“पुलिसले पनि मेरो आमा बुबाको कुरै सुनेनन्” भन्दै मनिताले गरिन् आत्महत्या


पालिका पत्र

१५ चैत्र २०८०, बिहीबार १०:२४ मा प्रकाशित

चैत्र १५ गते । प्रहरीले आफ्ना अभिभावकको कुरै नसुनेर दोषी करार गरेको आरोप लगाउँदै एक युवतीले सुसाइड नोट लेखेर आत्महत्या गरेकी छिन् । कपिलवस्तुको मायादेवी गाउँपालिका वडा नम्बर ३ पडसडा निवासी मनिता चौधरीले घरायसी बिवादमा प्रहरीले आफुलाई दोषी ठानेको भन्दै आत्महत्या गर्न बाध्य भएको सुसाईड नोटमा लेखेकी हुन् ।

जग्गा बिवादमा आफ्ना बुबाका दाजुभाईमा ठुलोबुबा र उनकी बुहारीले आफु र आफ्ना बुबाआमालाई गालीगलौच र हातपात गरेको भन्दै आत्मसम्मान गुमाउन पुगेको ठहर गर्दै उनले आत्महत्या गरेको उनकै सुसाइड नोटमा लेखेकी छिन् ।

एउटा कागजको पानामा ‘म आत्महत्या गर्न गईरहेछु, म (मनिता चौधरी) मर्नुको पछाडि मेरे घरको मान्छेको केहो दोष छैन्, मेरो ठूलो बुबा (प्रभुदयाल चौधरी) र उनको बुहारी उषा कुर्मीको दोष छ । मेरो केही गल्ती नभएपनि मलाई दोष ठहराएकी छिन् । पुलिसले पनि मेरो आमा बुबाको कुरा सुन्नेन् । बुवाले, चौकीमा उजुरी नदिनु भएको कारणले पुलिस हाम्रो घरलाई दोष ठान्यो । उषाले पहिला मेरो आमाको हात समातेर तिमिलाई बाटोमा लगेर कुट््छु भनीन्, त्यसपछि मैले पनि उषाको हात समाते, त्यसपछि उषाले मेरो र आमाको कपाल समाइन् ।’

उनले लेखेको सुसाइड नोटमा थप लेखेकी छिन्, ‘उषाले भनिन्, सबै कुरा गल्तीको सुरुवात मैले गरेको हो । त्यो मलाई स्वीकार छैन् । हाथापाईको सुरुवात पनि उषाले गरेकी हुन्, हामीले निवेदन नदिएकै कारणले पुलिसले हामीलाई दोषी भनेको छ । कोही निवेदन नदिदैमा दोषी हुन्न हजुर, कमसेकम घटनाको सत्य सम्म पुगी फैसला सुनाउनुहोस् ताकि पीडितले न्याय पाउन ।’

मनिताले आफु जस्तो अन्यायमा कोही मर्न नपरून् भनेर लेखेकी छिन् । उनले आफ्नो सुसाइड नोटमा आफ्नो मृत्युको कारण आफ्नो ठुलोबुबा प्रभुदयाल चौधरी र उनकी बुहारी उषा कुर्मी रहेको उल्लेख गरेकी छिन् । आफ्नो आत्मसम्मान गुमाउन भन्दा मर्नु ठिक ठान्दै उनले आत्महत्या गरेको देखिएको छ ।

यता, कपिलवस्तुका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक (डीएसपी) हरि बहादुर वलीले आफु घटनास्थलमै रहेको र अनुसन्धान जारी रहेको जानकारी दिए । घटनाबारे थप अनुसन्धान गर्दै गरेको प्रहरीले शव परीक्षणको रिपोर्ट आएपछि घटनाको थप विवरण प्राप्त हुने जानकारी दिएको छ ।

मायादेवी गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष शैलेन्द्र यादवले घटनाको कारण नै नितान्त पारिवारीक रहेको बताएका छन् । केहि दिन अघि मात्रै मृतकको परिवारमा जग्गा बिवाद देखिएकोले छलफल समेत भएको बताए ।

मनिता कपिलवस्तु बहुमुखी क्याम्पस बिएड चौथो बर्षमा अध्ययनरत बिद्यार्थी हुन् । क्याम्पसका अधिकांश बिद्यार्थीहरुले मनिताको मृत्युको कारण छ्टिै पत्ता लगाई दोषीलाई कारवाहीको माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्