नेपाली साङ्केतिक भाषा दोभासे तालिम : बहिरा नागरिकलाई सञ्चारमा सहज पुग्ने बिश्वास


पालिका पत्र

६ चैत्र २०८०, मंगलवार ०९:२८ मा प्रकाशित

चैत्र ६ गते । अपाङ्गता भएका बहिरा नागरिकलाई सेवा प्रवाहमा सहजता ल्याउने उद्धेश्यका साथ कपिलवस्तुको तौलिहवामा दुई महिने नेपाली साङ्केतिक भाषा दोभासे तालिम सञ्चालन गरिएको छ । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको सहयोगमा राष्ट्रिय बहिरा महासंघको आयोजनामा हुन थालेको तालिममा देशका अन्य जिल्लाका १५ जना र कपिलवस्तुका ५ जना गरि २० जना दोभासेलाई तालिम दिईदै छ ।

दुई महिना सम्म तालिममा प्रमुख प्रशिक्षक रहेका कृष्ण गजुरेल र सहायक प्रशिक्षक अन्जली अग्रहरीले नेपाली साङ्केतिक भाषाको दोभासे तालिम दिनुहुने बताइएको छ । जिल्ला समन्वय समिती कपिलवस्तुका प्रमुख बाबुराम आचार्य, कपिलवस्तु नगरपालिकाका प्रमुख सुदिप पौडेल र कपिलवस्तु नगरपालिका वडा नम्बर ३ का अध्यक्ष प्रकाश गैरे लगायतले ब्यानर पढेर तालिमको उदघाटन गरे ।

सो अवसरमा बोल्दै समन्वय समितिका प्रमुख आचार्यले जिल्लाका सबै पालिकाले १÷१ जना दोभासेको व्यवस्थापन गरेर सेवा प्रवाह गर्न आवश्यक रहेको सुझाव दिए । बहिरा नागरिकले दाभासेको अभावमा कुनै पनि अवस्था बुझ्न तथा व्यक्त गर्न समस्या हुने भएकाले यो बिषयमा सबै पक्ष गम्भिर बन्न आवश्यक रहेको उनले बताए ।

महासंघका ५४ जिल्ला र ७ प्रदेश समिति आबद्ध रहेको राष्ट्रिय बहिरा महासंघका केन्द्रिय अध्यक्ष सन्तोष केसीले दाभासे मार्फत जानकारी दिए । महासंघले साङ्केतिक भाषाको अनुसन्धान र दोभासेहरुको तालिम सञ्चालन गर्दै आएको उनले जानकारी दिए । जिल्लाका सबै पालिकामा दोभासे राख्न सकिए बहिरा सेवाग्राहीले सहज सेवा पाउने बातावरण बन्ने कपिलवस्तु बहिरा संघका अध्यक्ष रिन्कु अग्रहरीले बताए ।

कपिलवस्तु नगरपालिकाको तौलेश्वरनाथ संस्कृत बिद्यालयमा बहिरा बिद्यार्थीको कक्षा सञ्चालनमा कपिलवस्तु नगरपालिकाले सहयोग गरेको नगर प्रमुख सुदिप पौडेलले जानकारी दिए । बहिरा नागरिकले आफ्नो भावना व्यक्त गर्न साङ्केतिक भाषा दोभासेको आवश्यकता आफुहरुले महसुस गरेको कपिलवस्तु नगरपालिका वडा नम्बर ३ का अध्यक्ष प्रकाश गैरेले बताए ।

तालिममा बाजुरा, डडेलधुरा, काठमाडौं, ओखलढुंगा, तनहुँ, अर्घाखाँची, मुगु, सर्लाही, चितवन, जुम्ला, दोलखा लगायत जिल्लाका प्रशिक्षार्थीहरुको तालिममा सहभागिता रहेको छ । राष्ट्रिय बहिरा महासंघ नेपालका अध्यक्ष सन्तोष केसीको अध्यक्षता, जिल्ला समन्वय समिती कपिलवस्तुका प्रमुख बाबुराम आचार्यको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा तौलिहवा उद्योग बाणिज्य संघका अध्यक्ष गयादिन कुर्मी, राष्ट्रिय बहिरा महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष होम बहादुर केसी, प्रहरी निरीक्षक महेश बिक्रम शाही, लगायतको आतिथ्यता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्