कपिलवस्तुका ६ स्थानीय तहको हिउँदे अधिवेशन अझै अन्यौल

४ पालिकाले पारित गरे ४ बिधेयक


१ माघ २०८०, सोमबार ०९:३९ मा प्रकाशित

माघ १ गते । कपिलवस्तुका ६ स्थानीय तहले हिउँदे अधिवेशन गर्न ढिलाई गरेका छन् । कतिपय स्थानीय तहले तयारी नपुगेर अधिवेशन गर्न असमर्थ रहेको बताएपनि कतिपयले भने बजेट अधिवेशन ढिला गरि प्रस्तुत गरेकाले स्वत्ः ढिला भएको बताएका छन् ।

यद्यपि, जिल्लाका दशवटा स्थानीय तहमध्ये ४ स्थानीय तहले हिउँदे अधिवेशन सम्पन्न गरेका छन् । जिल्लाका महाराजगंज नगरपालिका, बुद्धभूमि नगरपालिका, बाणगंगा नगरपालिका र शिवराज नगरपालिकाले हिउँदो अधिवेशन (गाउँ/नगर सभा) पुस मसान्तभित्र सम्पन्न गरेका हुन् ।

हिउँदे अधिवेशनमा स्थानीय तहले चालू आर्थिक वर्ष २०८०/८१ का लागि विजियोजित बजेट र नीति तथा कार्यक्रमको प्रगति तथा छलफल, संशोधन, कार्यक्रमको समीक्षा सँगै ऐन र कार्यविधि पारित लगायतका काम गरेको पालिकाहरूले जनाएका छन् ।
सम्पन्न गरेका ४ पालिकाले पनि मात्रै चारवटा बिधेयक पेश गरेका छन् ।

जिल्लामै पहिलोपटक गरेको हिउँदे अधिवेशन सम्पन्न गरेको महाराजगंज नगरले २ वटा बिधेयक पारित गरेको छ । अनुगमन सम्बन्धी बिधेयक र हाटबजार ब्यवस्थापन सम्बन्धी बिधेयक पारित गरिएको नगरपालिकाका सामाजिक बिकास शाखा प्रमुख निरन्जन पौडेलले जनाए । पुष ४ गते सम्पन्न गरेको नगरपालिकाको १४ औं नगरसभा मार्फत उक्त बिधेयक पारित भएका हुन् ।

उता, बाणगंगा नगरपालिकाले पनि दुईवटा बिधेयक पारित गरेको छ । वन विधेयक २०८०, बाणगङ्गा नगर प्रज्ञा प्रतिष्ठान गठन तथा सञ्चालन विधेयक २०८० नगरसभाले पारित गरेको छ । यस्तै खानेपानी तथा सरसफाईको क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरू सँग छलफल गरी तयार पारिएको खानेपानी सरसफाइ तथा स्वच्छता सम्बन्धी ऐन, २०७८ ( प्रथम संशोधन प्रस्ताव ) पारित गरिएको नगरपालिकाका सूचना अधिकारी केशबराज भट्टराईले जनाए ।

नगरसभाले राजस्व परामर्श समिति संयोजक नगर उप प्रमुख रिता कुमारी चौधरीले पेस गरेको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको आर्थिक ऐन २०८० मा संशोधन प्रस्तावलाई समेत पारित गरेको छ ।

हिउँदे नगरसभा सम्पन्न गरेका चार पालिका मध्ये दुई स्थानीय तहहरु बिधेयक बिहिन छन् । बुद्धभूमि र शिवराज नगरपालिका बिधेयक बिहिन बन्दै हिउँदे अधिवेशन सम्पन्न गरेका हुन् । विकासको अवस्था, बजेटको खर्च विवरण, राजस्व सङ्कलन, कार्यक्रमको उपलब्धि, गुनासा र समस्याका बारेमा छलफल गर्दै हिउँदे अधिवेशन सम्पन्न गरिएको सम्बन्धित पालिकाका प्रमुख प्रशासकीय अधिकृतहरुले जनाएका छन् ।

उता, कृष्णनगर नगरपालिका, कपिलवस्तु नगरपालिका, यशोधरा गाउँपालिका, शुद्धोधन गाउँपालिका, मायादेवी गाउँपालिका र बिजयनगर गाउँपालिकाले तयारी नपुगेको भन्दै हिउँदे अधिवेशन गर्न बाँकी रहेको जनाएका छन् ।

गत पुष २४ गते छाडा चौपाया सम्बन्धी समस्या निम्तिए पछि २६ गतेका लागि तोकिएको नगरसभा स्थगित भएको कृष्णनगर नगरपालिकाका प्रवक्ता हरिपाल चर्तुवेदीले बताएका छन् । कपिलवस्तु नगरपालिकामा पनि आन्तरिक तयारी नपुगेको भन्दै पुष मसान्त सम्म नगरसभा गरिएको छैन् ।

कपिलवस्तुमा ५ वटा बिधेयक पारित गर्ने तयारी रहेको भएतापनि आन्तरिक तयारी अझै नपुगेको नगरपालिकाले जनाएको छ । माघको १० गतेभित्र कपिलवस्तु नगरपालिकाको हिउँदे अधिवशेन सम्पन्न गरिने प्रमुख सुदिप पौडेलले बताएका छन् ।

यशोधरा गाउँपालिकामा माघको दोस्रो साता गाउँसभा गर्ने गाउँपालिकाका सामाजिक बिकास अधिकृत कृष्ण नाथ पाण्डेयले बताए । शुद्धोधन गाउँपालिकामा समेत बजेट अधिवेशन ढिला गरि प्रस्तुत गरिएकाले हिउँदे अधिवेशन ढिलै गरिने तयारी छ ।
कर्मचारी ब्यवस्थापनमा समेत असमञ्जस्यता देखिदाँ कामकारवाहीमा ढिलासुस्ती आएको भन्दै गाउँपालिकाका अध्यक्ष कमलेश शरण चौधरीले कार्यसम्पादनमा तिब्रता आएसँगै आफुहरुले हिउँदे अधिवेशन गर्ने बताए । पालिकामा भएका/देखिएका कमीकमजोरी, सल्लाह सुझाव मार्फत उचित तवरले सफल गराउने एउटा शसक्त माध्यम हिउँदे अधिवेशन भएकाले पनि आफूहरु लागि परेको अध्यक्ष चौधरी बताउँछन् ।

मायादेवी गाउँपालिकामा समेत आन्तरिक तयारी नपुगेको बताउँदै माघको अन्तिम साता सम्म अधिवेशन गरिने गाउँपालिका अध्यक्ष वलिउद्धिन मुसलमान बताउँछन् । बिजयनगर गाउँपालिकामा समेत बजेट सभा ढिला गरि सम्पन्न गरेकाले माघ महिना भित्रै हिउँदे अधिवेशन गरिने अध्यक्ष गोपाल बहादुर थापाले बताए । अबको हिउँदे अधिवेशनमा गाउँपालिकाको भए गरेका कामहरुको लेखाजोखा गरेर १० प्रतिशत बजेट रकम अन्य अत्यावश्यक कामका लागि रकमान्तर गर्ने सकिने प्रावधान रहेको थापाले जानकारी दिए ।

यो अधिवेशनमा आर्थिक वर्ष २०८०/८१ को ६ महिनाको योजना, कार्यक्रम र तत् सम्बन्धी गतिविधिहरुको समीक्षा र परिमार्जन गर्ने गराउने समय हो । हिउँदे अधिवेशन गर्न बाँकी रहेका पालिकाले माघ महिनाभरिमा सम्पन्न गर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्