सिजिको रियो जुसमा किरैकीरा, उपभोक्ताको स्वास्थ्यमा गम्भिर लापरबाही 


पालिका पत्र

१२ बैशाख २०८१, बुधबार १७:०८ मा प्रकाशित

बाणगङ्गा, वैशाख १२ । मुलुककै चर्चित कम्पनी चौधरी ग्रुपको ठगीधन्दा र बदमासीको अर्को घटना सार्वजनिक भएको छ । कहिले सरकारी जग्गा नै निल्न खोज्ने, कहिले बिभिन्न उत्पादनमाथि बदमासी र ठगिको आरोप खेप्दै आइरहेको मूलककै ठुलो कम्पनी चौधरी ग्रुपले बालबालिकालाई केन्द्रमा राखेर बनाएको पेय पदार्थ ( रियो जुस ) मा पनि बदमासी  र खेलवाड गरेको पाइएको हो । बदमासीको हद कतिसम्म छ भने रियो जुसको बट्टाभित्र पिउने जुस होइन किरैकीरा भेटिएका छन् । 


कपिलवस्तुको बाणगङ्गा नगरपालिका वडा नम्बर ८ बोडगाउँस्थित भुपु सैनिक माध्यमिक विद्यालयको क्यान्टिनबाट एक विद्यार्थीले बुधबार दिउसो रियो जुसको बट्टा किने । उक्त बट्टा किनेर विद्यार्थीले पिउन खोज्दा मुखमा फोहर परेजस्तो भयो । असजिलो भएपछि मुखमा परेको जुस थुकेर हेरियो । त्यहाँ केही कीरा भेटिए । थप कीरा हुन सक्ने शंका लागेर सो बट्टा काटेर हेर्दा भित्र किरैकीरा भेटिएका छन् । त्यसपछि विद्यार्थी, शिक्षक र क्यान्टिन सहचालकसमेत अचम्ममा परेका थिए । यो विषय निकै संवेदनशिल विषय भएको हुनाले विद्यालयका प्रिन्सिपल डम्बर बहादुर शोमैले कम्पनीले बालबालिकाको स्वास्थ्यमाथि खेलवाड गरेको भन्दै  फेसबुकमार्फत सार्वजनिक गरेका छन् । 


उनले कम्पनीको यो गम्भीर खेलवाड र बदमासी रहेको भन्दै यो जुस सेवन गर्ने बालबालिकाको स्वास्थ्य जोखिममा पर्न सक्ने बताए । झुक्किएर यस्तो भयो कि भनेर बट्टाको चारैतिर हेर्ने काम पनि भएको थियो । कहिँकतै प्वाल पनि देखिदैनथ्यो भने म्याद पनि ठिकठाक नै थियो । यस्तो अवस्थामा बट्टाभित्र कीरा भेटिनुले कम्पनीको उत्पादन प्रकृयामै लापरबाही  र खेलवाड रहेको अनुमान गर्न सकिन्छ । 


यस विषयमा कम्पनीका लुम्बिनी प्रदेश इन्चार्ज गोविन्दर शर्मासंग बुझ्दा उनले गैर जिम्मेवार जवाफ दिए । उनले कम्पनीको बचाउ गर्दै वितरक (क्यान्टिन संचालक) माथि नै दोष थोपर्न खोजे । उनले पालिका पत्रसंग भने त्यो बकेट कसरी काटियो, हामी त्यहाँ थिएनौँ कसरी पत्याउने ? बट्टामा प्वाल परेर कमिला पसेका हुन सक्छन् । कम्पनीको बदमासीले यस्तो भएको भन्ने होइन । उनले थपे ठिक छ म अहिले पाल्पामा छु, बुटवल आएपछि फोन गर्छु र कुरा गरौँला । उनको जवाफमा यस विषयप्रति संवेदनशीलता देखिदैनथ्यो । 


शर्माले भने अनुसार बट्टामा प्वाल परेको भए जुस कसरी अडियो त सरोकारवाला भन्छन् यति ठुलो कम्पनीको उत्पादनमा भएको यो ठुलो बदमासी हो । यसको उचित अनुसन्धान हुनुपर्दछ । 


क्यान्टिन संचालकले बट्टा ठिकठाक नै रहेको अवस्थामा बेचेको बताउँछन् । जुसमा त्यस्तो देखेपछि आफू पनि झसङ्ग भएको उनको भनाई छ । अभिभावकले बच्चाको स्वास्थ्यमाथि खेलवाड गर्ने यस्तो कम्पनीमाथि अनुसन्धान गर्न आग्रह गरे । रियो जुस बालबालिकाले अत्यधिक मन पराउने जुस हो । 

प्रतिक्रिया दिनुहोस्