बाणगङ्गा जिल्लाकै पहिलो पूर्ण संस्थागत प्रसूति पालिका घोषणा हुँदै


पालिका पत्र

१ चैत्र २०८०, बिहीबार २१:५८ मा प्रकाशित

बाणगङ्गा, चैत्र ०१ । कपिलवस्तुको बाणगङ्गा नगरपालिका जिल्लाकै पहिलो पूर्णसंस्थागत प्रसूति पालिका घोषणा हुँदै छ । पालिकामा घरमा प्रसुती गराउने संख्या शून्य सहित पूर्ण संस्थागत प्रसूति सेवायुक्त स्थानीय तह घोषणा प्रकृया २०८० अनुसार सबै मापदण्ड पुरा गरेकोले बाणगङ्गालाई पूर्ण संस्थागत पालिका घोषणा गर्न लागिएको हो ।

 जिल्ला स्वास्थ्य कार्यालयले तौलिहवामा राखेको जिल्ला स्तरीय प्रजनन स्वास्थ्य समन्वय समितिको बैठकले सो निर्णय गरेको हो । समितिका सचिव तथा स्वास्थ्य कार्यालयका प्रमुख नारायण प्रसाद चौधरीले बाणगङ्गा नगरपालिकाले निर्देशिका अनुसार सबै प्रकृया पुरा गरेको बताए । पूर्ण प्रसूतिका लागि प्रोटोकल अनुसार ४ पटक गर्भवती जाँच गराउनेको संख्या ९० प्रतिशत बढी, दक्ष प्रसूतिका लागि स्वास्थ्य संस्थामा सुत्केरी गराउनेको संख्या ९५ प्रतिशत बढी, घरमा प्रसुती गराउनेको संख्या शून्य तथा प्रोटोकल अनुसार ३ पटक सुत्केरी जाँच गराउनेको संख्या ९० प्रतिशत बढी हुने पर्ने प्रावधान छ । 

सोही बमोजिम गत फागुन १६ र १७ गते जिल्ला समन्वय समितिका प्रमुख बाबुराम आचार्य, स्वास्थ्य कार्यालय प्रमुख चौधरी र पब्लिक हेल्थ नर्स शान्ति भण्डारी सहितको टोलीले बाणगङ्गा नगरपालिकाको वडा नम्बर ३, ७, १० र ११ वडाका ४२ घरधुरीमा पुगेर स्थलगत अनुगमन गरेको थियो । सो अनुगमनले समेत वाणगङ्गामा गर्भ जाँच, घरमा सुत्केरी गराउनको संख्या शून्य र सुत्केरी जाँच समेत गराएको पाइएको पब्लिक हेल्थ नर्स भण्डारीले बताइन । 

पालिकाले समेत वडा नम्बर ११ को तोकिए अनुसारको प्रतिवेदनमा समेत सो वडामा गर्भवती जाँच र प्रसुती सेवाको जाँच समेत मापदण्डले ताके अनुसार रहेको छ । समितिले पालिकाले नगरपालिका भित्र रहेका ११ वटै वडालाई पूर्ण संस्थागत प्रसुतिको सुनिश्चिता गरी नगरपालिकालाई पूर्ण संस्थागत प्रसुती पालिका गर्ने निर्णय गरेको छ । 

पालिकालाई त्यसको प्रमाण प्रमाण पत्र समितिले उपलब्ध गराउने निर्णय गरेको छ । सो अवसरमा समन्वय प्रमुख आचार्यले बाणगङ्गा नगरपालिकामा घरमा प्रसूति गराउनेको शून्य रहनु पनि राम्रो कुरा भएको बताए । उनले पछि परेको कपिलवस्तुलाई स्वास्थ्य र सामाजिक क्षेत्रमा अघि बढाउन सबैले हातेमालो गर्नुृ पर्ने बताए । सो अवसरमा कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडेलले आफ्नो पालिका अझै पनि स्वास्थ्य क्षेत्रमा पछि रहनुमा दुःखद कुरा भएको बताए । उनले आफ्नो पालिकालाई स्वास्थ्य क्षेत्रमा अघि बढाउन योजना बनाएर अघि बढ्ने बताए । 

कपिलवस्तु अस्पतालका मेसु बिपिन जैसवालले घरमा प्रसूति गराउनेको संख्या अझै कपिलवस्तुमा बढी रहेकोले मातृ र शिशु मृत्यु दर समेत बढी रहेको बताए । उनले पालिकाले समेत यो विषयमा गम्भीर ढंगले अघि बढ्नु पर्ने उनले बताए । 

फागुनमा १० वटै पालिकामा सम्पन्न गरिएको स्थायी बन्ध्याकरण शिविरमा ३ सय १५ जनाले सेवा लिएको र सो शिविरमा खटिने स्वास्थ्यकर्मीलाई प्रशंसा पत्र प्रदान गर्ने समेत निर्णय गरिएको छ । यस्तै मातृ मृत्यु भएकाहरूको मृत्युको कारण पहिचानका लागि कपिलवस्तु अस्पतालका मेसु बिपिन जैसवाललाई खटाउने र मातृ मृत्यु दर विरुद्ध प्रतिकार्यका लागि पालिकाले योजना बनाउने समेत निर्णय गरिएको छ । कपिलवस्तुमा बालिकाहरूको रक्तअल्पताको समस्या बढी देखिएकाले पालिकाले प्रत्येक विद्यालयमा पोषण फोकल पर्सन तोकी त्यसको जानकारी समितिलाई गराउने समेत निर्णय गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्