विद्यालयमा खानेपानी ट्यांकी निर्माण : बिद्यार्थीलाई पानीको सहजता


पालिका पत्र

२५ माघ २०८०, बिहीबार १७:३७ मा प्रकाशित

कपिलवस्तु, माघ २५ गते । कपिलवस्तु नगरपालिका–२ बर्गदवा स्थित गौतमबुद्ध आधारभूत विद्यालयको हातामा १ हजार लिटर क्षमताको खानेपानीे ट्यांकी निर्माण गरिएको छ । रोयल थाई मोनाष्ट्री लुम्बिनी र स्वर्णभूमि फाउण्डेसन नेपाल तथा वाटथाई निग्रोधराम, लायन्स क्बल प्राचीन कपिलवस्तुको सहयोगमा सो ट्यांकी निर्माण गरिएकोे हो ।

नवनिर्मित ट्यांकी रोयल थाई मोनाष्ट्रीका प्रमुख भिक्षु सुपोत र कपिलवस्तु नगरपालिकाका प्रमुख सुदीप पौडेलले धारा खोलेर ट्यांकीको उद्घाटन गरे । उद्घाटन गर्दै मोनाष्ट्रीका प्रमुख भिक्षु सुपोतले धाराको पानी समेत पिए । लगत्तै बिद्यालयका बिद्यार्थीहरुले ट्यांकीको पानी पिएका थिए ।

सो अवसरमा मोनाष्ट्रीका प्रमुख भिक्षु सुपोतले बिद्यालयमा थप सहयोग गर्न आफु तत्पर रहेको बताए । शिक्षामा गरेको लगानी कुनैपनि हालतमा खेर नजाने बताउँदै भिक्षु सुपोतले भने, “अव साना साना बालबालिकाका लागि पिउने पानीका लागि सहजता भयो ।”

कपिलवस्तु नगरपालिकाका प्रमुख सुदीप पौडेलले नगरपालिकाले सहजै गर्न नसकेको काम रोयल थाई मोनाष्ट्रीले गरेको प्रति आभार प्रकट गरे । शिक्षा तथा स्वास्थ्यका क्षेत्रमा नगरपालिकाले योजनाबद्ध रुपमा काम गरेको बताउँदै उनले बिद्यालयका ससाना योजनाका लागि समेत आफुले ध्यान दिइरहेको उल्लेख गरे ।

बिहिबार आयोजित कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मुख्तार अहमद खांनले भिक्षु सुपोत र नगरप्रमुख पौडेललाई मायाको चिनो हस्तान्तरण गरेका थिए । थाई एम्बेस्सीका प्रतिनिधी, स्थानीय समाजसेवी राजन खड्का, गंगा बहादुर बिष्ट, बिद्यालय ब्यवस्थापन समितीका सदस्यहरु लगायतलाई समेत आयोजकले सम्मान गरेको थियो ।

कार्यक्रमका संयोजक लुम्बिनी बिकास कोषका निवर्तमान सदस्य राजेश ज्ञवालीले सामाजिक क्षेत्रमा लगानीको आवश्यकता रहेको बताए । स्थानीय सरकारले समेत सामाजिक कार्यमा चाँसोका साथ हेर्नुपर्ने बताउँदै गौतमबुद्ध आधारभूत बिद्यालयलाई निरन्तर सहयोगको वातावरण मिलाउने ज्ञवालीले बताए ।

बिद्यालयका प्रधानाध्यापक सुजाता सुवालले खानेपानी ट्यांकी निर्माणका लागि खटिने सबैप्रति धन्यवाद प्रकट गरिन् । ट्यांकी निर्माण पश्चात बिद्यालयमा खानेपानीको सहज सुविधा भएको समेत उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्