दादुरा-रुबेला खोप लगाउन अभिभावकलाई ‘निमन्त्रणा कार्ड’


पालिका पत्र

१२ फाल्गुन २०८०, शनिबार ०९:५० मा प्रकाशित

फागुन १२ गते । कपिलवस्तु नगरपालिकाले बालबालिकाहरुलाई दादुरा-रुबेलाको खोप लगाउन अभिभावकहरुलाई निमन्त्रणा कार्ड पठाएको छ । यहि फागुन १३ देखि सञ्चालन हुने दादुरा-रुबेला खोप अभियानमा बालबालिकालाई खोप लगाउन कपिलवस्तु नगरले निमन्त्रणा कार्ड पठाएको हो ।

नौ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई खोप लगाउन नजिकैको खोप केन्द्रमा लैजानको लागि निमन्त्रणा कार्डमा अनुरोध गरिएको छ । ५ वर्ष मुनिका बालबालिकालाई छुट भएको नियमित खोप समेत लगाइने नगपालिकाका स्वास्थ्य शाखा प्रमुख उमेश प्रसाद गुप्ताले जनाए् । अभियानमा ९ महिना देखि १५ बर्ष मुनिका बालबालिकालाई खोप लगाइने बताइएको छ ।

‘यसका लागि खोपकार्ड लिई आउनुहुन सादर अनुरोध गर्दछौं’–निमन्त्रणा कार्यमा लेखिएको छ । खोप निःशुल्क, सुरक्षित भएको र जीवनको रक्षा गर्ने सन्देश निमन्त्रणा कार्डमा उल्लेख गरिएको छ । दादुरा रोग १ व्यक्तिबाट १८ व्यक्तिसम्म सर्न सक्ने भएकोले खोप अनिवार्य लगाउनु पर्ने सन्देश समेत कार्डमा छ ।

कपिलवस्तु नगरपालिकामा ११० वटा खोप केन्द्र मार्फत २७ हजार बालबालिकालाई खोप लगाइँदैछ । जस्का लागि ‌प्रति विद्यालय एक महिला स्वयंसेविका, दुई जना शिक्षक र एक जना भ्याक्सीनेटर गरी तीन जनाको समुह परिचालित हुने समेत जनाइएको छ ।

कपिलवस्तु नगरपालिकाले बिशेषतः ‌विद्यालय केन्द्रित अभियान सञ्चालन गरेको छ, यसका साथै‌ सुकुम्बासी बस्ती लगायतका क्षेत्रलाई पनि प्राथमिकतामा राखेर खोप अभियान संचालन गरिने प्रमुख प्रशासकीय अधिकृत गणेश प्रसाद अर्यालले जनाए ।

‌नगर क्षेत्रमा अभियानमा १२१ शिक्षक सहभागी हुँदैछन् । दादुरा–रूबेला सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै फागुन १३ देखि खोप लगाइने शाखा प्रमुख गुप्ताले जानकारी दिए । शाखाले नगरस्तरीय खोप समितिका पदाधिकारी, खोपकर्ता र सरोकारवालालाई अभिमुखीकरण गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्