कपिलवस्तु नगरपालिका उपमेयर गुप्ताविरुद्ध प्रहरीमा उजुरी दर्ता


पालिका पत्र

५ बैशाख २०८१, बुधबार १७:२८ मा प्रकाशित

कपिलवस्तु, वैशाख ०५ । कपिलवस्तु नगरपालिकाकी उपप्रमुख सुनिता गुप्ता साहुविरुद्ध उजुरी दर्ता भएको छ । १५ औँ नगरसभामा नगर प्रमुख तथा नगर सभाका सदस्यहरूविरुद्ध अभद्र व्यवहार गरेको भन्दै उनीविरुद्ध गाली बेइज्जती तथा दुर्व्यवहार सम्बन्धी उजुरी परेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

मंगलबार नगरसभामा उपमेयरले गाली बेइज्जती गरेको विषयमा उजुरी आएपछि दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी प्रमुख नवरत्न पौडेलले बताए । उनले उक्त घटनाको विषयमा अहिले अनुसन्धान भइरहेको बताए ।

नगरपालिकाका ८ जना वडा अध्यक्ष तथा ६ जना कार्यपालिका सदस्यले उपप्रमुख साहुविरुद्ध जाहेरी दर्ता गराएको पौडेलले जानकारी दिए ।

मंगलबार नगरपालिकाको कुल बजेट बाँडफाँटको ५० प्रतिशत आफूले तोके अनुसार विनियोजन नभएको, सेवा सुविधा मेयर बराबर नभएको, नगरका योजनाहरू आफू निकटलाई कोटेसनमा नदिएको भन्दै तीव्र असन्तुष्ट रहेकी उपमेयर साहुले १५ औ नगरसभा बिथोल्ने प्रयास समेत गरेकी थिइन् ।

उनले नगरसभामा प्रस्तुत गर्नुपर्ने विधेयक, ऐन लगायतका विषयवस्तु प्रस्तुत नगरी मेयर, वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, प्रमुख प्रशासकीय अधिकृत, शाखा प्रमुख तथा कर्मचारीहरू लक्षित भ्रष्ट्राचार आरोप लगाउँदै दुर्व्यवहार प्रयास गरेको एक वडा अध्यक्षले बताए । कपिलवस्तु नगरपालिका मेयर सुदिप पौडेल र उपमेयर गुप्ता दुवै जसपाबाट निर्वाचित जनप्रतिनिधि हुन् ।

प्रतिक्रिया दिनुहोस्