संस्थागत स्वमूल्यांकनमा बाणगंगा पहिलो


१८ माघ २०८०, बिहीबार ०८:१० मा प्रकाशित

माघ १८ गते । जिल्लाको १० बटा स्थानीय तह मध्ये बाणगंगा नगरपालिका पहिलो भएको छ । स्थानीय तह मध्ये संस्थागत स्वमूल्याँकनको नतिजामा बाणगंगा पहिलो हुन सफल भएको हो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा सार्वजनिक गरिएको स्वमूल्यांकन प्रणालीमा जिल्लाका १० वटा स्थानीय तह मध्ये बाणगंगा नगरपालिका प्रथम भएको हो । आर्थिक वर्ष ०७९/०८० मा ८९.५ प्रतिशत अंक प्राप्त गरी प्रथम स्थान हासिल गर्न सफल भएको हो ।

शासकीय प्रवन्ध, संगठन तथा प्रशासन, वार्षिक बजेट तथा योजना, वित्तिय एवम् आर्थिक सेवा प्रवाह, न्यायिक कार्य सम्पादन, भौतिक पुर्वाधारको क्षेत्रमा भएको मुल्यांकन अनुसार सबै क्षेत्रमा सबै भन्दा बढी राम्रो नतिजा ल्याउन सफल भएका कारण प्रथम भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले बताए ।

मन्त्रालयले सामाजिक समावेशीकरण, वातावरण संरक्षण तथा विपद व्यवस्थापन सहकार्य र समन्वय गरी १० वटा सूचकहरु र यसका अलावा अन्य १ सय सहायक सूचकहरुको आधारमा स्वमुल्यांकन भएको नगरपालिकाकी उपप्रमुख रीता कुमारी चौधरी बताउँछिन् ।

स्वमुल्यांकनको आधारमा बुद्धभूमि नगरपालिकाले ८१, शिवराज नगरपालिकाले ७५.२५, महाराजगंज नगरपालिकाले ६९.५, बिजयनगर गाउँपालिकाले ७८, कृष्णनगरले ६७.२५, शुद्धोधनले ५८, यशोधराले ५३.२५ प्रतिशत अंक प्राप्त गरेका छन् ।

कपिलवस्तु नगरपालिका र मायादेवी गाउँपालिकाको लिजामा अंक उल्लेख नभए पनि नगर तथा गाउँसभा (हिउँदे अधिवेशन) मा प्रस्तुत गरिने सम्बन्धीत पालिकाले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्