पूर्ण सरसफाई तथा स्वच्छता उन्मूख अभियानमा महिला सहकारी जुट्दै


पालिका पत्र

८ जेष्ठ २०८१, मंगलवार ०९:५६ मा प्रकाशित

जेठ ८ गते । कपिलवस्तु नगरपालिकालाई पूर्ण सरसफाई तथा स्वच्छता उन्मूख पालिका बनाउने अभियानलाई सार्थकता दिलाउन महिला सहकारीकर्मी जुटेका छन् । नगरपालिकाको वडा नम्बर ६ का गाउँ-गाउँलाई केन्द्रित गरेर पूर्ण सरसफाई, फोहोरमैला ब्यवस्थापन तथा चर्पी अनुगमन सहित घरदैलो अभियान र सडक नाटक प्रस्तुत गर्ने तीनदिने अभियानलाई महिला सहकारी कर्मीहरुले सम्पन्न गरेका हुन् ।

वडाका गोबरी, थुमुवा, शिवपुरा, सिद्धिपुर, तिलौरा तिलौरी र बर्मेली गाउँ केन्द्रित रहेर शनिबारदेखि अभियान संचालन गरिएको मायादेवी बहुउदेश्यीय महिला सहकारी संस्थाका अध्यक्ष सीता पाण्डेले बताइन् । वडा नम्बर ६ लाई पूर्ण सरसफाई उन्मुख क्षेत्र घोषणा गर्ने अभियान सहित आफुहरु दिनरात लागि परेको उनको भनाइ छ ।

मुख्यगरि सडकपेटिको सामान हटाउने, सडक आवातजावतलाई सहजता पैदा गर्ने, चर्पी प्रयोगको अवस्था र अनुगमनलाई समेत मध्यनजर गरेर निरन्तर कार्य गरिरहेको अभियानका संयोजक पुष्पा रेग्मीले जनाइन् । कपिलवस्तु नगरपालिका वडा नम्बर ६ मा एक हजार बढि घर धुरीमा पुगेर घरदैलो मार्फत जनचेतना फैलाउने कार्य गरिरहेको उनले बताइन् । उनले भनिन्, “पूर्ण सरसफाई सुचकहरु पुरा गर्नलाई सहज होस् र महामारी फैलिन नदिन प्रयास जारी राखेका छौं” ।

कार्यक्रममा नगरपालिकाका वास संयोजक कल्पना खनालले स्वस्थ रहनका लागि खानपान र सरसफाईमा ध्यान दिनुपर्ने बताइन् । मानिसको गलत खानपान र सरसफाईमा हुने लापरवाहीका कारण रोगको शिकार बन्नु परेको भन्दै सरसफाईमा ध्यान दिनुपर्ने खनालको भनाइ छ । बिद्यालयका बालबालिकालाई हात धुने तरिकाका बारेमा समेत जानकारी दिदाँ अभिभावकमा प्रत्यक्ष रुपमा प्रभाव पर्ने र त्यस्को परिणाम सकारात्मक आउने खनालको बिश्वास ब्यक्त गरिन् ।

त्यस्तै स्वस्थ रहनका लागि सरसफाईका तीन चरणहरु व्यक्तिगत, पारिवारिक र वातावरणीय सरसफाईलाई ध्यान दिँदै स्वस्थ वातावरण बनाउनका लागि नगरपालिका र वडा कार्यालयले निती नियम बनाएर प्रभावकारी रुपमा लागु गरिरहेको दाबी वडाध्यक्ष रामजीत प्रसाद कुर्मीको छ । अभियानमा स्थानीय महिला, बालबालिका, सरोकारवाला सबैपक्षको सहभागिता रहेको आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्