२५ किलो लागूऔषध : मुख्य कारोबारी सहित पाँचजना पक्राउ


पालिका पत्र

१४ फाल्गुन २०८०, सोमबार ११:२६ मा प्रकाशित

फागुन १४ गते । कपिलवस्तु प्रहरीले लागु औषध चरेससहित कृष्णनगर नाकाबाट पाँच जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक लक्ष्मण ओलीको कमान्डमा खटिएको प्रहरी टोलीले २४ किलो ५ सय ६० ग्राम लागूऔषध चरेससहित उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेहरुमा तीनजना महिला र दुई जना पुरुष रहेका छन् । रुकुम पुर्वबाट कृष्णनगर हुँदै भारत तर्फ जाँदै गरेको भन्ने गोप्य सुचनाको आधारमा शंका लागि प्रहरीले कृष्णनगर बजारक्षेत्रमा ती व्यक्तिहरुलाई आइतबार साँझ नियन्त्रणमा लिएको हो ।

खनियाबास ५ धादिङका ५९ बर्सिय सेती तामाङको साथमा ५ किलो ५५५ ग्राम, सोही स्थानका ६६ बर्सिय रेगदोन तामाङको साथमा ५ किलो ३६५ ग्राम, सोही स्थानका ५२ बर्सिय साङ जोङ तामाङनिको साथमा ५ किलो ४८० ग्राम, सिद्धकुमाख ४ सल्यानका ४० बर्सिय थल बहादुर रोकाको साथमा ४ किलो ६१५ ग्राम र भुमे २ रुकुम पुर्बका ३७ बर्सिय भावना बुढाको साथमा ३ किलो ५४५ ग्राम लागू औषध चरेस फेला परेको हो ।

निजहरूको कम्मरमा कपडाको पेटि बनाई बाँधी लुकाई छिपाई राखिएको अबस्थामा प्रहरीले खानतलासी गरि उक्त लागू औषध बरामद गरेको हो । प्रहरीको प्रारम्भिक अनुसन्धानमा भावना बुढा मुख्य कारोबारी भएको खुलेको छ । ‘भरिया मात्र पक्राउ परेर मुख्य कारोबारी उम्कन्थे तर यो घटनामा भने कपिलवस्तु प्रहरी सफल रह्यो,’ प्रहरी नायब उपरिक्षक हरि बहादुर वलीले भने।

धादिङकि सेती तामाङ पेशेवर भरिया हुन् । उनी यस अघि धादिङ र कृष्णनगरबाट लागू औषध चरेससहित पक्राउ परेर मुद्दा खेपिसकेकी पात्र हुन् । उनी धरौटीमा छुटेदेखी प्रहरीले निगरानी गरिरहेको थियो । नियन्त्रणमा लिइएका पाँचै जना उपर थप अनुसन्धान भैरहेको प्रहरी उपरिक्षक नवरत्न पौडेलले बताए ।

प्रतिक्रिया दिनुहोस्