यस्तो छ लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रममा कपिलवस्तुको स्थान !


२१ जेष्ठ २०८१, सोमबार १५:२४ मा प्रकाशित

जेठ २१ गते । कृषि, पर्यटन, उद्योग, वन, शिक्षा, स्वास्थ्य, खानेपानी लगायतका योजनालाई प्राथमिकतामा राखेर लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा कपिलवस्तुलाई समावेश गर्दै केहि योजनाले प्राथमिकता पाएको छ ।

कृषि तर्फ ‘किसानको हात : प्रदेशको साथ’को नारालाई आत्मसात गर्दै कपिलवस्तुमा मसिनो धान, गहुँ र बसन्ते मकै, पशुपन्छी तर्फ भैसी र माछापालनलाई बिशेष प्राथमिकताका साथ प्रवद्र्धन गरिने नीति तथा कार्यक्रम सोमबार प्रदेश प्रमुख अमिक शेरचनले प्रस्तुत गरे ।

यस्तै, कपिलवस्तुको ऐतिहासिक शिवगढीलाई पर्यटकीय क्षेत्रको रुपमा बिकास गरिने नीति तथा कार्यक्रम समेत प्रस्तुत गरिएको छ । लुम्बिनीलाई केन्द्रबिन्दु बनाइ सगरहवा, निग्लिहवा, कुदान र तिलौराकोट लगायतका स्थल समावेश गरी लुम्बिनी क्षेत्र पर्यटन प्रवद्र्धन कार्यक्रम तयार गरी संघीय सरकारको समन्वयमा अगाडि बढाइने छ ।

कपिलवस्तुको तिलौराकोटदेखि लुम्बिनी सम्म मायादेवी पदमार्ग निर्माणका लागि संभाब्यता अध्ययन गरिने नीति समेत पारित गरिएको छ । कपिलवस्तुको चन्द्रौटामा निर्माणाधीन पुर्नताजगी केन्द्र (रिफ्रेस सेन्टर) को पहिलो चरणको निर्माण कार्य सम्पन्न गरी सञ्चालनको लागि स्थानीय तहलाई हस्तान्तरण गरिने कार्यक्रम पनि पारित भएको छ ।

प्रमुख राजमार्गमा हुने दुर्घटनालाई मध्यनजर गरी कपिलवस्तुको जितपुरमा ट्रमा केयर सम्बन्धी प्राथमिक उपचार सेवा बिस्तार गरिने छ । यस्तै, कपिलवस्तुको तिलौराकोट र शिवपुरमा एकिकरण बिधिबाट आधुनिक, सुरक्षित र ब्यवस्थित शहरको विकास गरिने नीति तथा कार्यक्रममा प्राथमिकता दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्