पाँचौँ बाणगंगा माघी महोत्सव हथौसामा, अर्गानिक थारु परिकारदेखि डेलवा दौड प्रतियोगिता हुँदै


पालिका पत्र

२९ पुष २०८०, आईतवार ०८:०० मा प्रकाशित

बासुदेव बर्मा (अजय), पौष २९ । कपिलवस्तुको बाणगंगा नगरपालिकामा पाँचौँ माघी (खिचडी) महोत्सव हुने भएको छ । नगर स्तरीय माघी मेला बाणगंगाको हथौसामा हुने आयोजकले जनाएको छ । थारु पहिचान र परम्परागत संस्कृतिलाई संरक्षणमा जोड दिँदै ५ औँ पटक बाणगंगा नगरपालिकामा भव्य रुपमा माघी मेलाको आयोजना गरिएको थारु कल्याणकारी सभा बाणगंगा नगर कार्य समितिले जनाएको छ ।

माघी नजिकै जाँदा थारु समुदायमा माघीको रौनकता बढ्दै गएको छ । थारु समुदायको पुस्तौँदेखिको पहिचालाई कायम गर्दै यस माघी मेलाले नयाँ पुस्तालाई हस्तान्तरण गर्ने भन्दै ‘हम्मन राष्ट्रिय एकता अउर भेषभुषा हम्मनके शान, भाषा कला संस्कृति संरक्षण सम्वर्ध्दन कइना हम्मनके अभियान’ भन्ने मूल नाराका साथ माघी मेलाको आयोजना गरिएको जनाइएको छ । थाकसले यही माघ २ देखि ४ गतेसम्म हथौसामा माघी महोत्सव हुन लागेको पत्रकार सम्मेलन गरि जनाएको छ ।

थारु कल्याणकारिणी सभाकी केन्द्रीय सदस्य सुमित्रा यस महोत्सवले थारुले थारु समुदायको परम्परागत संस्कृति, भेषभुषा, पहिचान र संरक्षणमा टेवा पुग्ने बताइन् । थारुहरुको ऐतिहासिक परम्परागत रुपमा चलि आएको रितिरिवाज, पहिरन, संस्कृतिमा विदेशी संस्कृतिकले विकृति ल्याइरहेको अवस्थामा यस्ता मेलाले थारु पहिचानको संरक्षणको साथै जनचेतना बढ्ने विश्वास व्यक्त गरिन् ।

बाणगंगा नगरपालिकामा थारु जाति बाहुल्यता हुने हुँदा पर्यटन प्रर्वद्धनमा समेत थारु महोत्सवले अहम भूमिका रहने बताउँदै यसले विविधतामा एकताको सन्देश दिने उनको भनाई छ ।

माघी महोत्सवका संयोजक तथा थारु कल्याणकारिणी सभा नगर अध्यक्ष नाथुराम थारुले थारु जातिका कला, संस्कृति, भाषा भेषभुषा, र परम्परालाई जगेर्ना गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको बताए । उनले थारु कला, संस्कृति, पहिचान, झल्किने गरि झाँकी समेत प्रदर्शन गरिने जानकारी दिए । महोत्सवमा रक्तदान र डेलवा दौड प्रतियोगिता लगायतका विविध कार्यक्रम हुने उनको भनाई छ ।

महोत्सवको उद्घाटन प्रदेश भौतिक पुर्वाधार मन्त्री धर्म बहादुर चौधरीले गर्ने बताउँदै महोत्सवमा थारु राष्ट्रिय गायक, गायिकाको साथमा स्थानीय कलाकारहरुको विशेष प्रस्तुति रहने उनले जनाए ।

यसैगरी कार्यक्रममा थारु कल्याणकारिणी सभा केन्द्रीय पार्षद उमाशंकर थारुले अहिले पाँचौँ पटक बाणगंगाको हथौसामा माघी मेलाको आयोजना गरिएकोले सबैले आ-आफ्नो ठाउँबाट सहयोग गरि मेला सफल पार्न अनुरोध गरे । महोत्सवमा थारु जातिको विभिन्न परिकारको खानाको स्टल स्वाद समेत लिन सक्ने उनले बताए ।

थारु कल्याणकारिणी सभा जिल्ला सचिव सन्तराम चौधरी, नगर सभाका पदाधिकारी, महोत्सव समारोह उप-समितिका पदाधिकारीको उपस्थितिमा भएको कार्यक्रममा नगर सभा उपाध्यक्ष कमल चौधरीको स्वागत मन्तव्य र प्रेस संयोजक सरिता थारुको सञ्चालनमा पत्रकार सम्मेलन सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्