पुथा उत्तरगङ्गाका सबै वडा सचिव विहीन, सिफारिस लिन स्वास्थ्य चौकीसम्म जानुपर्ने बाध्यता 


पालिका पत्र

७ जेष्ठ २०८१, सोमबार २१:४५ मा प्रकाशित

रुकुमपूर्व, जेठ ०७   । 
पुथा उत्तरगङ्गा गाउँपालिकाका सबै वडा सचिव विहीन छन् । गाउँपालिका स्थापनाकालदेखि नै १४ वडा रहेको पुथा उत्तरगङ्गाका सबै वडा सचिव विहीन अवस्थामै छन् । स्थानीय तह कार्यान्वयनमा आएदेखि नै यो गाउँपालिकाका सबै वडामा कहिल्यै निजामती कर्मचारी पूर्ति भएनन्। 


वडा सचिवको जिम्मेवारी अर्थात् पञ्जिकाधिकारीको काम सम्बन्धित वडाका स्थायी स्वास्थ्यकर्मीले धान्दै आइरहेका छन् । गाउँपालिकामा पनि कर्मचारी अभाव छ । वडासहित गाउँपालिकामा ६२ जनाको दरबन्दी छ तर हाल गाउँपालिका कार्यालयमा शाखागत नौ जना मात्रै कर्मचारी छन् भने सबै वडामा सचिव छैनन् । गाउँपालिकाको कृषि शाखामा एक, पशु शाखामा एक, शिक्षा शाखामा एक, प्रशासन शाखामा एक, योजना तथा अनुगमन शाखामा एक, महिला तथा बालबालिका शाखामा एक यसै गरी कम्प्युटर सहायक एक र स्वास्थ्य शाखामा दुई गरी जम्मा गाउँपालिकामा स्थायी कर्मचारी नौ जना मात्र रहेको गाउँपालिकाका सूचना अधिकारी रामप्रसाद खड्काले बताए । 


वडासहित गाउँपालिकामा ६२ जनाको दरबन्दी रहेको छ, जसमध्ये २० जनाको पदपूर्ति भएकोमा ४२ दरबन्दी रिक्त रहेको खड्काले बताए । गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत पनि निमित्त छन् । झन्डै दुई वर्षयता यहाँको प्रमुख प्रशासकीय अधिकृतको जिम्मा स्वास्थ्य शाखाका प्रमुख समीर गिरीलाई दिइएको छ । कर्मचारी नहुँदा वडादेखि गाउँपालिकासम्मको कामकाज प्रभावित हुँदा सेवाग्राहीलाई सास्ती भइरहेको पुथा उत्तरगङ्गा गाउँपालिका–१४, नाखाका नामेन्द्र सुनारले बताए । एउटा वडाको सर्वसाधारण सचिव खोज्दै स्वास्थ्य चौकी भएको ठाउँसम्म पुग्नुपर्दा सास्ती भइरहेको सुनारले बताए । दोहोरो जिम्मेवारी हुँदा स्वास्थ्यकर्मीलाई कामको भार थपिएको छ भने स्थानीयलाई वडाका सिफारिस तथा घटना दर्ता काममा साह्रै सास्ती खेप्नु परिरहेको सुनारको भनाइ छ । 


घरनजिकको सरकार भनिए पनि वडा कार्यालयबाट सेवा नपाई स्वास्थ्य चौकीसम्म जानुपर्ने बाध्यता रहेको पुथा उत्तरगङ्गा–१० का विकास बुढामगरले दुःखेसो गरे । गाउँपालिका स्थापनाकालदेखि नै कर्मचारीको अभावले गाउँपालिकाको कामकाज प्रभावित भइरहेको गाउँपालिकाका अध्यक्ष पुनिराज घर्तीमगरले बताए ।  

प्रतिक्रिया दिनुहोस्