद सइद खाँले लागूऔषध दुर्व्यसनीले व्यक्तिलाई मात्र नभई समाजलाई खराब बनाउने हुँदाको यसको नियन्त्रण गर्न सबै जिम्मेवार बन्नुपर्ने बताए ।

कार्यक्रममा नगरपालिकाका न्यायिक समिति सदस्य तथा लुम्बिनी नवयुवा क्लबका अध्यक्ष अहमद हुसेनले समाजमा हुने विकृति धेरै जसो लागूऔषध सेवनले हुने बताएका छन् । विद्यार्थीहरू तथा युवाहरूमा बढि लत कुलतको लागेको हुँदा यसो नगर्न लुम्बिनीका विभिन्न ठाउँमा सडक नाटक गरिने समेत हुसेनले बताए ।

कार्यक्रममा जनप्रतिनिधि, नगरपालिकाका शाखा प्रमुख लगायतको समेत उपस्थिति रहेको थियो । लागूऔषध दुर्व्यसनी सम्बन्धी सडक नाटक आगामी मंसिर ३० गते सम्म लुम्बिनीका विभिन्न ठाउँमा सञ्चालन हुने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्