लोकसेवा तयारी कक्षा पढाउँदै ‘यशोधरा गाउँपालिका’


पालिका पत्र

३ चैत्र २०८०, शनिबार ०९:४२ मा प्रकाशित

चैत्र ३ गते । कपिलवस्तुको यशोधरा गाउँपालिकाले विद्यार्थीलाई लोकसेवा आयोगको तयारी कक्षा पढाउने भएको छ । चालु आवको स्वीकृत वार्षिक योजना तथा कार्यक्रम मार्फत् विद्यार्थीलाई सहायक स्तर चौथो र पाँचौ तह प्रशासन तहको तयारी गराउन लागेको हो । गाउँपलिकाका १ देखि ८ नम्बर वडाका सबै विद्यार्थीलाई छनोट गरेर आयोगको तयारी कक्षा पढाउन लागेको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले चालु आर्थिक वर्षमा ३५ देखि ४० जना विद्यार्थीलाई अध्ययन गराउन लागेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका अध्यक्ष शिवदयाल तिवारीले आउने लोकसेवाको परीक्षालाई लक्षित गरी ६० दिने लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने व्यवस्था मिलाएको बताए ।

‘हामीले सबै वडालाई प्राथमिकतामा राखेर विद्यार्थी छनोट गरेर अध्ययन गराउने तयारी गरेका छौँ,’ अध्यक्ष तिवारीले भने, ‘वडाले सिफारिस गरेका विद्यार्थीलाई पढाउने छौँ । कर्मचारीको अभाव रहेको अवस्थामा यो कार्यक्रमले धेरै राहत प्रदान गर्ने विश्वास लिएको छु ।’

जिल्लाको सिमावर्ती क्षेत्रमा अवस्थित यशोधरा गाउँपालिकाले गाउँपालिकाभित्र स्थायी बसोबास भएका महिला, दलित, मुस्लिम, विपन्न, अपांगता भएका ब्यक्तिहरुका लागि लोकसेवाप्रति आकर्षण बढाउन र परीक्षामा सक्षम बनाउन तयारी कक्षा सञ्चालन गर्न लागिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र ढकालले बताए ।

गत आव ०७९/८० मा यशोधरा गाउँपालिकाबाट निःशुल्क लोकसेवा आयोग तयारी कक्षा लिएका प्रशिक्षार्थीहरु तथा कुनै सरकारी पदमा कार्यरत रहेका प्रशिक्षार्थीहरु भन्दा नयाँ प्रशिक्षार्थीहरुलाई प्राथमिकता दिइएको ढकाल बताउँछन् ।

आउँदो चैत्र ७ गतेदेखि सुरु हुने तयारी कक्षाका लागि प्राथमिकताका आधारमा गाउँपालिकाले चौथो तह प्रशासन सेवाका लागि ४० जना प्रशिक्षार्थी छनौट गरेको छ । थप ७ जना बैकल्पिक प्रशिक्षार्थीका रुपमा छनौट समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्