सामुहिक बलात्कारमा ११ वर्ष कैद तोकिएका व्यक्ति ८ वर्षपछि पक्राउ


२३ माघ २०८०, मंगलवार १६:५५ मा प्रकाशित

माघ २३ गते । कपिलवस्तु प्रहरीले जबरजस्ती करणी र सामूहिक करणी मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । कपिलवस्तुको साविक पकडी गाबिस, ४ हाल मायादेवी गाउँपालिका वडा नम्बर १ घर भएका ४३ बर्षीय धर्मेन्द्र केवटलाई घटनाको ८ बर्षपछि सोमबार प्रहरीले पक्राउ गरेको हो ।

सुराकीको आधारमा ईलाका प्रहरी कार्यालय पकडीका प्रहरी निरीक्षक राजिब श्रेष्ठको टोलीले केवटलाई पक्राउ गरेकाे हाे । २०७२ माघ २६ गते केवटसहित ५ जना युवाहरुले सामुहिक बलात्कार गरी त्यसको भिडियो बनाई सामाजिक संजालमा राखेका थिए ।

२० बर्षीय युवतीलाई जबरजस्ती करणी र सामूहिक करणी गरेको मुद्दामा अदालतले उक्त फैसला गरेको थियो । घटनामा मायादेवी गाउँपालिका पकडी पिर्चुखीका राहत हुसैन, अब्दुल रसिद मुसलमान, मोनु चौधरी, धर्मेन्द्र केवट र कलामुद्धिन मुसलमानलाई सामूहिक बलात्कार घटनामा दोषी ठहर गरेको थियो ।

भारत घर भई आफ्नो मामा घर पकडी बस्ने बर्ष २० कि युवतीको फुपुको घर बाँसखोर विमिहा जाने क्रममा २०७२ साल माघ २६ गते पिर्चुखी स्थित मर्थी खोला नजिकै नियन्त्रणमा लिई सामूहिक बलात्कार भएको थियो ।

बलात्कार पश्चात् युवतीको नग्न भिडियो समेत बनाई सामाजिक संजालमा हालिएको थियो । सोहि आधार तथा प्रमाण अनुसार प्रहरीले घटनामा संलग्नहरुलाई पक्राउ गरि मुद्धा दायर गरेको थियो ।

पक्राउ परेका केवटलाई मंगलबार अदालत हाजिर दाखिला गरिएको प्रहरी नायव उपरीक्षक हरि बहादुर वलीले बताए । जिल्ला अदालत कपिलवस्तुको २०७५ असोजमा गरेको फैसलाले जबरजस्ती करणी मुद्दामा संलग्न पाँच जनालाई ११ वर्ष कैद र १/१ लाख जरिवाना तोकेको थियो ।

प्रतिक्रिया दिनुहोस्