न्यूनतम सेवा मापदण्ड : कपिलवस्तु अस्पताल प्रदेशकै उत्कृष्ट


२२ फाल्गुन २०८०, मंगलवार १५:३९ मा प्रकाशित

फागुन २२ गते । कपिलवस्तु अस्पताल मूल्याङ्कनमा ९४ अङ्क प्राप्त गरी यस वर्ष प्रदेश अस्पतालमा उत्कृष्ट अस्पताल हुन सफल भएको छ । कपिलवस्तु अस्पतालमा मंगलबार आयोजना गरिएको अस्पताल व्यवस्थापन सुदृढीकरण अन्तर्गत न्यूनतम सेवा मापदण्ड कार्यान्वयन कार्यक्रममा कपिलवस्तु अस्पताल लुम्बिनी प्रदेशकै उत्कृष्ट अस्पताल मध्ये अग्रपङ्क्तिमा उभिन सफल भएको घोषणा गरिएको हो ।

स्वास्थ्य मन्त्रालयको न्यूनतम सेवा मापदण्डमा अस्पतालको सेवा प्रवाहको अवस्था मूल्याङ्कन गर्ने क्रममा आएको सरकारी मूल्याङ्कन टोलीले मूल्याङ्कनको मापदण्डअनुसार दिएको नम्बरको आधारमा कपिलवस्तु अस्पतालले प्रदेशमै दोस्रो स्थानका रुपमा ९४ प्रतिशत अंक प्राप्त गरेको हो ।

अस्पतालबाट प्रदान हुने स्वास्थ्य सेवा, सरसफाइ, वहिरङ्ग सेवा, इमर्जेन्सी सेवा, प्रयोगशाला, फार्मेसी, व्यवस्थापन लगायतका विषयलाई मुख्य आधार मानेर न्यूनतम सेवा मापदण्ड र सम्पादनका आधारमा अस्पतालले उक्त अङ्क प्राप्त गरेको हो । न्यूनतम मापदण्ड सेवामा देशभर रहेका ५० शैय्या क्षमता भएका अस्पतालमध्ये कपिलवस्तु अस्पताल लुम्बिनी प्रदेशमै दोस्रो भएको निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. विपिन जैसवालले बताए ।

न्यूनतम सेवा मापदण्ड कार्यान्वयन कार्यक्रम अन्तर्गत अस्पतालको अनुगमन मूल्याङ्कन समीक्षा कार्यक्रममा डा. जैसवालले सीमित साधन स्रोतबिचमा पनि कपिलवस्तु अस्पताल उत्कृष्ट बनेकोमा खुसी व्यक्त गरे । उनले टिम मिलेर काम गर्न सकेमा सजिलै अघि बढ्न सकिने र सफलता पाइने बताए ।

उनले अस्पताल लुम्बिनी प्रदेशमा दोस्रो हुनुमा अस्पतालमा कार्यरत डाक्टर, स्वास्थ्यकर्मी, कर्मचारी, व्यवस्थापन समिति र सरोकारवाला निकायको महत्वपूर्ण भूमिका रहेको बताए । उनले अस्पतालले दिने सेवामा कुनै कमी हुन नदिन अस्पतालमा कार्यरत सम्पूर्ण टिम नै निरन्तर लागिरहेको बताए ।

डा. जैसवालले भने, ‘कपिलवस्तु अस्पतालले न्यूनतम सेवा मापदण्डमा ९४ अङ्क ल्याएको छ, अब आगामी वर्ष थप अङ्क ल्याउने गरी अस्पताल टिम लाग्छौँ ।’ गरीब र बिपन्नलाई पैसा कै अभावमा उपचारबाट बंचित हुन नदिने उनले बताए ।

अस्पतालले प्रवाह गर्ने सेवाको स्तर, आर्थिक पारदर्शीता तथा सुशासन, नियमित रिपोर्टिङ लगायत ७ सय २१ सूचकहरुलाई मुल्याङन गरिएको हो ।  गत बर्ष भने अस्पतालले ९६ अंक ल्याई प्रदेश मै पहिलो भएको थियो ।

कपिलवस्तु नगरपालिकाका प्रमुख सुदीप पौडेलले स्वास्थ्य क्षेत्रमा सहजता ल्याउने गरि काम गरिरहेको बताए । नगरका १३ हजार घरधुरीलाई ५० प्रतिशत छुटमा स्वास्थ्य बीमा मार्फत काम अगाडि बढाइएको उनले बताए ।

प्रमुख जिल्ला अधिकारी बिश्व प्रकाश अर्यालले अस्पतालमा कर्मचारी दरबन्दी मिलान, सेवामा प्रभावकारिता र सेवाग्राहीको सन्तुष्टिलाई प्राथमिकता दिएर कार्ययोजना बनाउनुपर्नेमा जोड दिए ।

कपिलवस्तु अस्पतालका अध्यक्ष शिवलाल यादवले जनशक्ति अभाव हुदाँहुदै पनि अस्पतालले राम्रो सेवा दिँदै आएको बताए । उनले अस्पतालमा भौतिक संरचना, उपकरण र जनशक्तिको अभाव भएको बताए । यसैबीच, अस्पतालमा कार्यरत दीपक कोहाँरलाई उत्कृष्ट कर्मचारीका रुपमा सम्मान समेत गरिएको छ ।

अस्पतालका अध्यक्ष यादवको अध्यक्षता, प्रमुख जिल्ला अधिकारी अर्यालको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा कपिलवस्तु नगरपालिकाका प्रमुख पौडेल, स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख नारायण चौधरी, अनुगमन समिती संयोजक दुर्गालक्ष्मी श्रेष्ठ, सदस्यहरु सन्देश पौडेल र अस्मिता नेपाल लगायतको सहभागिता थियो ।

अर्थोपेडिक्स् सर्जन अजय चौधरीको स्वागत मन्तब्य रहेको कार्यक्रमको संचालन अस्पतालका प्रशासन प्रमुख एवं सूचना अधिकारी रत्नाकर शुक्लाले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्