कपिलवस्तुमा ७३ औं प्रजातन्त्र दिवस : पूर्ण स्वच्छता र सरसफाईयुक्त अभियानको शुरुवात गरिदैं


पालिका पत्र

५ फाल्गुन २०८०, शनिबार १८:४१ मा प्रकाशित

फागुन ५ । कपिलवस्तुमा ७३ औं प्रजातन्त्र दिवस मनाउने तयारी स्वरुप जिल्ला स्तरीय मूल समारोह समिति गठन गरिएको छ । दिवसका अबसरमा तीन दिन सम्म विभिन्न कार्यक्रम गरी मनाउन जिल्ला समन्वय समिति कपिलवस्तुका प्रमुख बाबुराम आचार्यको संयोजकत्वमा मुल समारोह समिति गठन गरिएको हो ।

कपिलवस्तु सदरमुकाममा शुक्रबार भएको पूर्वतयारी बैठकमा प्रमुख जिल्ला अधिकारी बिश्व प्रकाश अर्याल, कपिलवस्तु नगरप्रमुख सुदिप पौडेल, बुद्धभूमि नगरप्रमुख केशब कुमार श्रेष्ठ, बाणगंगा नगरप्रमुख चक्रपाणी अर्याल, शिवराज नगरपालिकाका प्रमुख अजय थापा, शुद्धोधन गाउँपालिका अध्यक्ष कमलेश शरण चौधरी, यशोधरा गाउँपालिका अध्यक्ष शिवदयाल तिवारी, राजनैतिक दलका प्रतिनिधिहरु, सुरक्षा निकायका प्रमुखहरु, बिभिन्न सरकारी कार्यालयका प्रमुखहरु, पत्रकार, समाजसेवी लगायतको उपस्थितिमा सरकारी अधिकारीहरु, स्थानीय तहका प्रमुख तथा प्रतिनिधिहरु समेत समावेश भएको मूल समिति गठन गरिएको हो ।

एक सय चार वर्षको जहानियाँ राणा शासन अन्त्य भई देशमा प्रजातन्त्र बहाली भएको दिन फागुन ७ को स्मरण गर्दै कपिलवस्तुमा तीन दिनसम्म विभिन्न कार्यक्रम तय गरिएको छ । पूर्व तयारी बैठकले फागुन ६ गते सम्पुर्ण कार्यालयको छत, बरण्डा र परिसरमा राष्ट्रिय झण्डा राख्ने, तीन दिनै जिल्लाका सम्पुर्ण कार्यालय तथा घरघरमा सांझ दिपावली गर्न अनुरोध गर्ने, ७ गते विहान प्रजातन्त्र दिवस समारोह समितीका पदाधिकारीहरु प्ले कार्ड सहित जिल्ला प्रशासन कार्यालय अगाडि भेला हुने निर्णय गरिएको छ ।

प्रजातन्त्र दिवसको दिन बिहान प्रभातफेरीसँगै बालमन्दिरका अनाथ बालकहरुलाई खाद्यान्न बितरण कार्यक्रम, तौलिहवा अस्पतालका बिरामीलाई फलफुल बितरण कार्यक्रम, अस्पतालमै रक्तदान कार्यक्रम तय गरिएको छ ।

निजामती कर्मचारी युनियन कपिलवस्तुको संयोजकत्वमा तौलिहवा अस्पतालका बिरामीका लागि फलफुल बितरण गरिने र निजामति कर्मचारी सङ्गठन कपिलवस्तुको संयोजकत्वमा बालमन्दिरमा खाद्यान्न बितरण गरिने जनाइएको छ ।

यस्तै, ८ गते बिहान कपिलवस्तु नगरपालिकाको आर्थिक सहयोग र रेडक्रम सोसाइटीको संयोजकत्व र प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम गर्ने, खेलमैदानमा राष्ट्रपति रनिङ्ग शिल्ड बिजेतालाई पुरस्कार बितरण गर्ने कार्यक्रम तय गरिएको संयोजक आचार्यले बताए ।

जिल्लाका बिभिन्न स्थानमा फोहोर तथा खुला दिसा देखिने गरेकाले सम्बन्धित निकायलाई सरसफाईमा ध्यानआकर्षण गराउने आफ्नो टोल आफंै सफा गर्ने अभियान चलाउन स्थानिय निकायलाई अनुरोध गर्ने, स्थानिय जनतालाई नै सरसफाई कार्यक्रममा सरिक गराउने र आवश्यक परे सुरक्षा निकायको समेत सहयोग लिन सकिने निर्णय गरिएको छ ।

कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालले स्थानीय आपातकालीन सञ्चालन केन्द्र नभएको र बनाउन नितान्त आवश्यक रहेको उल्लेख गरे । स्थानीय आपत्कालीन सञ्चालन केन्द्र संचालन गर्न सकेमा स्थानिय तहहरुमा हुने बिपत्ती नियन्त्रणमा सघाउ पुग्ने उनले बिश्वास ब्यक्त गरे ।

उनले पालिकाले घटना विवरण संकलन र दुर्घटना न्यूनीकरणका लागि प्रयाप्त व्यवस्थापन गर्नुपर्ने तर्क गरे । सडक अवरोध हटाउन यहाँ चेतना बढाउनु पर्ने आवश्यक रहको धारणा राखे ।

प्रहरी उपरीक्षक नवरत्न पौडेलले बिपत्तीका घटनाहरुको बारेमा तुरुन्त प्रहरीलाई जानकारी दिएमा त्यसबाट थप क्षतिको न्यूनिकरणमा सघाउ पुग्ने बताए । सवारी दुर्घट्ना न्यूनीकरणका लागि के गर्न सकिन्छ ? रणनीति बनाएर काम गरौं, उनले भने, सडकको स्तरोन्नतीमा समेत सरोकारवालाले ध्यान दिनुपर्यो ।

यसैगरि, स्थानीय तहका प्रमुखहरुले आआफ्नो पालिकामा प्रजातन्त्र दिवस भब्य रुपमा मनाउन गरि तयारी थालिएको जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्