बाणगङ्गामा एक दिने कृषि मेला, कृषि औजार र बाली प्रर्दशनी


पालिका पत्र

११ माघ २०८०, बिहीबार १२:२७ मा प्रकाशित


कपिलवस्तु, माघ ११ ।
कपिलवस्तुको बाणगङ्गामा एक दिने कृषि मेला प्रर्दशनी गरिएको छ । युएसएआइडीको आर्थिक सहयोगमा सञ्चालित कृषि मेलामा कृषि औजार र बाली प्रर्दशनी गरिएको हो । बुद्ध रङ्गशालामा भएको प्रदर्शनीमा ६ सय जनाले अवलोकन गरेको आयोजकले जनाएको छ । जसमा करिब १० लाख बराबरको आर्थिक कारोबार भएको जनाईएको छ । अन्तराष्ट्रिय मकै तथा गहुँ सुधार अन्तर्गतको नेपाल बीउ तथा मल परियोजना (सिमिट) को आयोजना, बाणगङ्गा नगरपालिका, नेपाल कृषि अनुसन्धान परिषद र कृषि उद्यम केन्द्रको सहकार्यमा सञ्चालन भएको मेलामा विभिन्न उत्पादन, बीउ, मल, कृषि औजार, जैविक विषादी लगायत विभिन्न कृषि सामाग्रीका प्रदर्शन गरिएको सिमिटका बिजनेस डेभलपमेन्ट म्यानेजर डाक्टर नारायण प्रसाद खनालले बताए  ।


कार्यक्रमको उद्घाटन गर्दै लुम्बिनी प्रदेश सांसद विष्णु पन्थीले नेपाल कृषि प्रधान देश भएपनि खाद्यान्न, तरकारी, तेलहन लगायत सबै कृषि सामग्रीहरू विदेश बाट आयात गर्नुपर्ने विडम्बना भएको बताए । उनले जनताले अहिले विकास निर्माणका मुद्दा भन्दापनि मल, बीउ नपाएको गुनासो गरेको उनको भनाई छ । सांसद पन्थीले अहिले कृषि क्षेत्र प्रति सबैको वितृष्णा बढेको भन्दै कृषिलाई नाफाको व्यापार गराउन तिनै तहका सरकार गम्भिर हुनुपर्ने बताए ।


यस्तै बाणगङ्गा नगरपालिका मेयर चक्रपाणी अर्यालले नगरमा कृषि क्षेत्रको प्रर्वद्धन गर्दै आर्थिक उन्नति गर्न यस कार्यक्रम आयोजना गरिएको बताए । नगरका अधिकांश परिवार कृषिमा आबद्ध रहेकोले यस मेलाले ठुलो सहयोग गरेको बताए । मेयर अर्यालले तरकारी, खाद्यान्न, तेलहन लगायत विभिन्न बालीको उन्नत जातको बीउ, आधुनिक कृषि सामाग्री लगायतको उपयुक्त छनौटको लागि पनि यस मेलाले सहयोग गर्ने बताए  । नगरवासीलाई कृषि बाटै आर्थिक क्षेत्रमा माथि उठाउन नगरले विभिन्न योजना तथा कार्यक्रम ल्याइरहेको भन्दै त्यसलाई निरन्तरता दिने उनले बताए ।  


त्यस्तै नगर उपप्रमुख रिता कुमारी चौधरीले नगरका विभिन्न वडामा छुट्टाछुट्टै खेती हुने भएकाले माटो जाँच गरेर माटो सुहाउँदो खेती गर्नुपर्ने बताइन  । उनले पछिल्ला केही वर्ष यता अत्याधिक रुपमा रासायनिक मल र विषादीको प्रयोग बढेको भन्दै, जैविक खेती तर्फ कृषकलाई आकर्षित हुन  आग्रह गरिन ।


२२ वटा स्टलबाट कृषि मेलाको प्रर्दशनी गरिएको थियो । जसमा बाणगङ्गा नगरपालिकाका २, बुद्धभूमि नगरपालिकाका ३ र दाङका ६ र पाल्पाको एक सहकारी गरि १२ वटा सहकारी र अन्य बाणगङ्गा भित्रका कृषि व्यवसायी तथा सहकारीहरुले कृषि सम्बन्धी उत्पादन तथा सामाग्रीहरू प्रदर्शन गरेका थिए । 


विशेष गरि बसन्ते बालीलाई प्राथमिकता दिएर लुम्बिनी प्रदेशका कपिलवस्तु, पाल्पा, रूपन्देही, दाङ, बाँके र बर्दिया सहित नेपालका २६ वटा जिल्लामा यो कार्यक्रम सञ्चालन गरिएको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्