कपिलवस्तुका ९६ वडामध्ये जम्मा ४ वटा वडा मात्रै शहर !


२० माघ २०८०, शनिबार ११:२८ मा प्रकाशित

माघ २० गते । कपिलवस्तु जिल्लाका बिभिन्न पालिकाका ४ वटा वडा शहरी वडाको रुपमा सूचीकृत भएका छन् । जिल्लाको सदरमुकाम समेत रहेको कपिलवस्तु नगरपालिकाको वडा नम्बर १, कृष्णनगर नगरपालिकाका वडा नम्बर २ र ३, शिवराज नगरपालिकाको वडा नम्बर ५ शहरी वडाको रुपमा सूचीकृत भएका हुन् ।

राष्ट्रिय तथ्याड्ढ कार्यालय थापाथली, काठमाडौले प्रकाशन गरेको नेपालमा ग्रामिण तथा शहरी क्षेत्रको श्रेणीगत वर्गिकरण प्रतिवेदनमा कपिलवस्तु नगरपालिकाको १ वटा वडा शहरी क्षेत्रमा वर्गीकृत भएको हो । तथ्याङ्क कार्यालयले प्रत्येक १०/१० वर्षमा विभिन्न सूचकको आधारमा पालिकाको वडाहरुलाई ग्रामिण र शहरी क्षेत्र वर्गीकरण गर्ने गरेको छ ।

कृष्णनगर नगरपालिकाको २ र ३ नम्बर वडा शहरी क्षेत्रमा परेको छ । १२ वटा वडा रहेको कृष्णनगर नगरपालिकाको अरु १० वटा वडा शहरोन्मूख क्षेत्रमा सूचीकृत भएको प्रतिवेदनमा उल्लेख छ ।

राष्ट्रिय तथ्याङ्क कार्यालयले जनगणनाको क्रममा लिएको प्रतिव्यक्ति आय, आधारभूत विकासका पूर्वाधारहरुको पहुँच, सूचना तथा सञ्चारको पहुँच, शिक्षा, खानेपानी, सडकलगायतको पहुँचका आधारमा शहरीकरणको सूचीमा समावेश गर्ने गरेको छ ।

जिल्लामा ८२ वटा वडा शहरोन्मुख वडामा सूचीकृत भैरहँदा १० वटा वडा ग्रामीण वडाको सूचीमा सूचीकृत रहेका छन् । यसैगरी १० वटा वडा रहेको बुद्धभूमि नगरपालिका पूर्ण ग्रामिण वडाहरुका रुपमा ४ वटा वडा रहेको पालिकाको सूचीमा परेको छ । बुद्धभूमि नगरपालिकाको वडा नम्बर १, २, ३ र ९ ग्रामिण वडाका रुपमा सूचीकृत छन् । यस्तै वडा नम्बर ४ देखि ८ र १० नम्बर वडा शहरोन्मूख वडाका रुपमा सूचीकृत गरिएको छ ।

बुद्धभूमि नगरपालिकाको वडा नम्बर ३ गोरुसिंगे ब्यापारिक हबकै रुपमा परिचित भएपनि यो क्षेत्र समेत राष्ट्रिय तथ्याड्ढ कार्यालयको प्रतिवेदनमा ग्रामिण वडाको सूचीमा छ ।

त्यस्तै बाणगंगा नगरपालिकाको दुईवटा ग्रामीण र नौ वटा वडा शहरोन्मुख क्षेत्रको सूचीमा छ । बाणगंगाको ९ नम्बर वडा र १० नम्बर वडा ग्रामीण सूचीमा रहँदा बाँकी शहरोन्मुख वडाको सूचीमा सूचीकृत छन् ।

बिजयनगर गाउँपालिकाको १ नम्बर वडा ग्रामीण वडाको सूचीमा छ भने बाँकी सबै वडा शहरोन्मूख वडाको रुपमा रहेका छन् । कपिलवस्तु नगरपालिकाको १ नम्बर वडा शहरी सूचीमा सूचीकृत रहेता पनि बाँकी ११ वटा वडा शहरोन्मूख सूचीमा छन् । महाराजगंज नगरपालिकाको सबै ११ वटै वडाहरु शहरोन्मूख सूचीमा परेका छन् ।

मायादेवी गाउँपालिकाका ८ वटै वडाहरु शहरोन्मूख सूचीमा छन् । शुद्धोधन गाउँपालिकाका ६ वटै वडाहरु समेत शहरोन्मूख सूचीमा रहेका छन् । यशोधरा गाउँपालिकाका ८ वटै वडाहरु पनि शहरोन्मूख सूचीमा छन् ।

शिवराज नगरपालिकाका ११ वटा वडाहरु मध्ये तीनवटा वडाहरु ग्रामीण सूचीमा परेका छन् । वडा नम्बर १, ३ र ९ ग्रामीण वडाको सूचीमा सूचीकृत रहेको प्रतिवेदनमा उल्लेख छ । ५ नम्बर वडा शहरी सूचीमा सूचीकृत भइरहँदा बाँकी वडाहरु शहरोन्मूख सूचीमा छन् ।

९६ वटा वडा रहेको कपिलवस्तुका अधिकांश क्षेत्र शहरोन्मूख क्षेत्रको सूचीमा रहेको प्रतिवेदनमा उल्लेख छ । ९६ वडा मध्ये जम्मा ४ वटा वडा अर्थात ४.१७ प्रतिशत मात्र शहरीकरण भएको छ । ८२ वटा वडा अर्थात ८५.४१ प्रतिशत शहरोन्मुख र बाँकी १० वटा वडा अर्थात १०.४२ प्रतिशत वडा ग्रामिण वडाको सूचीमा छन् ।

प्रतिक्रिया दिनुहोस्