बाणगङ्गाका वडामा घुम्ती शिविर हुने, नगरका सबै सेवा  उपलब्ध गराइने 


पालिका पत्र

४ माघ २०८०, बिहीबार २१:१२ मा प्रकाशित

बाणगङ्गा, माघ ०४ । 
बाणगङ्गा नगरपालिकाले वडाहरूमा घुम्ती शिविर सञ्चालन गर्ने भएको छ । बाणगङ्गाले नगरपालिकामा दिने सेवा वडा मै दिनका लागि घुम्ती शिविर सञ्चालन गर्ने भएको हो । 

विहीवार भएको बाणगङ्गा नगरपालिकाको कार्यपालिका बैठकले यस्तो निर्णय गरेको नगर प्रवक्ता विष्णु प्रसाद पौडेलले बताए ।  उनले आगामी १७ गते  वडा नम्बर १० को मेच्कुरी बाट शिविरको सुरु गरिने जानकारी दिए । 

यस्तै कार्यपालिका बैठकले नगरको लोगो छनौटको लागि बाणगङ्गा नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष विष्णु गिरीको संयोजकत्वमा बनेको समितिले ६ जनाले बनाएका लोगो पेश गरेको छ। अब ति ६ वटा लोगो बाट सबैभन्दा उत्कृष्ट लोगो छनौट गरिने संयोजक गिरीले बताए । 

बैठकमा नगरप्रमुख चक्रपाणि अर्यालले विकासका कामलाई तिव्र गतिमा अगाडि बढाउन र योजनाहरू समयमै सम्पन्न गर्नको लागि निर्देशित गरे। उनले नगरको समग्र विकासमा एकजुट भएर लाग्न पनि उहाँले सम्पूर्ण पक्षलाई आह्वान समेत गरेका छन् ।

त्यस्तै नगर उपप्रमुख रिता कुमारी चौधरीले लक्षित वर्गका कार्यक्रम र अन्य नगर र वडाका योजना तथा कार्यक्रमलाई समयमै सकेर नगरपालिकालाई कार्य सम्पादनमा अगाडि ल्याउन सबै पक्षलाई अपिल गरिन ।

त्यस्तै नगर प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले नगरवासीको भावना अनुरूप काम गर्नुपर्ने बताए ।  मरासिनीले  सेवा सुविधालाई चुस्त दुरुस्त रुपमा अगाडि बढाउन आग्रह गर्दै आफूले पनि नेतृत्वदायी भूमिका खेल्ने बताए ।

नगरपालिकाको आफ्नै सभाहलमा भएको बैठकमा ११ वटै वडाका वडा अध्यक्ष, कार्यपालिका सदस्य, शाखा प्रमुख, कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्