यशोधरामा निःशुल्क स्वास्थ्य शिविर : १२ सय बढि लाभान्वित

विरामीहरुलाई निशुल्क औषधि वितरण


२९ पुष २०८०, आईतवार ०८:५८ मा प्रकाशित

पुष २९ गते । कपिलवस्तुको यशोधरा गाउँपालिकाले आयोाजना गरेको दुईदिने निःशुल्क जेष्ठ नागरिक स्वास्थ्य चेकजाँच तथा उपचार शिविरबाट १२ सय बढि लाभान्वित भएका छन् । यशोधरा गाउँपालिकाको आयोजना तथा युनिभर्सल मेडिकल कलेज भैरहवाको प्राविधिक सहयोगमा संचालित उक्त शिविरबाट उनीहरु लाभान्वित भएका हुन् ।

सामान्य चेकजाँचका साथै नाक, कान, घाँटी, ढाड, जोर्नी र स्त्री रोगको बिशेषज्ञ सहितको शिविरबाट शुक्रबार मात्रै चारसय ४७ जनाले स्वास्थ्य परामर्श तथा चेकजाँच गरि निशुल्क स्वास्थ्य सेवा लिएका थिए । शनिबार थप ७९० जनाले शिविरबाट प्रत्यक्ष लाभ लिएको गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख बिरेन्द्र कुमार मिश्रले बताए ।

गाउँपालिकाका अध्यक्ष शिवदयाल तिवारीले सामान्य खर्चको अभावमा रोगको पहिचान गर्न समेत नपाएका र आफ्नो स्वास्थ्य जाँच गराउन खासै ख्याल नगर्नेहरुलाई लक्षित गरी शिविर सञ्चालन गरिएको बताए ।

बिशेषज्ञ डाक्टरद्वारा शिविर सम्पन्न गरिएको र स्वास्थ्य परिक्षण गर्न आउनेहरु खुसी भएको मेडिकल कलेजका डाक्टरहरु बताउँछन् । समय समयमा गर्ने शिविरले समाजमा सकारात्मक परिवर्तन ल्याउन भुमिका खेलेको उनीहरुको भनाइ छ ।

दुईदिने शिविरबाट हाडजोर्नी तर्फ ४६४ जना, आँखा, नाक कान घाँटी तर्फ २४३ जना, छाती पेट अनि छाला तर्फ ३९५ जना र प्रसुति तथा स्त्रीरोग बिशेषज्ञ तर्फ १२५ जना सेवाग्राहीले सेवा लिएका गाउँपालिकाका अ.हे.व. मनोज कोरीले जानकारी दिए ।

कुल सेवाग्राही मध्ये अल्ट्रासाउण्ड तर्फ ६३ जनाले सेवा लिए । इसिजी तर्फ ३५ जना, ल्याब (रगत, पिसाब) जाँच तर्फ १०२ जनाले सेवा लिएको बताइएको छ । विरामीहरुलाई निशुल्क औषधि समेत वितरण गरिएको यशोधरा गाउँपालिका स्वास्थ्य शाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्